अञ्जना वर्मा
‘ऐ ! चुप लाग । जति खेर हेरो त्यति बेलै मुस्कुराइरहेकी हुन्छे, ठी–ठी–ठी–ठी हाँसी नै रहन्छे । न कुनै सोच, न कुनै चिन्ता । अलिकति पनि सरम छैन ?’ दीपाकी भाउजूले भनिन् ।
‘केको सरम भाउजू ? मैले के गरेकी छु र ? कुन गलत काम गरेकी छु र सरमाऊँ ?’ दीपाले भनिन् ।
‘के गरेकी छु ? मसँग सोध्छौ ? आफैलाई सोध ।’
‘के सोधूँ ? भन त ? … के ?’
‘सोध न आफैसँग ? तिमीलाई कुनै चिन्ता–फिव्रm छ ? प्रेमजी गए त गए आफ्नो जीवनबाट । तिम्रो केही बिग्रियो क्या हो ?’
‘तिमी नै जान्दछ्यौ मेरो केही बिग्रिएको छैन ? मेरो बिग्रिएन त कसको बिग्रियो ? भन ? म जुन सहिरहेकी छु, त्यो त म नै जान्दछु । आज म नै तीन तीन बच्चा लिएर पल पल ठोक्कर खान बाध्य भइरहेकी छु । उनी रहन्थे भने के म जान्थेँ अर्काको घरद्वारमा काम गर्न ?’
‘अँ… त्यसैले फेसन गरेर जान्छ्यौ काम गर्न… ।’
‘म मजबुरीमा काम गर्न जान्छु । त म के गरुँ ? घरबाट बाहिर निस्कँदा च्यातिएका कपडाहरु लगाएर निस्कूँ ? जस्तो लगाउँथेँ, त्यस्तै लगाउँछु ।’
दीपाकी भाउजू आज कुनै प्रकारले उसको दिल आफ्ना व्यङ्ग्यप्रहारले चिरिदिन चाहन्थिन् । यो सुनेर हात नचाउँदै भन्न लागिन्, ‘ला यो ! भन्छे जस्तो लगाउँथेँ, त्यस्तै लगाउँछु ! अरे… यो कुरा तिम्रो दिमागमा आउँदैन कि अब यस्तो लगाउनु हुँदैन । तिमीले… सजिनु पर्दैन । तिमीले पहिलेको जस्तो… । बुझ्दै बुझ्दिन यो त ! यदि लगाउनै चाहन्छ्यौ त लगाऊ नन्द रानी । तर अरुले तिम्रो विषयमा के भन्छन् केही खबर त लेऊ… ।’ यो भनेर सुनिता मुस्कुराउन थालिन् ।
यो सुनेर दीपालाई भक्कानो छुटेर आयो । भनिन, ‘के ? के भन्छन् तिमी नै भन न ?’
भाव बनाउँदै सुनिता भन्न थालिन्, ‘म के भनूँ ? तिमीले नै सोध्नू कसैसँग । तिम्रो विषयमा मान्छेहरु राम्रो भन्दैनन् । भन्छन् सधैँ यसरी बनिएर कहाँ जान्छे ? … के काम गर्छे ? यो सब सुनेर मेरो पनि शिर झुक्ने गर्छ ।’
अहिलेसम्म त दीपा वाकयुद्धमा मोर्चा सम्हालिरहेकी थिइन् तर यो सुन्नेबित्तिकै घाइते भइन् । रूदैँ भनिन्, ‘सधैँँ सधैँँ तिमी मलाई भनिरहन्छ्यौ । साँचो त यो हो कि तिमीलाई मैले र मेरा नानीहरुले बाँचेको सह्य हुँदैन । मैले तिम्रो के बिगारेकी छु ? अरु केही छैन भन्नलाई अनि भन्छ्यौ उनीहरु यसो भन्छन्…’
यसो भनेर दीपा डाँको छाडेर रून थालिन् । उनको रोएको आवाज चारैतिर फैलिन थाल्यो । उनले रोएको देखेर सुनिता भित्रभित्रै सन्तुष्ट भइन् र त्यहाँबाट गइन् । दीपा अबेरसम्म त्यहीँ बसेर घुँडामा टाउको राखेर रोइरहिन् ।
अब यो सधैँँको काम जस्तै भइसकेको थियो । आज फेरि सुनिताले उनलाई यसरी गाली गरेकी थिइन् । लोग्नेको स्वर्गवासपछि नै त उनले भाइको शरणमा आउनुपरेको थियो । दीपा बारम्बार पछुताउँथिन् कि उनको लोग्नेको स्वर्गवासपछि किन उनी दाजुको छेउमा आएर बसिन् ? तर यसको कुनै विकल्प पनि त उनीसँग थिएन । यो सामाजिक सोचाइले गर्दा कि कुनै पनि आइमाईको शिरमा कुनै पनि सम्बन्धको पुरूषको छाया रहनुपर्छ– उनी मुक्त थिइनन् र मुक्त हुन पनि सक्तिनथिइन् । उनी छुट्टै एउटा कोठो लिएर आफ्ना तीन नानीसँग निवास गरिरहेकी थिइन् । भलै त्यो कोठो दाजुको छेवैमा थियो तर आफ्नो खर्च उनी आफै उठाइरहेकी थिइन् । आर्थिक समस्या हल गर्ने प्रयास छ महिनासम्म गरिरहिन् । जब सफल हुन सकिनन् तब दाजुसँग कुनै नोकरीमा लगाइदिन भन्नुप¥यो । तब दाजुले साडी दोकानमा सेल्स गर्लको नोकरी खोजिदिए । अढाई हजार रूपियाँको नोकरी सुनेर दीपा यति खुसी भइन् कि उनको खुसी बोलीमा, उनको अङ्ग सञ्चालनमा र अनुहारमा झल्किन थाल्यो । दोकानमा जब काम गर्न गइन् तब सजिएका रङ्गीबिरङ्गी साडीहरु देखेर यति खुसी भइन्, त्योभन्दा अधिक उनी अधैर्य भइन् कि यस्ता सुन्दर साडीहरु उनका हुँदा हुन् । सुरू सुरूमा साडी देखाउने काम उनलाई राम्रो लाग्थ्यो । ग्राहकलाई साडी खोली खोली जति देखाउँथिन्, त्यसभन्दा बढी आफै हेर्थिन् तब उनको मनमा कतिओटा सुन्दर साडी लगाउने इच्छा झन् बढेर आयो । तर आस्ते आस्ते उनलाई थाहा लाग्यो दिनभरि साडी फिँजाउनु र मिलाउनु जस्तो पट्टाइ लाग्ने काम अरु केही हुन सक्तैन । यो नोकरीले गर्दा उनको दिनचर्या धेरै तनावपूर्ण भयो । बिहान नानीहरुलाई स्कुल पठाएर घरबाट निस्कन्थिन् । नानीहरु स्कुलबाट फर्किएर मामाको घरमा जान्थे । सुनिता उनीहरुसँग कस्तो व्यवहार गर्थिन् त्यो पनि उनलाई नानीहरुबाट थाहा लागिसकेको थियो । रातिको आठ बजे उनी दोकानबाट छुट्थिन् तब पूरा थाकेर नौ बज्दा घर पुग्थिन् । यो काममा टिक्न धेरै गाह्रो भइरहेको थियो । त्यसैले मुस्किलले केही महिना मात्रै बितेको थियो, उनले यो नोकरी छाडिदिइन् तर चार साडी कम मूल्यमा लिन भने भुलिनन् ।
अब उनको अगाडि यहीँ सवाल थियो कि के काम गरेर नानीहरुलाई पालनपोषण गर्छिन् । अब केवल घरको काम नै थियो जो उनी गर्न सक्तथिइन् र यस्का लागि उनी मानसिक रुपले आफूलाई प्रस्तुत गर्न थालेकी थिइन् । झाडुपोछा भाँडाकुँडाको काम गरेर उनी आफ्नो नजरमा दीन–हीन बन्न चाहन्नथिइन् । खाना बनाउने काम खोज्न थालेकी थिइन् । यस कामका लागि पनि उनले आफैलाई मानसिक रुपले तयार गरिसकेकी थिइन् । यो सोचेर कि सानो अभावग्रस्त गृहस्थीमा गृहस्वामिनी भएर रहने जुन गौरव थियो त्यो त अब टुट्नु नै थियो तब यो नै सही । कहाँ कहाँबाट गिरेर उनी घरमा खाना बनाउने काम गर्न तयार भइरहेकी थिइन् । आर्थिक भुमरीबाट बच्न उनीसँग अरु कुनै विकल्प थिएन । उनले आफूले चिनेजानेकालाई भन्न थालिन् कि कुनै चिनेजानेको घरमा उनका लागि यो काम खोजिदिउन् ।
आखिर एक ठाउँमा काम मिल्यो । त्यसले उनलाई केही राहत त मिल्यो तर त्यसबाट मिल्ने वेतन उनका लागि र नानीहरुका लागि पर्याप्त थिएन । त्यसैले उनी अर्को एक काम खोज्न थालेकी थिइन् । उनलाई पहिलेदेखि नै खाना बनाउनमा रूचि थियो तर जब खाना बनाउने कामले नोकरीको रुप लियो तब घरबाट निक्लँदै उनी आफ्नो मजबुरीसँग रू–ब–रू हुन थालेकी थिइन् । यति अवश्य थियो कि उनी पूरा सजिएर निस्कन्थिन् तब त्यो सोचाइ दबिने गथ्र्यो ।
सुन्दर देखिने र लगाउने ओढ्ने इच्छा बाल्यकालदेखि नै थियो उनको । सानी छँदा पर्व–त्योहारहरुमा किन्ने कपडाहरुको अधीर भएर पर्खने गर्थिन् । विवाहपछि त उनलाई लाग्यो अब सजिने सँवरने दिन आए । लोग्नेसँग किसिम किसिमका साडीहरु मगाउँथिन् । खुब सिँगारिएर आफूलाई ऐनामा हेर्थिन् र विभोर हुन्थिन् । सधैँँ मुस्कुराइरहने आदतले उनको सुन्दर रुपलाई अझ मोहक बनाइदिने गथ्र्योे । हर कुरामा लजाउने, थोरै बोल्ने र नजर झुकाएर आफ्नो बाटो हिँडने– यी सब कुराले उनी हिँडडुल गर्ने नायिकाजस्तै लाग्थिन् । बाटामा यताउता नजर पनि डराई डराई लगाउँथिन् । तीनओटा नानी भएपछि पनि अनुहारको बालापन बचि नै रहेको थियो कि यदि स्कुलको पोसाक लगाउनु हो भने उनलाई आठ कक्षाको विद्यार्थीसरह नै मानिने थियो । तर उनको लोग्नेले उनलाई छाडेर गयो र उनी छाडिइन् आफ्नो सौन्दर्य, मोहक अङ्गी–भङ्गी र सजिने सँवर्ने मोहका साथ ।
जब उनी पहिलो दिन हरिश निगमको घरमा जान निक्लेकी थिइन् तब यसरी गइन् कि कोहीसँग भेटन गइरहेकी छिन्– सस्तो सिफनको साडी र जिउमै टाँसिएको ब्लाउज लगाएर, गोडामा सुन्दर चप्पल लगाएर, नङमा चित्र बनाएर र सस्तो सौन्दर्य प्रसाधनको महक बिखेर्दै उनले हरिश निगमको कलबेल बजाइन् । मिसेज निगमले दरबाजा खोलिन् तब उनलाई माथिदेखि तलसम्म छक्क परेर हेरिरहिन् । केटी सुन्दरी पनि छे र आफ्नै प्रकारले पूरा फेसनेबल पनि । मन लाग्छ यो काममा ? हुन सक्छ दुई दिनपछि नै काम छाडेर बस्लिन् अथवा केही गर्न नआउँदो हो ? अब त जे होला हेर्नुपर्ला । उनले थाहा पाएकी थिइन् कि यो मध्यम वर्गीय खानपानकी घरकी हो र मजबुरीमा काम गर्न निक्लेकी हो । यो कुरो त उनको वेशभूषा र देहको लयबाटै झल्किरहेको थियो । साँच्चै यसलाई काम गर्न बाहिर निस्कन मुस्किल भयो होला । तर… किस्मत… के गराउँदैन ? मिसेज निगम केही पलसम्म उसलाई हेरेर सोचिरहेकी थिइन् । तर उनको सोचाइको विपरीत दीपा राम्रो काम गर्न थालिन् । खुब मन लगाएर प्यारले खाना बनाउँथिन् । सब्जीको मसला भुट्थिन् त यसरी कि त्यसको गन्ध घरको हावामा उडन थाल्थ्यो । खुर्सानी खान र लगाउन ज्यादै सिपालु थिइन्, जसले गर्दा मसलामा हालेको खुर्सानीको कडा पिरो घरका मान्छेहरुको घाँटीमा लागेर खोकी छुटाइदिन्थ्यो ।
‘अरे दीपा ! के गर्दै छ्यौ ? खुर्सानी धेर हालेउ क्या हो, कम हाल्ने गर ।’ मिसेज निगम भन्थिन् ।
त्यसो भए पनि जब उनको हातले बनाएको खाना सामुन्ने हुन्थ्यो तब सबै खाएर तृप्त हुन्थे । उनको पाककलाको प्रशंसा अनायास सबैको मुखबाट निस्कने गथ्र्योे र दीपालाई पनि यहीँ कुराले सन्तुष्टि मिल्ने गथ्र्योे । उनी मुस्कुराउँदै आउँथिन् अनि मुस्कुराउँदै निस्केर जान्थिन् ।
सुनिता घरको द्वारमा बसेर आउँदाजाँदा उनलाई हेर्ने गर्थिन् । त्यो मुस्कुराहट उनको दिलमा तीरजस्तै बिझ्ने गथ्र्योे । उनी चाहन्थिन् कि कुनै प्रकारले उनको अनुहारको मुस्कुराहट गायब भइजाओस् । उनी सधैँँ सधैँँ नयाँ नयाँ कपडा लगाउँछिन् त किन ? उनी बाहिर गुलामी गरेर पनि मुस्कुराइरहेकी छन् र उनी घरमा रानी भएर पनि नोकर्नीसरह भइरहेकी छन् । उनको दिमागमा विभिन्न प्रकारका कुटिल विचारले आकार लिन थाले । उनी किन दीपाजस्तै सजिएर सुन्दर बन्न सक्दिनन् जब कि उनको वर्ण दीपाको भन्दा राम्रो छ । दीपाको भन्दा धेरै दामी कपडा लगाएर उनको भन्दा धेर हैसियत भएर पनि, चाहेर पनि उनी त्यसरी मुस्कुराउन सक्दिनन् त किन ? उनको चारैतिर खुसी छ– लोग्ने, बच्चाहरु, घरद्वार, पैसा । दीपा लोग्ने गुमाएर आर्थिक सङ्कटको चेपारोमा परेर पनि मुस्कुराइरहन्छिन् । आखिर के जडीबुटी छ उससँग ?
यही कुरो सुनितालाई खट्किन्थो । जहिलेदेखि उनी खाना बनाउने काम गर्दै केही स्वनिर्भरशील हुँदै गइरहेकी थिइन् आफ्नो जिन्दगीबाट, सुनितालाई सहन गर्न मुस्किल हुन थालेको थियो । त्यसैले आज उनी बिहानै झगडा गर्न थालेकी थिइन् ।
रोइकराइ गरेर दीपा चुप लागिन् त देखिन् धेरै बेर भइसकेछ तब उनी काममा जान सकिनन् ।
दीपाका लागि सजिलो थिएन तीन बच्चालाई हेरचाह गर्नु र बिहानबेलुका खाना बनाउन जानु । थाकेर शरीर थिल्थिलो हुन्थ्यो । दुई पल आँखा चिम्लन पनि गाह्रो हुन्थ्यो उनलाई । बिहानै उठेर दुई बच्चालाई तयार गरेर स्कुल पठाउँथिन् एक छोरा र एक छोरीलाई । सबभन्दा सानोलाई घरमा छाडेर जानुपथ्र्योे । त्यसैले उसलाई सुनिताकोमा राख्नु उनको मजबुरी थियो । कामबाट फर्किएर सबभन्दा पहिले सानो छोरालाई लिन भाउजूको घरमा पुग्थिन् । उसलाई लिएर जब किरायाको कोठामा पाइला राख्थिन् कि ऊ शिकायत गर्न थाल्थियो, त्यहाँ उससँग के के भयो । कसैले धकेलिदियो त कसैले मुख तानिदियो अथवा यस्तै के के । सुनिता स्वयम् त्यो बाउ नभएको बच्चालाई चिढाउन पछि पर्दिन थिइन् जुन त्यो बालकले पनि बुझ्थ्यो । दीपा जान्दथिन् कि यी कुराहरु साँचा हुन् । उनलाई सधैँ यी सब सुनेर घाइते बन्नुपर्दथ्यो तर कुनै उपाय थिएन– त्यो सानो बच्चाका लागि जो स्कुल पनि जाँदैन । उनले सोचिन् कि बिहान त सुनिताकोमा राख्नै पर्छ तर बेलुका सबै बच्चालाई कोठा बाहिर खेल्नू भनेर काममा जान थालेकी थिइन् । जानुभन्दा पहिले उनी तिनीहरुलाई सम्झाउँथिन्, ‘हेर लडाइँझगडा नगर्नू । म चाँडै आउँछु र हेर अरु केही कुरो छ भने…. ।’ बाँकी शब्द उनी आफ्नो ओठभित्रै छाडिदिन्थिन् । कोठामा ताला लगाएर निस्किन्थिन् ।
अब उनलाई दुई घरमा काम मिलेको थियो । त्यसैले उनी छिटो छिटो काम सक्ने गर्दथिन् । खाना बनाउने रहर हराइसकेको थियो ! अब उनी भुल्ने गर्दथिन् कि के बनाइरहेकी छन् । कहिले मसला भुटिँदैनथ्यो त कहिले आँटा थोरै माडिन्थ्यो कहिले सब्जी पूरा पाक्दैनथ्यो त कहिले दाल झान्न बिर्सन्थिन् । अक्सर काँचो–कचिलो खाना बनाएकोमा उनले कुरा सुन्नुपर्ने हुन्थ्यो । हड्बडाउँदै घर फर्कन्थिन् ।
तर यी जलनका दिनमा पनि उनको रहर धमिलिएको थिएन । किसिम किसिमका साडीहरु त थिए नै उनीसँग । उता उनले जहिलेदेखि केटीहरुले अनारकली लगाएको देखेकी थिइन् उनको दिलमा पनि अनारकली लगाउने इच्छा जागेको थियो । आम्मै ! अनारकली के सुहाउँछ जिउमा । उनलाई याद आउँथ्यो कि प्रेमले किन भन्थ्यो, ‘हेर, साडीमा तिमी कत्ति राम्री देखिन्छ्यौ । साडी नै पहिरने गर । अनि तिमी नि ? कहिल्यै पनि अरु लुगा नलगाउनू । आइमाई त साडीमै बहुत सुन्दर देखिन्छन् । तिमी जति चाहन्छ्यौ म त्यति साडी ल्याएर दिन्छु ।’
यस्तो ऊ त्यति बेला भन्थ्यो जब नसा चढेको हुन्थ्यो । नसा उत्रिएपछि उसले कहिल्यै अरु पहिरन किनेन । यो मनमा आउँदा उनलाई एक्लै पनि हाँस उठने गथ्र्योे । दोटङ्गी.. तर अब त उनले दोटङ्गी लगाउने मन बनाइसकेकी थिइन् । उनी अनि त्यसपल्ट दिपावलीको पहिले बेतन मिल्यो तब जम्मै कपडामै खर्च गरिन् । नानीहरुका लागि लिइन् कामचलाउ । आफ्ना लागि किनेकी थिइन् गहिरो निलो रङको पारी भएको अनारकली सुट, पारीवाला दोपट्टासँग । उनले सोचिन् कि बच्चा अहिले के जान्दछन् र ? ठुला भएपछि लगाउने छन् रोजीका कपडा ।
दिपावलीको दिन नयाँ सुट लगाएर आफूलाई ऐनामा हेरिन् र आफैमा मुग्ध भइन् । महिना दिनअघि गाउँ गएकी थिइन्, त्यहीँ नक्कली पायल किनेकी थिइन् । उनले गोडामा तिनै पायल लगाइन् । पारी भएको अनारकलीको तल्तिर गोरा गोडाहरु हेरिरहेका थिए पायलमा सजिएर । उनले सोचिन्, उनका गोडा कति सुन्दर देखिएका छन् । मन लाग्छ उनलाई आफ्नै गोडालाई नै हेरिरहूँ । अनि त्यो निलो सुट कत्ति राम्रो देखिएको छ । जस्तै मयूर होस् त्यो हरियो घाँसमा कालो बादलमुनि छिरबिरे पखेटा फिँजाएर नाचिरहेको मयूर । यदि अहिले प्रेम जीवित हुन्थ्यो भने उनलाई हेरेर भन्नेथ्यो कि दोटङ्गी नलगाऊ । होइन, निश्चय खुसी हुने थियो । अचानक दुःखको एक लहर उनको मनभित्र उठ्यो अनि उनको मुस्कुराइरहेको चेहरा उदास भयो । तैपनि पूरा आत्मविश्वासका साथ आफ्ना तीनै बच्चालाई साथ लिएर बजारतर्फ लागिन् । सुनिता घरबाहिरै बसेकी थिइन् । दीपाले उनलाई हेरिन् त आफ्नो अनुहार अर्कोतर्फ फर्काइन् मानौँ उनलाई देखेकै छैनन् अनि बच्चाहरुको हात समाएर अघि बढिन् । उनी बच्चाहरुलाई पटाखा र फुलझडी देखाउन गइरहेकी थिइन् ।
बच्चाहरु आफ्ना हातमा रकेट, अनार र फुलझडीका प्याकेट लिएर फर्किरहेका थिए र आइपुग्नेबित्तिकै पटाखा र फुलझडी जलाउन लागे । दीपालाई पहिलोपल्ट यस्तो लाग्यो, आफ्नै कमाइबाट आफ्ना लागि र नानीहरुका लागि खुसी जुटाउन सकिन्छ । उनी पूरा सन्तोषसँग बच्चाहरुलाई हाँस्तै खेलेको देखेर सुखी भइरहेकी थिइन् । लोग्ने गएपछि अभाव र सङ्घर्षको ताप यी ससाना नानीहरुले पनि झेल्नुपरेको थियो । अब सबै हाँस्तै गर्दा कत्ति राम्रो लागेको थियो । उनका आँखाहरु रसाए । पटाखाको स्वर र फुलझडीको रङ्गीन चकाचौँधका बिच उनलाई प्रेमको याद आयो । कतै नानीहरुले उनलाई रूँदै गरेको नदेखुन् । यदि यस्तो भयो भने उनी यी आँसुहरुको अर्थ उनीहरुलाई बुझाउन सक्तिनन् । उनी त्यहाँबाट उठेर गइन् ।
अर्को दिन काममा जाँदा उनले अनारकली सुट लगाइन् । बाटामा हेर्नेहरुले उनलाई हेरि नै रहे । सुनिताको मनमा उनले लगाएको अनारकली कुनै सुइरोजस्तै बिझ्यो । दुईतीन दिनसम्म त चुप रहिन् र मौका छोपिरहिन् ।
त्यो दिन बेलुका दीपा कमलेशसिंहको घरमा खाना बनाउन पुगिन् । हरिश निगमको घरको काम सकेकी थिइन् । सोचेकी थिइन् कि यहाँ पनि चाँडै खाना बनाएर निस्कने छिन् तर विभिन्न व्यञ्जनको अर्डर भयो । चाँडै बनाउन थालिन् । घडीको काँटाले जब नौ बजाइदियो तब उनको दिल धडकन थाल्यो– आफ्नो लागि पनि अनि नानीहरुका लागि पनि । नानीहरु अहिले कहीँ भोकै नसुतेका होउन् । सानो छोरो र छोरी दुवै सुतिसके होलान् । जागेको छ भने ठुलो चैँ । त्यो पनि उँघ्दै आमा आउने बाटो हेर्दै थाकिसक्यो होला । बाटामा धेरै ठाउँमा बत्ती थिएन । अँध्यारो छायामुनिबाट आउँदा डरले उनको दिलको धड्कन बढ्न थाल्थ्यो । त्यो गलीमा त्यसै त मवालीहरुको कमी थिएन ।
उनी जाँदै गर्दा बाटामा एउटा अफिसको गार्ड गेटबाट बाहिर निक्लेर उनलाई निहार्न थाल्थ्यो । एक दिन त्यस्ले भनेको थियो, ‘मैडम तिमीलाई खाना बनाउन राख्न चाहन्छिन् । हिँड, भित्र बोलाइरहेकी छन् ।’
यो सुनेर उनले कुनै जवाब नदिइकन छिटो छिटो हिँडेर आएकी थिइन् । के थाहा कुनै दिन बाटो छेक्ला । मजबुर आइमाईलाई छेडछाड गर्न कति सजिलो हुन्छ ।
टेबुलमा कुनै सुरत व्यञ्जनहरु सजाएर उनी भागिन् । मूल सडकमा त उज्याला हाँस्तै गरेका बिजुलीका खम्बाहरु खडा थिए तर गलीमा त अँध्यारोको चाँदनी खनिएको थियो । त्यो उज्यालो अँध्यारोबाट हिँडेर जब उनी आफ्नो कोठाबाहिर पुगिन् र देखिन् केवल ठुलो छोरो मात्रै जागिरहेको छ बाँकी दुई दुईओटा कमलका कोपिलाजस्तै सिँढीमै निदाइरहेका थिए । उनले पटक पटक तीनैलाई चुमिन्, पहिले ठुलो चैँ लाई त्यसपछि निदाएका दुवैलाई ।
दोस्रो दिन बिहानै दाजुभाउजूको घरबाट लडाइँझगडाको आवाज सुनिन थाल्यो । सुनिता भन्दै थिइन्, ‘आखिर तिमी उनलाई किन केही भन्दैनौ ? राति दश बजे ऊ कहाँबाट घर फर्किन्छे । कुन काम गर्छे कि यत्ति राति हुने गर्छ ? अनि यत्ति लत्ताकपडा लगाउँछे तिमी देख्दैनौ ? कहाँबाट लगाउँछे यत्रो ? तिमीलाई केही थाहा छ कि छैन ? केही भन्नु जरूरी ठान्दैनौ कि क्या हो ?’
दाजुको आवाज आयो, ‘के उल्टा कुरा बोलिराखेकी ?’
‘म उल्टा बोलिरहेकी छु ? तिमी त बाहिर रहन्छौ । त्यसैले जान्दैनौ ।’
‘राम्रोसँग जान्दछु । ऊ पहिलेदेखि नै यस्तै कपडा लगाउँथी ।’
बिचैमा कुरा काटेर सुनिताले भनिन्, ‘पहिलेदेखि नै लगाउँथी त के अहिले पनि लगाउँछे ? म भन्दै छु कि उसलाई देखेर यस्तो लाग्छ कि प्रेमजी रहेनन् ? न शोक न लाज ।’
‘चुप लाग ।’ आफ्नी पत्नीलाई हकार्दै थियो दीपाको दाजु ।
सुनिता फेरि बोल्न लागिन्, ‘अरे, तिम्रो बुद्धि घाँस चर्न गएको छ । गएर सोध मान्छेहरु के भन्छन् उसका बारेमा ? हाम्रो छेउमा बसेर ऊ हाम्रो मद्धत गरिरहेकी छ । यदि उसलाई उसको चाल सुधार्नु छैन भने ऊ यहाँबाट जाओस् । कतै अन्तै गएर रहोस् । म हेर्न सक्तिनँ उसले त्यो कुबाटो हिँडेको । यदि तिमीलाई भन्नु छ भने भन नत्र म नै गएर भनिदिन्छु ।’
यो सब सुनेर दीपाको दाजु बौलाहा जस्तो भएर उसको कोठातर्फ लाग्यो । दीपा… दाजुको उग्र रुप देखेर डराइन् । उनको मुखबाट आवाज निस्किएन । उनी अपराधिनी भएर दिवारमा अडेस लागेर उभिरहिन् ।
‘दीपा… यो के हुँदै छ ? कहाँ काम गर्छेस् तँ ?’
‘दाजु, म हरिश निगम र कमलेशजीको घरमा खाना बनाउँछु । हिजो खाना बनाउँदाबनाउँदै ढिलो भयो त म के गर्नु ? हतारहतार घर फर्किएँ, त्यस बेला साढे नौ बजेको थियो ।’
‘ल, ठिक छ । तर कामको लागि जाँदा खेरि केही राम्रो तरिकाले जाने गर्नू । बुझिस् नि ? तँ चाहन्छेस् तेरो विषयमा मान्छेहरुले उल्टासिधा कुरा काटुन् ? हामी चाहन्नौँ तेरो लागि हामीलाई मान्छेले हाँसुन् । बुझिस् नि ?’
त्यसपछि दाजुले चुप लागेर ठुल्ठुला आँखाले केही क्षणसम्म हे¥यो । दीपाले केही भन्न सकिनन् । आफ्नातर्फबाट कुनै सफाइ दिन सकिनन् । आँखा रसिला भएर आए अनि उनले सिर झुकाइन् ।
दाजु जसरी गर्जिंदै आएका थिए त्यसरी नै चम्किँदै निक्लेर गए । अर्को दिनबाट दीपाले अर्कै ठाउँमा घर खोज्न सुरू गरिन् । जसको छायामा बसेर उनी आफ्ना लागि र नानीहरुका लागि केही सुरक्षा र शान्तिको आशा गरिरहेकी थिइन्, उनी नै उनको बास उजाड्न बेचैन भएको थियो त उनी किन बस्नु त्यहाँ ? अलग्गै रहेर पनि सधैँँ उनले र उनका बच्चाहरुले कुरा सुन्नु परिरहेको थियो । अब उनी टाढा जाने छिन् । चाहे त्यो कहीँ किन नहोस् ।
दीपालाई नयाँ कोठा चाँडै प्राप्त भयो । उनले दुईतीन बाकस बोकिन् अनि केही पोका बाँधिन् । ठेलामा सामान बाँधेर नयाँ कोठामा पुगिन् । यहाँ आएर जीवन धेरै तनावपूर्ण भयो । आफैलाई बिल्कुल एक्लो लाग्न थाल्यो तब छिमेकीहरुसँग मेलजोल गर्न चाहिन् । अब उनको सजिने सँवारिने उत्साह थाहा छैन, कतै हरायो ? सुनिताले यति धेरै बोलिसकेकी थिइन् कि उनका कोमल चाहनाहरु विरूद्ध अब कुनै राम्रो साडी देखियो भने अपराधबोध हुने गथ्र्योे । अब जुन साडीमा नानीहरुलाई नुहाउँथिन्, खाना बनाउँथिन्, उनीहरुलाई खुवाउँथिन्, तिनै कपडामा नानीलाई स्कुल पु¥याउन जान्थिन् र उतैबाट आफ्नो काममा । उनका मालकिनहरु अचम्म मान्थे कि किन दीपा हिजोआज यस्तो कपडामा आउने गर्छे काम गर्न ?
एक दिन कमलेशजीकी पत्नीले सोधिन्, ‘के भयो दीपा ? स्वास्थ्य त ठिकै छ नि ! ठिकठाक देखिएकी छैनौ तिमी ? बिमारी छ्यौ कि कसो ?’
‘होइन, होइन ! केही भएको छैन ।’ छोटो जवाब दिइन् दीपाले । उनको अनुहार उदास थियो ।
फेरि एक दिन मिसेज निगमले कराइन्, ‘के भयो दीपा ? यता देखिरहेकी छु केही दिनदेखि चुपचाप बसेकी छेस् र यही एउटा साडीमै आइरहेकी छेस् । के भयो ? पहिले त सधैँ साडी बदली बदली आइरहेकी थिइस् । अनारकली पनि लगाउँथिस्, तँ कत्ति राम्री देखिन्थिस् । अचानक के भयो तँलाई ?’
उनी केही बोलिन् ।
‘तिम्रा नयाँ नयाँ साडीहरु कहाँ गए ? के ती साँचेर राखेकी छेस् ?’
‘होइन काकी, म साँच्तिनँ । साँचेर के गर्नु ?’
‘त्यसो भए ? के भयो ?’
दीपाले यसको जवाब दिइनन् । चुपचाप किचनमा गइन् ।
(अञ्जना वर्मा समकालीन हिन्दी रचना परिदृश्यकी कवि, कथाकार एवम् गीतकार हुन् । यहाँका विभिन्न विधाका २१ पुस्तक प्रकाशित छन् । नीतिश्वर महाविद्यालय, मुजफ्फरपुर (बीआरए बिहार विश्वविद्यालय) की भुतपूर्व प्रोफेसर एवम् हिन्दी विभागाध्यक्ष वर्माले चौराहा पत्रिकाको सम्पादन एवम् प्रकाशन गर्नुभएको थियो । यहाँको साहित्यिक योगदानका निम्ति धेरै सम्मान र पुरस्कार प्रदान गरिएको छ । यहाँ हाल बेङ्लुरूमा निवास गर्नुहुन्छ ।)
(हिन्दीबाट नेपाली अनुवाद: वैद्यनाथ उपाध्याय)


