डा. श्यामप्रसाद न्यौपाने
(सुनवल १२, नवलपरासी)
प्रतियोगी कविहरुले आआफ्ना रचना निकै रोचक ढङ्गमा वाचन गरे ।
नतिजा प्रकाशन भयो । वक्तास्रोता आआफ्ना गन्तव्यतिर लागे । निर्णायक मण्डलका सदस्यहरु विश्रामका लागि तोकिएको होटलतिर लागे ।
नन्दलाल कविताका पारखी थिए । आजको घोषित परिणामप्रति सन्तुष्ट नभएकोले उनी सरासर निर्णायक मण्डलका संयोजक विराजको विश्रामकक्षमा गए ।
‘नमस्कार कविवर ।’ नन्दलालले अभिवादन गरे ।
‘नमस्कार, आउनुहोस् ।’ विराजले अभिवादन गर्दै बोलाए ।
नन्दलाल भित्र पसी सोफामा थचक्क बसे ।
‘कविजी, काव्यिक सौन्दर्यका दृष्टिले सुन्दर कविताको त नामसमेत उच्चारण भएन नि ! न प्रथम, न द्वितीय न तृतीय ! किन होला ? जुन कवितामा विश्ववन्धुत्वको कोमल भाव थियो, जुन बिम्ब, प्रतीक र अलङ्कारादिले युक्त थियो, जसले मानवजीवनलाई प्रतीकात्मक रुपमा बडो कलात्मक किसिमले व्यक्त गरेको थियो, वक्रोक्तिमय उक्त कविताले कुनै स्थान प्राप्त नगर्नुको रहस्य जान्न सकिएन नि । कि त्यो कविता कवितै थिएन ?’ नन्दलालले जिज्ञासा राखे ।
‘हो, तपाईंले ठिक भन्नुभयो । आज वाचन गरिएका रचनाहरुमध्ये त्यो नै सुन्दर र उत्तम कविता थियो । त्यहाँ जीवन थियो, जगत् थियो, कलात्मक संसार थियो । समुद्री शीतल जलमा स्वच्छन्दले विचरण गरेका माछाझैँ त्यहाँ काव्यतङ्खवहरु खेलेका थिए तर … ।’ विराजले भने ।
‘तर के कविज्यू ?’ नन्दलालले जिज्ञासा राखे ।
‘देख्नुभएन, उक्त कविता वाचन गर्दा वातावरण नै सुनसान भयो । स्रोताका गह रसाएर आए । कसैले ताली बजायो ? कसैले वाह ! वाह !! भन्यो ? अनि अनि हामीसँग पनि त ती कविको चिनजान थिएन नि !’ उनले फ्याट्ट भने ।
नन्दलाल केही बोलेनन् ।
त्यति राम्रो कविता सिर्जना गर्ने कला भएको कविले गुट बनाउने कला नजानेकोमा विराज निकै दुःखी भए ।
‘लाटा ! कविता मात्र राम्रो भएर कहीँ प्रथम भइन्छ ?’ नन्दलालतिर हेर्दै विराजले भने ।
नन्दलाल भने कुन्नि किन हो विराजको अनुहार एकटकले हेरिरहेका थिए ।