- भलादमी भोला
एकदिन नातिले घरमा भोटे कुकुर लिएर आयो । बुढाले पुलुक्क कुकुरमा आँखा पुर्याए । बुढालाई देख्नासाथ कुकुर जोड जोडले भुक्न थाल्यो । कुकुरले बुढालाई कमजोर पात्रका रुपमा बुझ्यो । बुढाले मनमनै भने, ‘घरमा आर्थिक बोझ थप्न किन कुकुर ल्याएको होला ?’
कुकुर ल्याएको तीन दिनदेखि एकाएक सत्तरी वर्षका बुढाको खोराकी कटौती हुन सुरू भयो । बुढाले आफूलाई भिरमा फलेको फर्सीजस्तो महसुस गर्न पुगे ।
छोराले पनि बाउको भन्दा कुकुरकै स्याहार उपयुक्त ठान्यो । बाउ डाँडामाथिको घाम भइसकेकाले उनको स्याहार बालुवामा पानी हाल्नुझैँ हो भन्ने उसको बुझाइ थियो । हप्ताको दुईचोटि कुकुरलाई नुहाउने छोराले महिना दिनसम्म बुढाको नुहाइधुवाइ गरेन । एक महिना पुग्दा नपुग्दै बुढा ओछ्यान परे । कोल्टे फर्कन पनि नसक्ने भए ।
एकदिन बिहान कुकुरले मासु खाँदै बुढालाई ठुलो ठुलो स्वरले भुक्यो । बुढाले आँखाबाट बरर आँसु झारे । त्यसबेलासम्म बुढा भोकै थिए । अभागी भएको महसुस गरे । अर्को जन्ममा कुकुर भएर जन्मन पाऊँ भन्ने कामना गर्दै बुढा सधैँका लागि अस्ताए ।