नन्दलाल आचार्य
(२०३०/०३/२८, जहडा, उदयपुर)

‘मनमा जँचेको मात्रै गर्छु । अकास खसे पनि समुद्र सुके पनि नजँचेको काम गर्दै गर्दिनँ ।’ पिँडुलो मुसार्दै दीपकले मनको गुम्साहट बाहिर ल्यायो । उसका कुरा सुनिदिने त्यहाँ कोही मौजुद थिएन ।
आँखाबाट सप्तकोसी सलल बगिरहेको थियो । कान फुल्न लागेका गुलाबजस्ता राता थिए । केस शिशिर ऋतुको पतझर रूखजस्तो जिङ्ग्रिङ्ग थियो । उसको छाती चलिरहेकोे खलाँतीजस्तो फुल्दैसुक्तै गर्दै थियो । नाक पाक्न लागेको टमाटरजस्तो थियो । बेला बेलामा सिँगान चुहुन खोज्थ्यो । स्याक्कसुक्क गरेर दीपक त्यसलाई तह लगाउँथ्यो ।
उसलाई सुनिताले दुई काम लगाएकी थिइन्– बिहानबेलुका सुँगुरको डुँडमा आहारा र पानी हालिदिने । दिउँसो नजिकैको सरकारी स्कुल गएर पढ्ने । पहिलो काम ऊ इमानदारपूर्वक पूरा गथ्र्यो । दोस्रो काममा भने स्कुल जान त परै जाओस् फर्केर हेर्ने मन गर्दैनथ्यो; डेढअक्कल लगाइदिन्थ्यो ।
आमाबाबुका आँखा छल्न पायो भने सिसाका बोतल, फलामका टुक्रा र प्लास्टिकका बोतल टिप्न सहरका कुनाकन्दरामा आफूभन्दा ठुलो बोरा घिस्याउँदै गरेको भेटिन्थ्यो ।
उसका बाबु घरमा काम नहुँदा धनजितेको लकडी काट्न र ट्रयाक्टरमा चढाउनेखसाउने काम गर्न मजदुरीमा खट्थे । सुनिताचाहिँ कहिले घरबुना बाँसका सामग्री बिक्री गर्न गाउँ पस्थिन् कहिले सुँगुर चराउन गुहेगल्ली चहार्थिन् । नाबालक छोरी च्यापी च्यापी यदाकदा ज्यालामजदुरीमा समेत खट्थिन् ।
काम सकेर घर फर्कने क्रममा एकदिन दीपकलाई बोरा घिस्याइरहेको फेला पारिन् । घरको सामान्य काम भ्याएर पढ्न जा भनेर घरमा छाडेको छोराले अरु नै कामलाई प्राथमिकता दिएकाले उनको रिसको पारो उक्लियो ।
‘त्यही नपढेकाले कुनिया, ढाकी, पङ्खा, चाल्नो, नाङ्लो बेचेर र सुँगुर चराएर बाँच्नुपरेको छ आफूले । आफ्ना सन्तान आफ्नो सोचअनुसारको बनाऊँ भनेको ! थुइक्क, मेरो सोच त खोलैखोला पो गएछ ।’ सुनिताले यसरी धिक्कारेको आवाजले दीपकले मुन्टो उठाएर हे¥यो । केही नदेखेझैँ गरी तत्कालै पसिना पुछ्दै र बोरा घिस्याउँदै अज्ञात स्थलतिर लाग्यो ।
साँझमा सुनिता घर आएपछि पिँडुलाका मासु खस्ने गरी पिटिन् । कान बटारिन् । कपाल जगल्ट्याइन् । त्यसले पनि सन्तुष्ट हुन सकिनन् र झाँगलझुँगल पारिन् । जति गर्दा पनि दीपकले जब्बर भएर सहन गरिरह्यो ।
‘डोमकुलमा जन्मे पनि सुकर्म गरेर समाजको उदाहरण बन्ला भन्ने सपना थियो । मेरो कोख नै नरक भएको ठानिए पनि डोम जातिकै शिर उच्च पार्ला भन्ने थियो ।’ दीपकलाई बेस्सरी धकेल्दै सुनिताले थपिन्, ‘बाबुआमाले यत्तिको आडभरोसा दिँदादिँदै स्वर्गको बाटो नउक्लेर नरकतिरै खँदारिन्छस् ? आँखा खोल्ने बेलामा खाते बनिहिँड्छस् ?’
दीपक पर्तिर बाँसको खम्बामा ठोकिँदै उँधोमुन्टो लगाएर लड्यो । हतार हतार उठाएर धुलो झारझुर पारिदिइन् सुनिताले । उनमा माया पलाएर आयो । कोर सल्कन नसकेका हात भन्दै मनमनै आफ्नै हातलाई एक धोक्रो गाली बर्साइन् ।
‘तँलाई कुट्दा कुट्दा मेरो आँत हरहर भयो । तँ रत्तिभर हलचल गर्दैनस् ?’ सुनिताले आफ्नै आँसु पुछ्दै थपिन्, ‘मैले त छोरो जन्माएकी थिएँ । तँ कसरी बगरमा लडेको ढुङ्गो भइस् ?’
जसो गरे पनि आमाको सामुन्नेमा उसले वाक्य फुटाएन । आमाको मनमा चोट पर्ने कुनै कार्य गरेन । रिसको झोकमा आमाले दिएको आक्रोशको फल सम्झेर चित्त बुझायो । कटुवचन बोलेर आगोमा घिउ थप्ने काम गरेन ।
+ + +
अरु दिन दीपकको आनीबानी सबै मन खाने थियो । एकपटक गलत काममा लागेको सुइँको पाउनासाथ आगो भइहाल्नु ठिक होइन भन्ने सम्झिन् सुनिताले । गल्ती गरेँ भनेर क्षमा पनि नमागेको र ठिक गरेँ भनेर उग्र भावना पनि नदेखाएकोमा आफै पो गलत मार्गमा छु कि भन्ने शङ्का लाग्यो उनलाई । गाली गर्दा गर्दा थाकेर हिँडेको धनी मानिस केही बेरमा पछुतोमा परेर बुद्धको चरणमा परेझैँ भयो सुनितालाई पनि ।
दिनभरको गाउँ घुमाइ र कामको चटारोले सास फेर्न नपाए पनि सुनिताका हातमा मनग्य रूपियाँ परेको थियो त्यस बेला । उनले नौ महिनादेखि दुवै दम्पतीले निरन्तर खाएको ओखतीको उधारो चुक्ता गर्ने सोचिन् ।
‘हो, दीपक आउँछ । बाबुआमाकै लागि औषधी उधारो लान्छ । केही दिनमै कहिले उसका मालिक आउँछन्; कहिले मुन्सी आउँछन् र चुक्ता गर्दिन्छन् । मकहाँ एक पैसो लेनदेन बाँकी छैन ।’ औषधी पसलेकहाँ पुगेर हिसाब माग्दा उसले खाता देखाउँदै प्रस्तुत गरेको लामो फेहरिस्त देखेर र सुनेर सुनिता तीनछक्क परिन् ।
घर आएर दीपक सुत्ने सिरानी र खाटमुनि सुनिताले नाना थरीका नयाँपुराना किताबकापी देखिन् । ओल्टाइपल्टाई गरिन् । कापीमा राम्रा अक्षर लेखिएका थिए । कालो अक्षर भैँसी बराबरमा गनिएकी सुनिताले के लेखेको हो र कसले लेखेको हो भन्ने ठम्याउन सकिनन् ।
आफूले स्कुल जा मात्र भनेको तर किताबकापी कहिल्यै नकिनिदिएको सम्झिन् । घरायसी काममा धेरै नदलाए पनि उसको समस्याबारे बुझ्न कहिल्यै चासो नराखेको महसुस गरिन् ।
‘परिणाम हात पार्न चाहनेले कर्तव्य पूरा गर्न कन्जुस्याइँ गर्न हुन्न ।’ घर फर्कने क्रममा बाटोमा पण्डितको प्रवचन सुनेको ख्याल आयो उनलाई ।
आफू कति पानीमा छु भन्ने यकिन गर्न मन लाग्यो । एउटा मोटो कापी सुटुक्क निकालेर सिरानीमा लुकाइन् । बेलुका गलेर लखतरान भएका सुल्तान आए । चार गाँस तातो खाए । सुनिताको हातले दिएको दुई गिलास रक्सी घुट्क्याए । कसैसँग एक शब्द नबोली घुप्लुक्क सुते । रात छटपटीमै बित्यो सुनिताको । पतिको स्वभावबाट उनी भलिभाँती परिचित थिइन् । किनभने पति हिजोका मान्छे थिए । पुरानै संस्कार र सोचका थिए । आफू समाजको पिँधमा परेकोमा कुनै चिन्ता र गुनासो थिएन उनलाई । सकेको गर्ने, दिएको खाने, दुनियाको पछि नलाग्ने, आनन्दले रहने र कसैले घृणित व्यवहार गरे पनि समाजको उपहार सम्झेर चुपचाप सहने । ‘सुल्तान डुम’ भने पनि ठिक थियो । ‘डुम्रा’ भनेर होच्याउँदा पनि ननिको मान्दैनथ्यो सुल्तान मरिक ।
‘सरकारी विश्वविद्यालयले कागजी प्रमाणपत्र दिन्छ तर सुनिताको अनुभवी विश्वविद्यालयले जीवन जिउने कला सिकाउँछ ।’ गाउँलेले यसो भनिदिँदा उनी मक्ख पर्थिन् । वास्तवमा कागजी ज्ञानबाट वञ्चित भए पनि गाउँघर चहार्दा र व्यवहार गर्दा गर्दा उनी निकै पाकी भइसकेकी थिइन् ।
छोराछोरी घुर्दै थिए । पति सपनामा बरबराउँदै थिए । उनी जुरूक्क उठिन् । सुत्केरी सुँगुर्नीलाई चारो थपिदिइन् । सिरानीमा लुकाइराखेको कापी प्लास्टिकमा हालेर काखीमुनि च्यापिन् । कम्मरमा डोरी बेरिन् । हातमा खुर्पे लिइन् । सूर्यले लाली छर्न नपाउँदै सुनिता घरबाट बाहिरिइन् ।
+ + +
‘सुनिते, निथ्रुक्कै भिजेर एकाबिहानै आइछेस् । त्यस्तो के पर्‍यो र मेरै घर धाइस् ?’
मुन्सीले आँखा मिच्दै भनेको कुरोले केही बेर सुनिता असमञ्जसमा फसिन् । शान्त हुँदै सहज पाराले भूमिका बाँध्दै भनिन्, ‘मुन्सीजी, हिजोका मान्छेलाई चिन्छु तर आजका मान्छेलाई ठम्याउन सकिनँ । तसर्थ तपाईंसँग नबुझेको कुरो पढूँ कि भनेर आएकी ?’
‘दिउँसो छोरो आएर बाह्रसत्ताइसका कुरा सोध्छ । पढाउँदा पढाउँदा हत्तुहैरान पार्छ । त्यसकै नाममा मालिकले पाँच सय मासिक भत्ता थपिदिएका छन् । त्यसैलाई मेहनतको फल सम्झेको छु । तँलाई पढाउँदा पनि अरु पाँच सय थपिदिन्छन् त ?’ मुन्सीले पनि आफ्नै गथासो भट्याउँदा सुनिता छक्कै परिन् ।
जबाफमा केही बोलिनन् । काखीमा च्यापिराखेको कापी मुन्सीलाई थमाइदिइन् । मुन्सीले ओल्टाइपल्टाई गरे । एकातिर पन्छाउँदै भने, ‘यसमा तँ केही नलेख् । दीपक रिसाउला । यो दश कक्षाको हिसाब सिकेको कापी हो । तेरो छोरो नौ कक्षामा छ तर नौलाई राम्ररी पढाउन सक्छ । ६ महिनाअघि नै कक्षाको पढाइ सिद्धयाइसक्यो । दश कक्षाको पनि आधा जति तुरिसक्यो । त्यो पनि एउटा विषयमा होइन सबै विषयमा ।’
सुनिताको बोली निस्केन । आँखाले बाँध भत्कायो । उनलाई अनगिन्ती खुसी पोल्टामा परेको अनुभव भयो । कापी समेटेर हिँड्न लागेकी थिइन् मुन्सीले रोके ।
‘यहाँ आउनुको कारण नै नभनी जान लागिस् । तातो पानी सुत्तसुत्त पारेर जा ।’ मुन्सीले थपे, ‘तँलाई हाम्रो गाउँकी चेली सम्झेको छु । तेरो आनीबानी र ‘विद्रोही’ चेतबाट म भलिभाँती परिचित छु । तर दीपकको मामिलामा तँ यतिको कायर छेस् भन्ने सपनामा पनि सोचेको थिइनँ ।’
सुनितालाई आपत् पर्‍यो । सोच्न थालिन्– बारी मेरै भए पनि दीपक कसको बिउ हो भन्ने मुन्सीलाई थाहा थियो । तर दीपकलाई मैले सजाय दिएको कसरी थाहा पाए ?
सुनिताको वरपर यही प्रश्न घुमिरह्यो ।
सुनिताले चिया पिउँदै गर्दा मुन्सीले सम्झाए, ‘ती मास्टरलाई धम्क्याउन सक्तिनस् ? जातीय भेदभाव नगरी शिक्षादीक्षा दिनुस् नत्र म संविधानले दिएको अधिकार प्रयोग गर्छु भनेर ! बिचरोलाई कहिले डुम्राको छोरो होइनस् भनेर होच्याउने; कहिले डुम्रो हाकिम भए बाँसका घरेलु सामान कसले बनाउने भन्ने !’
सुनिताको प्रतिक्रिया सुन्न नपाए पनि मुन्सी मनमा गुम्सेका कुरा ओकलिरहेका थिए । सुनिता भने प्रश्नोत्तरविहीन दर्शक बनी टेलिभिजनको पर्दा सामु छु जस्तो गरिरहेकी थिइन् ।
‘डुमको छाला कालै हुनुपर्ने, डुमले नै गाउँको सेवाटहल गर्नुपर्ने, हेलाहोचो सहेर पिँधमै जीवन गुजारा चलाउनुपर्ने भनेर कहाँ लेखिएको छ ? स्कुलमा गएर यो प्रश्न राख् । स्कुलले बानीव्यवहार सुधारे ठिक छ नत्र मालिकलाई लिएर म आउँछु ।’ यसपटक भने मुन्सीको कुरामा सहमत भएको आभासस्वरुप मुन्टो हल्लाउँदै सुनिता बाहिरिइन् ।
+ + +
बडेमानको चारोको बिटो आँगनमा बिसाएको आवाजले सुल्तान उठे । सुनिता भने खुइ®य गर्दै पिँढीमा थ्याच्च बसिन् । अलिकति ढुटो थप्न पाए सुँगुरलाई दुई दिनका लागि चारो पुग्थ्यो भन्दै थिइन् । कसैले चाल नपाई अघिल्लो दिन लिएको दीपकको कापी यथास्थानमा थपक्क राखिन् ।
सुनिताले दीपकको अनुहार नियालिन् । दुई तेजस्वी आँखाले माया र श्रद्धाभाव खन्याइरहेको पाइन् । आफूसँग भएका सबै पात्र उसको मायाले भरिसकेको ठम्याइन् । थाप्ने कुनै पात्र नभेटेपछि अञ्जुलीमा थापेकी थिइन् । त्यो पनि झुसी भएर पोखिरहेको भेटिन् ।
सु्निताले दीपकको हृदय समुद्रमा होइन; समुद्रचाहिँ दीपकको हृदयमा देखिन् । आफ्नो कोखबाट नामको दीपक होइन समाजलाई आलोकित पार्ने दीपक जन्मेको अनुभव गरिन् ।
उनलाई दीपकका पाउमा छाँद हालेर पश्चात्तापका आँसु बगाउन मन लाग्यो । उनलाई छोरो होइन गुरू थापेर उसले अख्तियार गरेको मार्गको अनुयायी हुने रहर जाग्यो । मन जताततै दगु¥यो । मनको क्षणिक भावलाई व्यवहारमा उतार्न खोज्दा सामुन्नेमा लोकलाज ठिङ्ग उभियो र सुनिता पूर्ण चेतनमा फर्किन् ।
+ + +
लोकमार्गलाई मध्यभागमा पारेर रहेको तराईमधेसको सहरोन्मुख ठाउँ थियो । त्यसकै पश्चिमी किनारस्थित ऐलानी जग्गामा सुनिता र सुल्तान मरिक दम्पती बस्थे । उनीहरुको दाम्पत्य जीवनमा लामो समयसम्म खडेरी प¥यो । दुवै निराश थिए । पुख्र्यौली सम्पत्ति शून्य बराबर थियो । सम्पत्ति र सन्तान दुवैविहीन हुनुको पीडा बोकेर उनीहरु जीवन घिसारिरहेका थिए । सुनिता प्रेसर र मुटुरोगी थिइन् । सुल्तानले पनि दम र स्नायुसम्बन्धी बिराम बोकेका थिए । सबै किसिमले पीडित हुनुपर्दा उनीहरु मनोरोगीजस्ता थिए ।
यदाकदा रक्सी सेवन गर्नु दुवैका लागि सामान्य थियो । यद्यपि सुल्तानलाई भने लत लगाइसकेको थियो । दिनभर आर्जन गरेको एक अंश उनले रक्सीका लागि नछुट्याई हुन्नथ्यो । सुनिता भने पतिको यस्तो बानीबाट अनभिज्ञ थिइन् । काम गरेर आएका दिन घरमै दुई गिलास पिएर सुत्दा अन्यथा मान्दिनथिन् । कामले गलेको शरीरलाई आराम दिन्छ भन्ने ठान्थिन् ।
परिस्थितिले जीवनमा अनेक रङ ल्याइदिन्छ । सोचेको हुन्न । नसोचेको कुरा अकस्मात् आइलाग्छ । सचेत मनस्थितिमा नआएको आँट रक्सीको नशामा एक्कासी आइदिन्छ । सुनिताको जीवनमा पनि त्यस्तै भयो ।
जोसमा होस गुमाउने काम भइसकेपछि पहिले त उनी आत्तिइन् । नपुंसक पोइकी जोई भएर रहिरहनु दुर्भाग्य ठानिन् । बरू शिष्टतापूर्वक अशिष्ट कार्यमा संलग्न भएर समाजको आँखामा छारो हाल्नु उत्तम लाग्यो । जसै गरेर भए पनि आफ्नो मन सानो हुन दिइनन् सुनिताले । त्यस दिनको छटनापश्चात् सुल्तानले बढ्ता माया पाउन थाले ।
‘तिम्री पत्नी बाँझी होइन तिमी नामर्द छौ । यो ओखती खाऊ र सिकाएको योगप्राणायाम गर मर्द बन्ने सम्भावना हुन्छ ।’ नपुंसकता प्रमाणित गरेर डाक्टरले भनेको सम्झिए सुल्तानले । दिनदिनै पत्नीको पेट बढ्दै जाँदा आफ्नो जीवनमा समेत हरियाली भित्रिन लागेको अनुभव गरे उनले ।
नौ मास पूरा गरी जन्मियो दीपक । बच्चोलाई आफूजस्तो कालो वर्णको नपाउँदा सुनिता आत्तिइन् । सुल्तानले पनि राम्ररी नियाले । आफू र आफ्नो खान्दानको रुपरङसँग रत्तिभर नमिलेको भेट्दा उनलाई ‘नखाऊँ भने दिनभरको सिकार खाऊँ भने कान्छा बाबुको अनुहार’झैँ भयो ।
सुल्तानलाई तत्कालै आफ्नो नाठोसँगै जा भनेर सुनितालाई गलहत्याउने विचार आयो । मेरी पत्नीको आवरणमा बसेर मेरो खान्दानमा कालो नपोत् भन्ने मन भयो । यद्यपि नौ महिनादेखि समाजमा पाएको सम्मान र आफूले सँगालेको सपना एक्कैपटक तुहेको सहन नसक्ने निष्कर्षमा पुगे । सुनिताको मायाविहीन आफ्नो जीवन नरकझैँ लाग्यो ।
आफू हाँस्दा समाजले हाँस्न साथ दिन्छ तर रूँदा अर्कातिर मुन्टो बटारिदिन्छ । यस्तो समाजसामु साँचो रूनुभन्दा झुट्टै हाँस्नु बेस लाग्यो उनलाई । कहिलेकाहीँ मान्छे वा पशुले आफ्नो जात र गुणबाहिरको प्राणी जन्माएको अनेक उदाहरण देखेसुनेका थिए । बिनाप्रमाण सुनितालाई आरोप लगाउन नैतिकताले दिएन । आफ्नो नहुँदा धर्मपुत्रपुत्री पाल्ने गरेकै छन् मान्छेले । त्यस्तै सोच्न पुगे सुल्तानले । उनले मन बुझाउन कुरा खेलाए– वीर्य अर्काकै होला तर कोख त हिन्दू संस्कारबमोजिम विवाह गरेर ल्याएकी मेरै धर्मपत्नी सुनिताको हो । अरुले उल्झनमा पारे भने बेग्लै कुरा हो । आफैले समस्या उमार्नुचाहिँ पारिवारिक बेइमानी हो ।
उनी अमिलो मनलाई जबरजस्ती गुलियो बनाउने प्रयत्नमा रहे । मनलाई थुम्थुम्याइरहे । आफ्नै शरीरमा खोट देखिएपछि त्यागको बाटो समाउन जरूरी देखिरहे ।
मुस्किलले नै सही तर मुसुक्क मुस्कुराउँदै भने, ‘संसारभरको सुख काखैमा राखिदियौ सुन्तु तिमीले ।’
मनमा आँधीबेहरी चलाइरहेकी सुनितालाई पतिदेवको वाणीले जादुको काम गर्‍यो । उड्न लागेको हंस फर्केर आयो । उनले पनि मायालु स्वरमा थपिन्, ‘यो सबै तपाईं र मेरो चाहना, कामना र प्रार्थनाको कमाल हो । हाम्रो भित्री मनको सपना हो ।’
‘सुन्तु, तिमीजस्ती समय र परिस्थिति बुझ्ने पत्नी सबै डोमले पाउँदैनन् । तिम्रो स्नेह ममाथि रहुन्जेल म संसारकै धनी र शक्तिशाली हुने छु ।’ सुल्तानको बोली सुनेर सुनिताको आशङ्का हरायो । उनले उत्साहित हुँदै थपिन्, ‘यो केटो डोमपुत्र होइन, कुलदीपक कहलाउने छ ।’
भत्कने सम्भावना बोकेकोे घर दुवैको पारिवारिक समझदारीले बच्यो । पछाडि कुरा काट्ने धेरै भए पनि सामुमा परेर कालो मन देखाउने हिम्मत कसैले गरेन ।
+ + +
दीपक आफ्नो कुर्सीमा बसेर कार्यालयका कागजपत्र नियाल्दै थियो । उसको सामु अति गोप्य व्यक्तिगत पत्र भनेर लेखिएको खामबन्दी चिठी आइपुग्यो । खाममा लेखिएको थियो–
पठाउने: सन्तमान ठकुरी (पीडित गाउँले) । पाउने ः दीपक मरिक (शाखा अधिकृत, उच्च अदालत) ।
दीपकले चिठी खोलेन घर ल्यायो । कपडा सिलाएको आवाज आउँदै थियो । छोरालाई देखेर सुनिताले भनिन्, ‘ए बाबु, यो धागो सियोमा उन्दे उन्दे ! चस्माको पावर कम भयो कि क्या हो बन्दै देखिनँ ।’
‘आँ आमा, छाडिदिनुस् ! अब पनि कति दुःख गर्नुहुन्छ ! माइतीमा छँदाकी चेलीझैँ आनन्दले मोज गर्नू न । केको अर्काको कपडा सिलाउने ठेक्का लिनुभएको ?’
‘कुनै व्यक्तिको कपडा होइन यो । हाम्रै कारखानाको कपडा हो ।’ दीपकको कुरा काट्दै सुनिताले थपिन्, ‘आ, मेरो जीवन समाजको पिँधमै रहने हो भनेर तैँले लत्तो छाडेको भए म शाखा अधिकृतकी आमा कहलाउन सक्थेँ त ?’
अह्राएको काम दीपकले सरक्क गरिदियो र भन्यो, ‘मनले खाएको काम गर्नु पनि जीवनकै मोज हो ।’
कपडा बदली हल्का नास्ता गरेर पत्रमा हराउन थाल्यो ।
प्यारो केटा,
अशेष आशीर्वाद !
शिरानदेखि पुछारसम्म मनोयोगले पढिस् भने मात्र मलाई चिन्छस् । मसँगै तँ र तेरी बहिनीलाई पनि सम्झन्छिस् । लोभले होइन केटा; परिस्थितिले ल्याएको बाध्यताले म भन्दै छु– सत्य छ्याङ्ग पारिहाल्न मलाई अलिक धक लाग्यो ।
आफ्नी आमाको मन जितिस् र कारण खोतलिस् भने हाकिमजस्तो मान्छेलाई मैले ‘केटो’ भन्दै अनादरवाची ‘तँ’ सर्वनाम प्रयोग गर्नुको रहस्य खुल्छ । आमाले नभनेमा र आवश्यक परेमा म आफै भेटमै भन्ने छु ।
तँलाई राहत दिलाउन सुनिताले स्कुलमा गएर कुरा राखिन् । तँ कर्ममा प्रतिबद्ध थिइस् । चाँडै सबैको प्यारो भइस् । ए+ ल्याएर एसइई गरिस् । तेरो सफलतामा अति प्रसन्न हुँदा हर्टएट्याक भएर तेरो वैधानिक बाबु सुल्तानले धर्ती छाड्यो ।
अगाडिको पढाइमा मालिक र मुन्सीले भरमग्धुर सहयोग गरे । मालिकलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधि सभामा पुर्याउन तैँले पनि बौद्धिक सहयोग गरेर ऋण चुक्ता गरिस् । निरन्तर लगनशीलताको परिणामस्वरुप तँ कानुनमा स्नातकोत्तर गर्न सफल भइस् । वर्ष दिन नपुग्दै आफ्नै क्षेत्रको उच्च अदालतमा अधिकृतको रुपमा आएको छस् । तँ चाँडै न्यायाधीश बन्ने छस् र सीमान्तकृत वर्गको पिरमर्कालाई सही रुपमा सम्बोधन गर्ने छस् ।
तेरी आमा पनि गलत छैन । म पनि खराब मान्छे होइन । निःसन्तान भनी छिःछिः र दुरदुर गर्ने समाजको गिद्धे सोच गलत छ । तँ आजको मान्छे होस् । हाम्रो बाध्यता बुझिदे । झट्टै हाम्रो सही फैसला गरिदे ।
उत्ति बेलै मेरी पत्नीले भनेकी थिई, ‘म छँदै सुनितालाई भित्र्याउनुभए म अघोरै खुसी हुने थिएँ । यस घरमा बच्चो च्याँच्याँ रोएको सुन्न पाए आफ्नो कोख सफल भएको ठान्ने थिएँ ।’
उति खेर पति फेर्दै हिँड्ने र पत्नी थप्दै जानेलाई सामाजिक र कानुनी अपराध भन्न मिलेन । यतिखेर तेरो रोगी र नपुुंसक बाउ मरेर गयो । मेरी बाँझी पत्नी समेत परमधाम भई ।
यहाँ म सपना तुनेर बसेको छु । त्यहाँ तेरी आमा छोराको इज्जतका लागि टसको मस हुन्न भनेर अड्डी लिएर बसेकी छे । त्यसको पनि मन छ तर समाज नै बाधक छ ।
लु केटा, तेरो अदालतमा हाम्रो भकुन्डो छिर्यो । न्याय गरेर बाँकी जीवन सहज बनाइदे ।
+ + +
चारैतिरबाट मान्छेले प्रत्यक्षपरोक्ष आफूलाई घोच्नुको कारण बल्ल बुझ्यो दीपकले । उसका आँखा रसाए । मन निःशब्द भयो । चिठी टेबलमै राखेर ऊ बाथरूमभित्र छिर्यो।
तत्क्षण वेगले सुनिता आइन् र चिलले चल्ला झम्टेझैँ गरेर चिठी कब्जामा लिइन् । किनभने सन्तमानले भनेका थिए, ‘तँ इज्जतको माला जपेर बस् । म केटोलाई सत्य अवगत गराउँछु । मौखिक रुपमा असम्भव होला तर लिखित रुपमा त सम्भव छ । परिस्थितिले म ठगिएको छु । तँ पनि ठगिएकी छेस् । हामी ठगिएकाले किन न्याय नपाउने ?’
दीपकले चिठीको खोजी गर्‍यो । फेला परेन । चिठीमा फोन नं. थियो । फोन नम्बर टिपेर राख्न चाहन्थ्यो । सत्य छिमल्न चाहन्थ्यो । आधारै मेटिने भयो । घरमा ऊ र आमाबाहेक कोही थिएन । बहिनीको विवाह भइसकेको थियो । आमालाई शङ्का गर्नु नादानी हुन्थ्यो । अनपढ मान्छेले कागजपत्र लिने कुरै भएन तैपनि सुनितातिर हेर्यो । उनी एकोहोरो कपडा तुन्नमै व्यस्त थिइन् ।
ऊ सोचमग्न भयो । शब्द नचुहाईकनै भोजन गर्‍यो । लेखपढमा मन लगाएन । एकैपटक बिस्तरामा गयो । सुनितालाई चिन्ता थपियो । बुझक्की छोरालाई अबुझ ठान्नु मूर्खता ठान्दै सुनिताले छोराका सामु गएर मन खोल्ने प्रण गर्दै भनिन्, ‘छोरा; माफ गर्छस् भने म एउटा रहस्य खोल्छु ।’
‘म अदालतमा छैनँ । घरमा छु आमाको साथमा । माफी माग्ने होइन आदेश गर्नुस् ।’
दीपकले सहज बोली निकालेपछि उनले विगतको लहरो तानिन्– उति बेला म सन्तमान ठकुरीकहाँ घरेलु काम गर्थें । पत्नीले सन्तान नजन्माएकोमा ऊ दुःखी थियो । मरूभूमिमा बिउ खसाएर थाकियो तर उम्रेन भन्थ्यो । सधैँ काम सकेर साँझमा घर फर्कने बेला मलाई एक गिलास पियाउँथ्यो । त्यस दिन गफमा भुलाएर तीन गिलास पियाएछ । खुट्टा लरबरिएकाले मलाई समाउँदै घर फर्काउँदै थियो । बिउ खसाल्न दे तेरो मलिलो बियाडमा भन्यो । मैले अस्वीकृति जनाउँदाजनाउँदै सिमल रूखनेर मलाई लडायो । फलतः तँ जन्मिस् । तेरा बाबुले पचाए । समाजले गाह्रो मान्यो । तँलाई जोगाउन मैले नै एकदिन उसैलाई अपहरण गरेँ र बहिनी जन्मिई । बहिनी मजस्ती काली भई । तँ भने सन्तमान ठकुरीजस्तो गहुँगोरो भइस् ।
(द्वितीय स्थान प्राप्त)

नाटक, उपन्यास, कथा, कविता, समालोचना आदि लेखनमा सक्रिय आचार्यका प्रकाशित कृतिहरु युग उचाल्ने अक्षरकर्मीको अवसान (नाटक/एकाङ्कीसङ्ग्रह, २०६७), गरूराहा (उपन्यास २०७६), पुण्य कार्कीको कथाकारिता (समालोचनासङ्ग्रह २०७७), एक हाते जीवन (निबन्धसङ्ग्रह सन् २०२१) आदि हुन् ।

Facebook Comments Box

Similar Posts