- डा. दामोदर पुडासैनी ‘किशोर’
नेदरल्यान्ड्स मेरो लागि सधैँ कुतूहलपूर्ण सहर थियो ।
नेदरल्यान्ड्समा समुद्र सतहमुनि घर छन्, समुद्र सतहमुनि चरा उड्छन्, समुद्र सतहमुनि आकाश छ, त्यस्तै त्यस्तै धेरै कुरा सुनेको थिएँ मैले । त्यति कुतूहलपूर्ण देशमा कहिले पुगिन्छ होला भन्ने कल्पनाले रोमाञ्चित हुन्थेँ । साइत जुर्यो । हामीले ब्रसेल्स छोड्दा पातविहीन जङ्गलमाझ कुहिरो छिर्दै थियो । हिउँ र चिसोले कठ्याङ्ग्र्रिएका रूखहरु कुहिरोले उकुसमुकुसजस्तो देखिन्थे । कैयौँ रूख बिरालाका छाउरा खेलेझैं हावा र कुहिरोसँग जिस्किँदै मस्किँदै हल्लिरहेथे ।
सडकछेउमा जतासुकै जङ्गल थियो । टाढा टाढासम्म चिटिक्क मिलेका सुन्दर बस्तीहरु थिए । बिच बिचमा हरियो गहुँले ढाकेको फाँट थियो । कतै भर्खर जोतिएका खेतबारीका विशाल र सम्म पाटाहरु बैँस खोज्ने तर्खरमा थिए ।
ब्रसेल्सबाट हेगतर्फ लाग्दा शीतल र सुरम्य दृश्यहरुको माझ मन रमाइरहेथ्यो । एउटा नदीको भँगालो भेटियो, बियानेन नदीको । त्यही नदीको नाममा बियानेन सहर उभिएको छ । बियानेन राइन नदीमा मिसिन दौडिरहेछ । युरोपमा राइन, डेन्युब र भोल्गा तीनओटा नदी प्रख्यात छन् । राइनको भँगालो फेला पर्यो । दर्शन गरेँ मैले । नदी झैं बगिरह्यौँ हामी पनि, पर परसम्म । राइन नदीको किनारमा चराहरु उडिरहेथे, चारा खोजिरहेथे ।
बियानेन नदी पार गरेको केही बेरमै बेल्जियमबाट नेदरल्यान्ड्सको रोटरड्याम पुगियो । बेल्जियमबाट नेदरल्यान्ड्स प्रवेश गर्दा जाँचबुझ भएन । बेल्जियम छाडेर नेदरल्यान्ड्स पसेको पत्तै भएन । एक देश र अर्को देश छुट्याउने कुनै साँध सिमाना छैन । सुरक्षाकर्मीको सारसुर छैन । सबैबिच समझदारी छ भने पर्खाल किन पाल्नु, साँधसिमाना र सुरक्षाकर्मीको निहुँमा बिनसित्ति किन पैसा फाल्नु ।
बेल्जियमबाट २ घण्टामा नेदरल्यान्ड्सको हेग पुग्यौँ । घाम थिएन । मलिनता छरिरहेथ्यो आकाशले । बिदाको दिन भएकोले मान्छेहरुको चहलपहल बिलकुलै थिएन । पूरै स्केफेनिङ झुसिलो बन्यो । आकाशमा उज्यालो थिएन, धरतीमा स्फूर्ति रहेन ।
न्यायको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय अदालत च्यापेर फुर्केको छ हेग । हेग पुगिसकेपछि अन्तर्राष्ट्रिय अदालतको भवन नहेरी फर्किने कुरै भएन । गयौँ । संसारमा न्यायको विजय हुने छ भनी लेखिएको एउटा सानो स्तम्भ अघिल्तिर राखेर उभिएको छ एउटा विशाल भवन । भवनको अघिल्तिर विश्वशान्तिको ज्योति अखण्ड रुपमा जलिरहेछ । विश्वका सात महादेशको प्रतिनिधित्व हुने गरी सन् १९९९ मा सात ज्वालाका रुपमा प्रज्वलित छ त्यो ज्वाला ।
नेदरल्यान्ड्स पुगेपछि समुद्री सतहभन्दा तल रहेका सहरलाई ननियाल्ने कुरै भएन । मान्छेले समुद्री सतहमुनि घरनिर्माण गरेर सहर बसाइरहेछ भनरे सुन्ने जोसुकैलाई उत्सुकता जाग्नु स्वाभाविक नै हो । बलभर्ड सहर छिचोल्दाछिचोल्दै गहिराइबाट उठ्दै गएको जमिन भेट्टियो । बिस्तारै मोडदार रुपमा सहरका घरभन्दा अग्लो बन्दै गयो सतह । अग्लाइ सकिनेबित्तिकै समुद्र देखियो । समुद्रका लहरहरु उठ्दै आए । मान्छेहरु समुद्री किनारबाट समुद्री सतहभन्दा मुनिका घरहरु नियाल्दै थिए । समुद्री सतहमा ज्वारभाटाहरु पहाड बनेर उर्लिरहेथे । बटुकोभित्रको बस्ती बनेको थियो नेदरल्यान्ड्स । आन्ध्र महासागरको सतहभन्दा १२ फिट गहिराइमा जीवन्तता छरिरहेछ सहर । नेदरल्यान्ड्स सहरभन्दा १२ फिट माथि आन्ध्र महासागर सुस्केरा हालिरहेथ्यो । मेरो मन बटुकाको बिटजस्तो जमिनको भागमा बसेर पुलिकत बन्यो । बटुकाको बाहिरपट्टि बिटसम्म नै निलो समुद्र आफ्नो सतह मिलाएर चलिरहेछ, भित्रपट्टि गहिरोमा विशाल सहरभित्र मान्छेले गरेको प्रगतिमा मिसिएर प्रकृति पनि पुलकित बनिरहेछ । चराहरु उडिरहेथे समुद्री सतहभन्दा अझ तल । मेरो मन तिनै चराहरुसँग उडिरह्यो पखेटा फिँजाएर । स्केवेनिङ्गन सहर पनि त्यसै गरी बाँचेको भेट्टियो । सम्पूर्ण नेदरल्यान्ड्स नै त्यस्तै रुपमा उभिएको छ संसारलाई नै चकित पार्दै ।
फ्रेन्च भाषामा नेदरल्यान्ड्सलाई ‘पे वा’ भन्छन् । ‘पे’ को अर्थ देश र ‘वा’ को अर्थ ‘होचो’ हो भन्ने अर्थ लगाउँदै हुनुहुन्थ्यो मार्शलजी । कुनै जमानामा हल्यान्ड नाम बोकेर बाँचेको थियो हालको नेदरल्यान्ड्स । हल्यान्डको अर्थ पनि होचो जमिन भन्ने नै हो । एउटा भनाइ भने प्रसिद्ध छ नेदरल्यान्ड्समा, ‘भगवानले डचहरुको सिर्जना गरे, डचहरुले हल्यान्डको सिर्जना गरे ।’ प्रकृतिको सुन्दर उपहारलाई मान्छेले अझ सुन्दर बनाएको नमुना खोज्दा नेदरल्यान्ड्सलाई नियाले पुग्छ ।
हेगबाट लाइडेन हुँदै नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डमतर्फ बढ्यौँ । समुद्रको छेउछाउमै बसिरहेथ्यो लाइडेन । लाइडेन सेन्ट्रल स्टेसन नामक रेलवे स्टेसनअगाडि पार्किङमा हजारौँ साइकल थिए । एक ठाउँमा कुच्चिएका टिनलाई मिलाएर अमूर्त कलाको रुप दिइएको थियो ।
हरिया गरा र जोतेर सम्याइएका सुन्दर एवम् सफा गरा तरेली परेका देखिन्थे । बिच बिचका बस्ती मखमलीका बुच्काजस्तै गुचुमुच्च फुलेका थिए । हेर्दाहेर्दै हाम्रो कार सुरूङभित्र छिर्यो । ‘माथिबाट ओर्लेको विमानले धसायो भने सुरूङभित्रको गति के होला ?’ सुरूङ्गभित्र अत्तालिनुभयो कर्णजी । सुरूङ सकिनेबित्तिकै छमछम नाचिरहेकी युवतीझैँ मुसुक्क मुस्कुरायो आम्स्टर्डम अन्तर्राष्ट्रिय विमानस्थल ।
हाम्रो र सिमसिमे पानीको प्रवेश एकैपटक भयो आम्स्टर्डममा । चिसो हावा बहादुर बनेर सबैलाई थप्पड हान्दै थियो । सडकका दुवै किनारका झैं दाँत मिलेका घरहरुले स्वागत गरे । घरछेउमा राखिएका अनगिन्ती साइकलले पनि स्वागत गरे । सडक किनारमा गाडी र पेटीमा साइकल बिसौनी भए पनि यात्रु र अन्य सवारी साधनलाई चाहिने क्षेत्रफल मौजुद थियो । सडकबिच ट्रलीबस गुडिरहेका थिए । छेउमा कुदिरहेथे असङ्ख्य साइकल । आम्स्टर्डमको केन्द्रीय भागमा फराकिला सडक, दुईतिर टम्म मिलेका घर, घरको अघिल्तिर पेटी, सडकको छेउमा पनि पेटी, पेटी र पेटीकै बिचमा जलमार्ग । सडक तथा जलमार्गमा रेल, ट्राम रिक्सा, बग्गी, ट्रलीबस, साइकल, मोटरसाइकल, डुङ्गाजस्ता सवारीका साधन आआफ्ना पङ्क्तिबाट चलिरहेका । मान्छेहरु सम्पन्न, स्वस्थ र व्यस्त छन् । डुङ्गामा चढेर गाउँदै नाच्दै सहरको मजा लुट्ने पनि कम छैनन् ।
हाम्रो गाडी नेदरल्यान्ड्सकी महारानीको दरबारनजिक ड्याम स्क्वायरमा पार्क गरेका थियौँ । दरबार नाघेपछि एउटा ठुलो बाटो पश्चिमतिर लाग्यो । एउटा चोकबाट छिरेपछि यौन पसल, यौन म्युजियम, यौन क्याफे विद्युत् लेखोटहरु थिए टोलभरि । घरका मोहडामा सिसाका साना साना कोठाहरु बनाइएका थिए । त्यसभित्र लगौँटी जत्रो पेन्टी मात्र लगाएका युवतीहरु हाउभाउ कटाक्ष प्रस्तुत गर्दै उभिरहेका थिए । विश्वका विभिन्न भागबाट यौन व्यापारका लागि आएकाहरु बसेका थिए त्यहाँ । सडकका दुईतर्फ घरहरुमा त्यस्ता यौनकर्मीहरु मुस्काइरहेका थिए ।
‘यो त झन्डै हाम्रो बानेश्वरभन्दा ठुलो पो छ त !’ जनार्दनजी भन्दै हुनुहुन्थ्यो । करिब दशपन्ध्र घरका सिसाका कोठामा अग्ला र ठुला जिउडाल परेकाहरु देखिए । देखिएका हजारौँ नगरवधुमध्ये अधिकांश बारूले कम्मर, झिनो शरीर, कमलो अनुहारमा प्रस्तुत भइरहेका थिए । मान्छेहरु मेला भर्न हिँडेझैँ देखिन्छन् ड्यामस्क्वायरवरिपरिका गल्लीहरुमा । असी-नब्बे वर्षका बुढाबुढी बिसबाइस वर्षभन्दा माथिका युवा र युवतीहरु । अठार वर्षभन्दा कम उमेरकालाई भने कडाइसाथ प्रतिबन्ध लगाइएको छ । पसलमा यौनपुस्तक, श्रव्यदृश्य सामग्री, नारीपुरूषका यौनाङ्ग शृङ्गारका सामान सजाइएझैँ देखिन्छन् । त्यस्ता अखडा थाइल्यान्डको बैङ्कक र पताया, जर्मनीको बर्लिनस्थित ओर्बर स्ट्रिटमा प्रशस्त देखिएको हो तर नेदरल्यान्ड्सको आम्स्टर्डममा झैं सिसाकोठामा ग्राहक आमन्त्रण गर्ने, नाङ्गो र वस्तुजस्तै खरीदबिक्री हुने चलन मैले अन्यत्र देखेको थिइनँ ।
मान्छेहरु नाङ्गो बनेर व्यापार चलाइरहेछन् । संसारभरका अनगिन्ती अपरिचितसँग आफन्तको अभिनय गर्नुपर्ने तीर्थस्थलजस्तो गन्तव्य भएको छ ड्यामस्क्वायर ।
नेदरल्यान्डस्का कफी पसल गाँजाजस्ता लागु पदार्थको किनबेच र सेवन समेत खुला रुपमा भइरहन्छ । ड्यामस्क्वायरको उत्तरतिर ५ मिनेट गाडीमा गुड्दा पनि गाँजाको गन्धले छाडेन । मोजमस्तीका लागि विश्वकै गन्तव्य स्थल बनेको छ नेदरल्यान्ड्स । त्यसबाट अत्यधिक राजस्व उठाइरहेछ सरकार ।
नेदरल्यान्ड्सकी महारानीको दरबारअगाडि पुग्दा एउटा विशाल चोकले स्वागत गर्यो । यहाँ पकेटमारको बिगबिगी छ । साइकलबाट हुत्तिँदै आएको लुटेराले मेरो हातको क्यामेरा खोसेर लग्यो – दरबारअघिल्तिर रहेको आम्स्टर्डम डाइमन्डसम्मुख भिडमा एउटा अधबैँसे चिच्यायो ।
‘हो, अलि पर मेरो पर्समा रहेको तीन सय युरो पनि कुन सड्को स्वाहा पारिसकेछ ।’ मसिनो हातखुट्टा भएकी अर्की युवतीले थपिन् ।
दरबार र स्तम्भबिचको चोकमा मान्छेहरु आआफ्ना क्षमताको प्रदर्शन गरिरहेथे । कतै मुकुन्डो लगाएर विभिन्न हाउभाउको प्रदर्शन र अभिनय गरेर पैसा बटुलिरहेथे । कतै गीतारको धुनमा गीत गाइरहेथे । एक ठाउँमा मुसलमान समुदायका मान्छेहरु युद्धमा मारिएकाको सम्झनामा श्रद्धाञ्जली सभा गरिरहेथे ।
विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित उच्च भूभागबाट संसारकै होचो (समुद्री सतहभन्दा १२ फिट गहिरो) देश नेदरल्यान्ड्समा पुग्न पाउँदा मेरो मनमा फूलका पत्रहरु पलाएका थिए । मैले आफ्नो कचना–कलना सम्झें ।
आम्स्टर्डमबाट ब्रसेल्स फर्कंदा आन्ध्र महासागरको भँगालो सहरभित्र पसेको फेला पर्यो । भँगालोकै पानीमाथि घरको निर्माण गरे नेदरल्यान्ड्सवासीले । पानीमाथिका घरमा जीवन बिताइरहेका छन् मान्छेहरु । जलथल दुवैको सदुपयोग गर्न चुकेका छैनन् नेदरल्यान्ड्सवासी ।
बेल्जियमको सिमानामा वाटरलुको सिरेटो तँछाडमछाड गर्दै हामीलाई छोइरहेथ्यो । सप्तरङ्गी सजिएर जिस्क्याइरहेकी थिई तरूनी ब्रसेल्सले ।