- देवराज राई
कुरा २०६० सालतिरको हो । त्योभन्दा पहिले कहीँकतै भेट भएको पटक्कै थिएन । उनी थिए त्यतिबेला १३ वर्षका मात्रै ! तर तर्क दिन्थे हाम्रा बुज्रुक मास्टर साबहरुलाई खुत्रुक्क पार्ने खालका । उनका कुरा सुन्न थालेपछि सबैको नौनारी गल्थ्यो । हाम्रो ग्रामीण भूभागमा मास्टर भनेपछि असाध्यै ठुलो विद्वता भएको मान्ने चलन छ । उनीहरु सम्मानित जान्ने, बुझ्ने, गन्यमान्य मान्छेका रुपमा समाजमा स्थापित भएका हुन्थे । त्यो फुच्चेलाई नपत्याएर मास्टरहरु हेप्थे । कतिपयले भेट्दा यति धेरै कुराहरु बुझ्न सक्ने यो बालक मानव हुन् के ? भनी विश्वास गर्दैनथे । सायद उनी मानिस साना भए पनि तर्कमा समाज रुपान्तरणका अचुक उपायहरु बोल्थे ।
उनै पात्रसँग मेरो भेट भयो । उनी तीन गाविसमास्तिरका ठिटा रहेछन् । त्यतिखेर म भने १७ वर्षको थिएछु । उनको र मेरो पढाइ झन्डै बराबर थिएछ । उनी सात कक्षा पास गरेर जनयुद्धमा सामेल भएका रहेछन् । मैले आठ कक्षा पास गरेर एक वर्ष भारी बोक्दै बिताइसकेको थिएँ ।
दसैँतिहारमा केही समय गाउँमा बस्दा गाउँको सेवा गर्न साना साना भाइबहिनीसँग मिलेर ‘दाम्ली बाल समूह’ गठन गरी त्यसमा सव्रिmय थिएँ । त्यसले गर्दा म अलि फराकिलो सामाजिक कामको खोजीमा थिएँ । मैले नाटक लेखेँ । नाम ‘सरसफाइ र शिक्षा’ दिएँ । हामी समकालीन भाइबहिनीले नाटकमा काम गर्यौं । गाउमै सानोतिनो मञ्च बनाएर गाउँका बुबाआमा र दाजुभाइ दिदीबहिनीको चेतना अभिवृद्धि गराउन नाटक मञ्चन गर्यौं । नाटक देखाएपछि गाउँमा शिक्षा फैलियो । नाटकमा धेरै ठुलो विषय समेटिएको थिएन । गाउँघरमा जनसङ्ख्याको चाप बढिरहेको थियो । जनसङ्ख्या बढ्न नदिन शिक्षा जरूरी थियो ।
१३/१४ वर्षमा बिहे गर्ने र पन्ध्र वर्षपछि तिनै दम्पतीले सन्तान जन्माउँथे । यसले गर्दा समाजमा अनेक समस्या बढ्दै जान्थ्यो । यस्तो नहोस् भन्न कम सन्तान उत्पादन गर्ने गाउँकै केही शिक्षित व्यक्तिको उदाहरण नाटकमा प्रस्तुत गर्यौं । सानो परिवार सुखी परिवार नारालाई स्थापित गराउन नाटकमा खुब अभिनय गर्यौं । गाउँका प्रायः मानिस ईश्वरले दिएको थाप्नुपर्छ भन्दै डेडेढ वर्षमा सन्तान जन्माउँथे । यो काम अनियन्त्रित हुँदै थियो । नाटक प्रदर्शनपछि कम कम हुँदै नियन्त्रित भयो । घट्न थाल्यो जनसङ्ख्या ।
अर्को विषय गाउँमा फोहोरमैलाको व्यावस्थापन निकै चुनौतीपूर्ण थियो । गाउँघरमा खोल्सी जङ्गल नजिक भएको हुनाले चर्पीमा दिसापिसाब गर्ने चलन थिएन । चर्पीमा दिसापिसाब नगर्ने मानिस जहिल्यै रोगी हुने र उसले काम गर्न नसक्दा बालबच्चालाई शिक्षादीक्षा दिन नसक्ने भएकोले चर्पीमै दिसापिसाब गर्नुपर्छ भन्ने सन्देश नाटकबाट दिएका थियौँ । हामी साना साना बालबालिकाले मङ्सिरपौषको कठ्याङ्ग्रिँदो जाडोमा दलित समुदायको घरबाट चर्पी बनाउन सुरू गर्यौं । चर्पीमा दिसापिसाब गर्नुपर्छ भन्ने शिक्षा स्वास्थ्य पढाउनुहुने गुरू सत्यकुमार राईले बुझाए । हामीले नाटक त्यही पढाइको मेलोबाट सुरू गरेका थियौँ । २०५९ मङ्सिरपुसभरि गाउँका प्रत्येक घरमा एक घर एक चर्पी बनायौँ । दिउँसोको दुई बजेसम्म घरको काम भ्याएर त्यसपछि चर्पी बनाउने अभियान सञ्चालन गर्यौं । बाँसको टाटीले बारेर खर अर्थात् फुसको छाना छाएर लगभग चालिसओटा खाल्डे चर्पी निर्माण गर्यौं । यस कार्यका निम्ति कुनै पनि कल्याणकारी संस्थाबाट अनुदान लिएनौँ । स्वतःस्फुर्त रुपमा सहभागी भएर बनायौँ । मेरो बाल्यकालको दिनचर्या यसरी गुज्रिएको थियो ।
यसका साथै गाउँका प्रत्येक बालबालिकालाई स्कुलसम्म पुर्याउन पहलकदमी लियौँ । प्रत्येक घरका नानीबाबु स्कुल जाने वातावरण बनेपछि हामी आआफ्नो कामधन्दामा लाग्यौँ । अहिले त्यसरी पढ्न पठाएका भाइबहिनीहरु कोही सरकारी कर्मचारी कोही शिक्षक कोही राजनीतिकर्मी कोही सञ्चारकर्मी कोही दक्षिण कोरिया कोही नेपाल आर्मी कोही नेपाल प्रहरीमा कार्यरत छन् । मलाई भने समाज रुपान्तरणको अभियानले अझै छाडेको छैन । यसो हुनुको पछाडि मलाई २०६० साल माघ ५ गतेतिर उनै १३ बर्से मित्र टविन राई (उपनाम ज्वाला) सँग गाउँको माध्यमिक विद्यालय प्राङ्गणमा भेट भयो । भेटमा उनका हरेक कुरा गराइ प्रभावकारी लाग्थ्यो । त्यसमा पनि समाज सेवा गर्ने मान्छे समाजको मात्रै होइन विश्वकै लागि असल मान्छे हो भनेपछि म उनीसँग नजिकिन पुगेँ । त्यसमा पनि कम्युनिस्ट हुनु त अझ सुन्दर मानिस हुनु हो भन्थे । त्यसपछि त म हुन खोजेको मानिस पनि त्यस्तै नै थिएछ भन्ने लाग्यो । मेरो मनमा रहेको केही हुटहुटी यसरी मेटियो । पारिवारिक रुपमा त्यतिबेला मेरी दुई बहिनी र दुई भाइ थिए । बुबाआमासहित हामी सात सदस्यीय परिवार थियौँ ।
थप कुरा बुझ्न चासोसहितको प्रश्न गरें मैले उनलाई । त्यसपछि मेरा अनन्य मित्र ज्वालाजीले व्याख्या गरे कम्युनिस्ट शब्दको । नेपालीमा साम्यवादी विचारलाई कम्युनिस्ट भनिन्छ । समाजमा दुईओटा वर्ग हुन्छ, धनी र गरिब । त्यो मेटेर समानता ल्याउने संसारको सबैभन्दा उत्तम सिद्धान्त हो यो ।
कसरी सम्भव छ ? भनेर सोधेँ । उनले भने, किन सम्भव नहुनु । नेपालमा माओवादीले जनयुद्ध लडिरहेछ । जनयुद्ध भनेको जनताको हकहित ल्याउन लडिएको जनताकै सहभागिताको लडाइँ हो । सत्तासिनहरु यो लडाइँ समाप्त पार्न जनतामाथि आतङ्ककारीको बिल्ला लगाइरहन्छन् । जनतामाथि ज्यादती गरेर उनीहरु सत्ता जोगाउँछन् । यसको अर्थ जनतालाई लुटेर सत्तास्वार्थमा रम्नु हो । के हामी आतङ्ककारीजस्ता छौ त ? भनेर मलाई उनले प्रतिप्रश्न गरे ।
सुन्दा सबै कुरा ठिक लागेको छ । राम्रो कुरा गरिरहनुभएको छ । तसर्थ मैले छैन भनेँ । त्यसपछि फेरि कुरा गर्न थाले, हो त्यसैले सरकारले हामी जनतामाथि ठुलो खेलबाड गरिरहेछ । अधिकार दिन कन्जुस्याइँ गरेर अनेक थरी आरोप लगाइरहेछ । माओवादीले सरकारको ज्यादती सहन नसकेर अधिकार लिन विचारको बन्दुक उठाएको हो । रूकुमरोल्पामा माओवादीको नाममा थुप्रै निशस्त्र जनता मारिए सरकारका तर्फबाट । त्यसको प्रतिरक्षा गर्न बन्दुकको विरूद्ध बन्दुक उठाएर माओवादीले प्रतिरोध गरेको सात वर्षमै सरकारलाई आच्छुआच्छु बनाएको सत्य हो । जनयुद्ध सुरू हुँदा माओवादीसँग दुईओटा भरूवा बन्दुक थियो । यसरी सुरू भएको जनयुद्ध आज देशैभरि फैलिसकेको छ । बिस हजार जनमुक्ति सेना छ । दश हजारभन्दा बढी शाही सत्ताको अत्याधुनिक हातहतियार खोसेर माओवादी अझै शक्तिशाली बनेको छ । यही सन्दर्भलाई हेरेर चिनिया नेता कमरेड माओत्सेतुङको भनाइ उधृत गरे, ‘विचार सही छ भने आफूसँग नभएको हरेक चिज प्राप्त हुँदै जान्छ । गलत छ भने गुम्दै जान्छ ।’ माओवादी गलत थियो भने दुईओटा भरूवा बन्दुक हुँदा नै सिद्धिन्थ्यो । शाही सरकार गलत भएकोले उनीहरु युद्धमा पराजित भइरहेछन् । यसो भनेपछि म स्पष्ट भएँ । म पनि सामाजिक रुपान्तरणको यो विशाल युद्धमा सामेल हुन्छु भनेँ । समाज रुपान्तरणको अभियान जनयुद्धसँग यसरी प्रभावित भएँ । यसका बिछट्टैका अनुभवहरु छन् ।
यसबिच मलाई जनयुद्धमा लामबद्ध गराउने योद्धा अहिले हामीमाझ छैनन् । उनी बन्दीपुरको युद्धमैदानमा सहिद भए । उनीजस्ता थुप्रै योद्धा गुमाएर हामी भने बाँच्यौँ । त्यसमध्ये पनि उनी सानैदेखि कसैसँग हेपी नमाग्ने र कसैलाई नहेप्ने, हेप्यो भने नसहने विद्रोही थिए । प्रतिवाद गरिहाल्ने स्वभाव थियो ।
पछिल्लोपटक उनी सैन्य फाँटमा गएछन् । त्यतिखेर उनी जम्मा १५ वर्षका थिए । शारीरिक हिसाबले भने हामीभन्दा बेहत्तर सुगठित शरीर थियो उनको । एउटा युद्धमोर्चामा दुस्मनलाई ढालेर एलएमजी खोसेछन् । युद्धका बेला त्यो हतियार अत्यन्तै प्रभावकारी मानिन्थ्यो । त्यसले धेरै टाढा टाढाको दुश्मनलाई समेत ढाल्न सकिन्थ्यो । दुस्मन ढालेर यस्तो महङ्खवपूर्ण हतियार खोसी ल्याउने आँट जो कोही योद्धामा पाइँदैन । त्यसबेला उनीभन्दा सिनियर कमान्डरले हेपेर त्यो हतियार मैले ल्याएको भनेर श्रेय लिन खोजेछ । रिपोर्टिङको क्रममा उनको नाम आएनछ । कमान्डरकै आँखाअगाडि तपाईं लड्ने बेला ढुङ्गामा लुकेर मलाई समेत कभर नदिई बस्ने अनि हतियार चैँ कतिखेर लिन जानुभयो कमरेड ? भनेपछि यसरी जोखिम उठाउने योद्धा फर्मेसनमा अरु नहुन सक्छ भन्ने मूल्याङ्कन गरेर माथिल्लो सैन्य कमिटीले बेइमान कमान्डरलाई हटाएर उनलाई सेक्सन भिसीको नियुक्ति दिएछ । यसरी उनलाई सहायक कमान्डर बनाइयो ।
पछि जनमुक्ति सेनामा सँगै लड्ने मित्र कमरेडले उनका बारेमा सुनाएपछि उनको यो कथा बनेको हो । त्यसपछि सैन्य पङ्क्तिले उनलाई विश्वास गर्यो । एसल्ट ग्रुपमा रहँदा जहिल्यै फस्ट एसल्टमा पर्यो भने मात्रै युद्धमा जाने नभए विद्रोह गरेर आफै फस्ट एसल्टमा बस्ने गरेको टिमका कमान्डरहरु बताउँछन् ।
उनी र हामी यसरी छुट्यौँ । उनी सहिद बने । देशको उज्यालो तारा बनेर चम्किरहे । म अझै अन्धकारमा त्यही सहिदको बाटो पच्छ्याएर निरन्तर समाज रुपान्तरण गर्न लागिरहेछु । सक्छु कि सक्दिनँ थाहा छैन ? यो प्रश्नले मलाई चिमोटिरहन्छ । जनयुद्धमा लागेपछि २०६२ चैत अन्तिमदेखि निरन्तर कलम र विचारमार्फत पाठकमाझ समाज रुपान्तरणबारे आउन कोसिस गरिरहेछु । छापा र अनलाइन पत्रिकामा विभिन्न लेखरचन, विशेष गरेर कविता लेखेर प्रकाशित गराउँदै छु । मैले लेखेको प्रत्येक मसीको थोपो तिनै गम्भीर कुराकानी गर्ने र समाज रुपान्तरणको निम्ति अमरत्व प्राप्त गर्ने महान् सानो भाइको बलिदानले भरिभराउ छ । लेखिरहन्छु अविचलित भएर । त्यहीँ प्रेरणाको कारण म यहाँसम्म आइपुगेँ । यो सङ्घीय गणतन्त्र, संविधान निर्माण समावेशी समानुपातिक जनताको हकअधिकार तिनै मृत्युपछिका जिउँदा मानिसले स्थापित गरेका हुन् । तिनै सहिदको रगतले अमूल्य काम गरिरहेछ । यस कथाले पनि उनैको उद्देश्यमा टेवा पुर्याउने छ ।


