प्रमोद प्रधान

भर्खरै त खुलेको छ पर्दा–
एउटा प्रहसन मञ्चनका लागि…

मञ्च अँध्यारो छ,
एउटी बालिकाको चित्कार सुनिँदै छ भयमिश्रित…
मर्द आवाजहरुको अट्टहासले छोप्न खोज्दै छ
त्यस आवाजलाई
बिस्तारै पर्दाभित्र बलेको छ एउटा बत्ती
सेतो पर्दामा देखिएको छ
निरीह महिला अनुहार
र बज्रिँदै छ उनको टाउकोमाथि
उनकै प्रियजनको हातको छडी निरन्तर…
प्रहसन हेर्न आएको दर्शक दीर्घा अचम्मित छ,
विद्यालय गएको बालक
सडकको खाल्डोमा परेर हराएको छ
र आमा छेउमै कोलाहल गर्दै छिन्
करोडको बिटा बोकेर
बुद्धिजीवीहरु किनिरहेछन् पदहरु…
न्यायदूतहरु धाउँदै छन् बिचौलिया र पार्टी कार्यालयहरु
नेताहरु छाप्दै छन् नोटहरु
र गर्दै छन् अमुक अमुकका नाममा लगानी
चिकित्सकहरु उपचार छाडेर उत्रिएका छन् सडकमा
शिक्षक र प्राध्यापकहरु बेच्दै छन् गाइडबुक र थेसिसहरु
दर्शक दीर्घा अचम्मित छ
पर्दाअगाडि देखिँदैनन् अनुहारहरु !
अचानक झ्याप्पै बलेको तिखो उज्यालोमुनि बसेर
सत्ता बजाइरहेछ समृद्धि–यात्राको बखान भएको टेपरेकर्ड !

दर्शक दीर्घामा
बल्ल सुरू भएको छ कानेखुसी !
प्रहसन भने जारी छ अझैं … …

Facebook Comments Box

Similar Posts