छविरमण सिलवाल
अँध्यारो चिर्नको लागि
घाम झुल्कनुपर्छ
प्यास मेट्न
पानी पर्नै पर्छ
प्राण जीवित राख्न
हावा बहनै पर्छ,
यी सबै
निःशुल्क उपलब्ध छन्
निस्स्वार्थ आफ्नो कर्ममा
कर्मशील छन् ।
हामी अदृश्य कर्ममा धावा बोल्छौँ
साझा धर्तीलाई आफ्नै मात्र ठान्छौँ
आफ्नै स्वार्थमा धर्ती
चिरा चिरा पार्छौं,
प्रकृतिको आवेगलाई थुन्न खोज्छौं,
हावाको वेगलाई रोक्न खोज्छौँ
घामको तेजलाई धुमिल पार्न खोज्छौँ
समय समयमा
समयको घट्टमा नमज्जाले पिसिन्छौँ
दण्डित हुन्छौँ ।
तैपनि,
खुल्न नसकेको चेतनालाई
खोल्न सक्ने
स्वाभिमानी मान्छे
प्रकृतिको सुन्दर छटाबाट
फुत्त निकालेर
संसार
स्वार्थी मान्छेबाट मुक्त गरौँ ।


