१. पफ कविता
आऊ कवि
कविताको एक पफ लिऊँ
र, आनन्दले नेपाल प्रज्ञा प्रतिष्ठानको
चौरमा पल्टिऊँ
र, एक हरफ कविता
सिंहदरबारलाई समर्पण गरुँ
कविताका पफहरुले
हिउँदको यो घामलाई अझै उल्लासमय बनाऊँ
२. ‘कृष्ण कहो भन्’ पट्टु
पिँजडाभित्र
सुगाले पनि स्वतन्त्रतापूर्वक
बोल्ने भाषा हो – ‘पट्टु, कृष्ण कहो’
गणतन्त्रका
शासकहरुलाई आजकल
यी निकै प्रिय र मनोरञ्जनपूर्ण लाग्ने
शब्दहरु हुन्
‘पट्टु,
कृष्ण कहो भन्, पट्टु
कृष्ण कहो भन्,
र, आदिम सभ्यतादेखि
हामी स्वतन्त्रतापूर्वक
शासकहरुका यी शब्दहरु
उच्चारण गरिहेका छौँ ।


