सर्वधन थुलुङ

डा. दामोदर पुडासैनी किशोरको उन्नाइसौँ कविता कृति मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे आद्योपान्त हेर्ने मौका पर्यो । नेपाली साहित्य भण्डारमा यो पुस्तक फरक लेखन तरिका र फरक विषय बोकेर आएकोले निकै महङ्खवपूर्ण र पठनीय छ । यस सङ्ग्रहमा १६४ पृष्ठमा ५३ थान कविताहरु छन् । डा. पुडासैनीले अमेरिका बसेर त्यहाँको परिस्थिति बुझेर लेखेका कारण कविताहरु डायस्पोरिक मात्र छैनन् अमेरिकी परिवेश, अमेरिका र विश्व सम्बन्ध, अमेरिकासँगको आकर्षण र विकर्षण सबै प्रष्टसँग बुझ्न सकिन्छ । सङ्ग्रहले ओगटेको दार्शनिक पक्ष, कविले लालित्यपूर्ण ढंगले निर्माण गरेका कविताका कारण पाठकले गहकिलो कृति पाएको महसुस गर्छन् । कृति यति गहन छ कि यसले संसारलाई नै फरक ढंगले प्रस्तुत गरेको छ यसको गहनताका बारेमा जति बयान गरे पनि कम नै हुन्छ । त्यो सबै यहाँ उतार्न सम्भव छैन ।
उनले यस सङ्ग्रहमा मान्छेहरु बिदेसिनुको पीडा, विदेश पुगेपछि सपनालाई कसरी सामना गर्छ, त्यो पूरा गर्न अमेरिका मात्र होइन संसारका व्यस्त सहरका जिन्दगीबारे चित्रण गरेका छन् । सङ्ग्रहले युद्धको कारूणिक विचलनको वृतान्त खोल्छ । विशेषतः दोस्रो विश्वयुद्ध र त्यसपछिका युद्धको झल्कोका साथै हाल मध्यपूर्वी क्षेत्रको युद्धीय विचलनले निम्त्याएका कोलाहल, भौतिक संरचना र मानवीय बितन्डाका बारेमा गहन प्रश्न समेत तेर्साएका छन् उनका कविताले ।
विश्वका शक्तिशाली हुँ भन्ने राष्ट्रले युद्धका नाममा समकक्षीदेखि निम्न ठानिने देशमाथि गर्दै आएका हैकमवादी राजनीतिक र व्यापारिक गतिविधिलाई उदाङ्गो पार्दै यस्ता स्वार्थी गतिविधिप्रति खबरदारी गरिएको छ । साथै पर्यावरणीय विचलनप्रतिको घोर भत्र्सना यिनका कवितामा लुकेका महङ्खवपूर्ण पाटा हुन् । यसबाहेक सङ्ग्रहका कविताले युरोप र अमेरिकाको व्यस्त जीवन, वर्तमानको पीडा र वैज्ञानिक चमत्कारले मानवमा ल्याएको परिवर्तनलाई अत्यन्त मिठो र मननीय ढंगले काव्यात्मक स्वादमा पस्किएका छन् ।
विदेशमा बसेर लेखिरहँदा ‘यो मन त मेरो नेपाली हो’ भन्ने गीतको पङ्क्तिले जस्तै यस सङ्ग्रहमा डायस्पोरिक भावना प्रचुर मात्रामा पाइन्छ र कविताले बसिरहेको ठाउँको, पारिवारिक मायामोहका आवेग पोख्दै कर्णाली र फोक्सुन्डोको उच्चारण गरेको छ जसले जो–जहाँ पुगे पनि देशको माया औधी रहन्छ भन्ने नै हो । यसरी देशप्रति माया पोख्दै पुडासैनीले देश र संसारले बेहोर्नुपरेका कोभिडजस्ता महामारीको झल्को पनि यसमा प्रस्तुत गरेका छन् । देशभित्रको संयन्त्र र प्रक्रियाका अनैतिक अवलम्बनका कारण राष्ट्रले बेहोर्नुपरिरहेको शरणार्थी प्रकरणको अपचलन, लाजमर्दो कार्य र किसानले समयमा रसायनिक खाद प्राप्त गर्न नसक्दा उत्पादनमा आएको ह्रास, समाजले भोग्नुपरेका मिटर ब्याजी कान्डसमेत कवितामार्फत प्रस्तुत भएका छन् ।
पुडासैनीले नियात्रा पुस्तक ग्रीष्मको नीलो बतासमा काठमाडौँ खाल्डोलाई विविध कारणले अजिङ्गरको मुख हुँदै गएको भनेका छन् । यसै गरी यस सङ्ग्रहका कवितामा पनि अमेरिकालाई माछा पालिने पिँजडा– एक्वारियम हो भनेका छन् ः
समुन्द्र खोज्दै आएका कुवाका माछाहरु
बिस्तारै जाकिएका छन् एक्वारियमभित्र
अक्सिजन बन्द गरिदिन्छ कि कसैले कुनै बेला
चिन्ताको श्वास घ्यारघ्यार चलिरहेछ ।
यस सङ्ग्रहले यति मात्र होइन देशको जनशक्ति दिनानुदिन बाहिर पठाउनुपरेको दुःखद कुराप्रति पनि चिन्ता प्रकट गरी निराकरण गर्नुपर्ने सूचना गरेको छ ।
समग्रमा, डा. पुडासैनीको यस कवितासङ्ग्रहले विश्व मानवजगत्लाई नयाँ ज्ञान र चेतना प्रसार गर्न सफल भएको छ । यसैले यो विशेष पठनीय छ । कविताका शब्द र शैली विशेष भएकाले ग्रामबेँसीतिरका सामान्य मानस पटलले भने जोत्न र दाँदे लगाउन अलिक सजिलो छैन । अन्तमा यो १९ औँ पुस्तक नेपाली साहित्य क्षेत्रको विशेष कृतिका रुपमा प्रकाशमा आएको छ । यसलाई अङ्ग्रेजी र अरु भाषामा प्रकाशित गर्न सके संसारले नेपाली भाषामा पनि यति गहकिला कृति निस्केको जानकारी पाउने थिए र यसबाट फाइदा लिन सक्ने थिए । यति गहन कवितासङ्ग्रहका लागि कवि डा. पुडासैनीलाई हार्दिक बधाई छ ।

Facebook Comments Box

Similar Posts