मुकुन्द लामिछाने
(झापा)
प्यारो साहिँला,
मेरो आँसुले तिम्रो छाती भिजेको
सुकेको छैन सायद
घरको याद झझल्कोबाट
लुकेको छैन सायद
मैले त भनेकै थिएँ
साग र सिस्नु खाएर नै
रमाउँला
लाज ढाक्न एकसरो
लाएर नै रमाउँला
तर तिमी त
खुन र पसिनामा
सुन साट्न
धनको तृष्णाले छट्पटिएर
मरूभूमिमा
कहिले मर्दै
त कहिले बाँच्दै
जिन्दगी ठेल्दै छौ सायद ।
मेरो साहिँला,
तिम्रो बिदाइमा छचल्किएका
बुढी आमाका आँखाहरु
ओभाएका छैनन् यहाँ
भन्नुहुन्छ,
सन्तान ठुलो सम्पत्तिभन्दा
खै, मेरो आँसुले रोकेन उसलाई
उन्नतिका सपनाहरु देख्थ्यो
बल र बैँस
बालुवामा बिताएर
कस्तो समृद्धि देख्यो ?
मेरो साहिँला,
पतिबिनाको जवानी
पराईको पापी नजरबाट जोगाएर
सुषुप्त इच्छा र चाहना
तिम्रो आगमनमा
पुनः
सव्रिmय बन्ने
झिनो आशामा
झुन्डिएका छन् ।
साहिँला,
मालीबिनाको फूलझैँ
ओइलाएर
रङ र बास्ना
बिस्तारै बिस्तारै
बिलाउँदै छन्
समय बितेपछि
सम्पत्तिको सागरलाई
स्वर्ग मानेर
पैसाको शृङ्गारले
परी बन्न
अवश्य सक्दिनँ म ।
प्यारो साहिँला,
झुप्रोको नै ओतमुनि
बाँचुन्जेल तिम्रो साथ
स्वर्ग बन्छ मेरो लागि
अनि सुख र खुसी
त्यहीँ फुल्छ
मेरा लागि ।