प्रमोद नेपाल

‘आज अबेर भयो, पाहुनालाई ‘नि हिँड्ने बेलामा आउनुपर्ने !’ राजकिशोर फत्फताउँदै कार्यालयमा पसे । उनी मालपोत कार्यालयमा शाखा अधिकृत पदमा कार्यरत थिए ।
‘ओहो ! के बिघ्न फाइलहरु ।’ टेबलको फाइल देखेर उनी भुट्भुटिँदै थिए ।
‘म अबेर भनेको त यो सुब्बा सा’बले झन् पो अबेर गरेछन् ।’ सुब्बा साहेबलाई कुर्सीमा नदेखेर उनी मनमनै सोच्न थाले ।
‘सर ! मलाई टाढा जानु छ, कृपया छिटो सक्दिनुस् न मेरो काम ।’ एक जना सेवाग्राही आग्रह गर्दै थिए ।
आइतबारको दिन भएकाले सेवाग्राही पनि टन्नै थिए ।
उनी सुनेको नसुन्याझैँ गरी बसिरहे र कार्यालय सहायकले भर्खरै टेबलमा राखेर गएको चियाको चुस्की लिन थाले ।
‘ए गनपत !’ चिया खाइसकेपछि उनले कार्यालय सहायकलाई बोलाएर सोधे, ‘सुब्बा सा’ब कता हराए ?’
‘म हेर्छु हाकिम सा’ब ।’ गनपतले जबाफ दिए र त्यहाँबाट हिँडे ।
‘नमस्कार सर !’ एकै छिनमा सुब्बा रामभजन आए र हाकिम साहेबलाई अभिवादन गरे ।
‘के चाला हो, सेवाग्राहीहरु कुरेको कुरेकै छन् अनि यति अबेर आउने ?’ हाकिमी पारा देखाउँदै राजकिशोर सुब्बासँग कराउन थाले ।
‘हाकिम सा’ब ! म त दश बजे नै आएर सेवाग्राहीको काम सक्याएर हजुरको स्वीकृतिका लागि फाइल टेबलमा राखिदिएको हुँ ।’ सुब्बा साहेब हाकिम साहेबलाई भन्दै थिए ।’ ठुलो हाकिम सा’बले बोलाउनुभो र माथि गा‘को ।’
बोल्नै नसकेर अँध्यारो मुख लगाउँदै राजकिशोर फाइल खोलेर हेर्न थाले ।

Facebook Comments Box

Similar Posts