अम्बिका अर्याल
(गोरखा)
हजुर,
नपर्खनुस् मलाई
आज
चौतारीमा जाने मन छैन ।
स्वच्छ बतास नचल्ने त्यो चौतारीमा
उमङ्गका तरङ्गले नछुने त्यो चौतारीमा
यौवन मरेर पसिनाले भिजेका
कुलको अस्तित्वमा रूमल्लिएर
बोतल र सितनमा पल्कनेका प्रभावले
कानै कलुषित पार्नु छैन ।
आफ्नालाई घुम्टोभित्र लुकाएर
अर्काका तिघ्रा मुसार्न पल्केका
पाषाणहरुको हुल भेट्ने मन छैन ।
आफ्नै कोखमा छुरी धसेर
रगत पिउँदा सन्तोष नमान्नेका मुखबाट
शाान्तिका गाथा सुन्नुछैन
मलाई त यही शून्यता मनपर्छ
शून्यमा डस्ने तागत हुँदैन
शून्यमा कसैलाई पेलेर
भोजमा मोज गर्ने हर्कत हुँदैन ।
मलाई
पुराना चौतारीले झस्काउँछन्
तिनका इतिहासले पोल्छन्
मेरी हजुरआमाले लगाएका चौतारीमा
ब्वाँसाको भेला हुन थालेदेखि
दर्शन थला पर्यो ।
नैतिकता हुङ्कारसँग डराएर
टाङमुनि पुच्छर लुकाएर
कुलेलम ठोकिसक्यो ।
अब
न्याय र अन्यायको फैसला बिर्सिएको
अपमानका ध्वनि गुन्जाएर काखमा
आफू हुनुको अस्तित्वमा
खुम्री बुढीझैँ बाध्यताले खुम्चिएको
त्यो निरीह चौतारीमा जाने मन छैन ।
साँच्चै विश्वास हराएर
आफैमा धिक्कारिरहेको
बास्नाहीन, कर्तव्यहीन
कुरुप बनाइएको चौतारीमा
घिनलाग्दा भलाकुसारी सुन्न
साँच्चै,
अब चौतारीमा जान मन छैन….