कर्ण दयाल ‘सोराडी’
(मेलौली ७, बैतडी)
१. बानेश्वरको जुलुसमा गोली चलेको राति निद्रा लागेन
स्कुले नानीबाबुहरुको लास ढलेको राति निद्रा लागेन
चौबिस गते फासिस्टहरुको सत्ताच्युत भएपश्चात् पनि
देशका मुख्य सम्पदा आगोले बलेको राति निद्रा लागेन ।
२. तिमीले हानेको तीर तिम्रै टाउकोमा ठोकियो के गर्नुहुन्छ
तिमीले उमारेको बेर्ना तिम्रै बारीमा रोपियो के गर्नुहुन्छ
हिजो जनताले पिएका हुन् तिमीले दिएको आगोका लप्का
आज तिम्रै अगाडि आएर छताछुल्ल पोखियो के गर्नुहुन्छ ।
३. मात्र कहिले रूखो वचन दियौ कहिले तितोपिरो बोली दियौ
बेरोजगारीको घाउले दुःखेको मुटुमा तातो तातो गोली दियौ
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको नाराहरु लगाएर
जब युवा बानेश्वर पुगे तब तिमीले रगतको खोली दियौ ।
४. बाहिर फुर्ती लायो भित्रको सबै सिद्ध्याएर खकुलो बनायो
देश हाँक्ने अड्डाहरुलाई आफ्नो रोटी सेक्ने चुलो बनायो
अरुले दिएको सुझावलाई वास्तै नगर्ने तिम्रो बानीले गर्दा
घरभित्रको सानो झगडा पनि आज एकाएक ठुलो बनायो ।


