दशरथ राई
ती सबै कथाहरू अहिले मृत भइसकेका छन्—
जसै-जसै ती मेरा दिवंगत पुर्खाहरूको
मुखबाट हावामा बिलाए,
कतै निराकारमा आकारहीन भए—
मेरा बा, आमा र मामैको मुखबाट छुटेका कथाहरू।
मेरो मामाको मुखबाट छुट्ने
हिरा र लालको कथा,
थिवे चराको कथा,
रीठु गाईको कथा,
उदयसिंह राजाको कथा—
भदौरे मकैका खोस्टासँगै फालिए
पत्रपत्रमा,
भदौरे मकैका घोगासँगै बाधिए
झोट्टा-झोट्टामा।
मेरो आमाको मुखबाट छुट्ने
रैंछा-कुलेको कथा,
सात भाइ माईतीको कथा—
बाबियो डोरीको गाँठोसँगै
गाँठो परिगए,
झिसमिसे बिहानीसँगै
अगेनाको दिलमा उम्लिँदै गरेको
जाँडको बाफसँग कतै निराकारमा।
मेरा बाको मुखबाट छुट्ने सृष्टिको कथा—
ती पनि सबै बिलय भए,
ती मेरो आत्मीयहरूको
बिलयपछि।
केवल मसँग
थोरै अस्तु बाँकी छ—
ती दिवंगत कथाहरूको।
तर…
न त म मेरो छोरीसँग बाँड्न सक्छु,
न मेरा विद्यार्थीहरूसँग,
न मेरा सहगोत्रीका सन्तानसँग।
जाबो अस्तु न हो—
छ पनि, छैन पनि।
अस्तु क्या—
कथाको।
निकाल्छु गोजीबाट
फुट्ट एउटा उपकरण—
बजाउँछु
“जोनि, जोनि, यस पापा”
भन्छु छोरीलाई—
“लु, सुन।”
भएन त मजा?
कार्यालय पुग्छु—
भुर्रा-भुरीलाई
“ल, लेख कथा” भनी पठाउँछु।
कोही हलि न चलि—
गोजीबाट निकालेर भुईँमा
थपक्क राखेको
मोबाइलजस्तो।
दिग्भ्रमित हुन्छु—
सबैको टाउकोमा
कम्प्युटरको डेस्कटप नै डेस्कटप,
ल्यापटप नै ल्यापटप,
मोबाइलको स्क्रिन नै स्क्रिन।
कसैको हात सलबलाउँदैन
सेतो पाना माथि—
बल्लतल्ल एउटाले केही लेख्छ—
“ओन्स अपन अ टाइम…”
रोकिन्छ, उसको कलम।
मेरो क्रन्दन—
“सृजनशील बन्न सकेनौं,
सृजनशीलता मरिसक्यो।”
यसो खोपडीतिर नियाल्छु—
बाँकी छ अस्तु—
दिवंगत कथाहरूको।
ती अस्तु भित्रको आत्मा बोल्छ—
“तैले भन्न खोजेको सृजना
मेरो देहसँगै सती गैसक्यो।
के खोज्छस्?
जाँ, बा।”
खनौँ जस्तो लाग्छ—चिहान घारि,
निकालौँ जस्तो लाग्छ—आत्मा
ती देहावसान कथाहरूको।
भनौँ जस्तो लाग्छ—
कथा—
ती मरेका कथाहरूको।


