नीलम

भो नफुट
फुटेपछि जोडिँदैन सिसा
जोडिँदैनन्
फुटेपछि ग्रह–उपग्रहहरु
कहिल्यै सूर्यसँग !

मन फुटेपछि
मासु लुछ्दा आधा बाङ्गिएको
सिंहको दाह्राभन्दा
झन् खतरनाक हुन्छ !

गालेर रसाउन पनि
धातुलाई रसायन चाहिन्छ
माहुरीकै भएर पनि के गर्नु
काठको घार कहाँ रसाउँछ र
धातु जोड्ने रसायनले ।

सिद्धान्तको
धरो समाएर
लाज ढाक्न छोडेको
धेरै भयो तिमीहरुले
के फुट्छौ ?
निकम्मा पदको आँखीझ्याले पछ्यौरीले
लाज ढाकेको देखाउन ।

भो नफुट !
मक्किएका
खुट्टा भएको कुर्सीमा बसी
जनताका आँसुमाथि
पाइताला टेक्न ?

मातृवात्सल्य
फुटेको भए पो
गौरव र आत्मसुखको विषय हुन्थ्यो
प्यास मेटाउन बचेराको
मूल
फुटेको भए पो पानीको
ऐठनबाट मुक्त हुन्थ्यो
भविष्य ।

साँच्चै सान्दर्भिक हुन्थ्यो
बिउ
अङ्कुराउन फुटेको भए
चित्त बुझाउन सकिन्थ्यो
बतासे फुल
फुटेको भए कुखुरीको ।

बिनाभूकम्प
बिनाज्वालामुखी
स्वार्थले फुट्ने
धरालाई त
इतिहासले चिन्दैन भने
फगत
बग्न स्वार्थको रसायनमा
भो नफुट ।

भो नफुट !
फोहोर नै देखिए पनि
आँखाको पो महङ्खव हुन्छ
जति सेता देखिए पनि
अन्ततः
कचरा कचरा नै हुन्छ ।

Facebook Comments Box

Similar Posts