महेशराज खरेल
(कोटेश्वर, काठमाडौँ)
अपेक्षा र प्राप्तिका बिचको खाडल नै समस्या हो । सबैका चाहना भिन्नै हुन्छन् । बुझाइ पनि भिन्नै रहन्छन् । हरेकका उद्देश्यले फरक पार्छ चाहना र प्राप्तिलाई । जब मानिसका बिच सोचाइ र बुझाइमा एकत्व हुँदैन तब परिणाममा फरक आउँछ । असन्तुष्टि छाउँछ । हो त्यहीँ समस्याको खाडल खनिन्छ/देखिन्छ ।
समस्या विविध प्रकारका हुन्छन् । मानिसको सोचाइ र बुझाइको स्तरले समस्या बोध हुने गर्छ । सामान्य मानिसले आफ्ना बुझाइ वा आवश्यकतालाई केन्द्रमा राखेर सोचेको हुन्छ । अझ दैनिक गुजारा गर्न सकस परिरहेको मानिसका निमित्त आजको दिनको आहारा कसरी व्यवस्था गर्ने भन्ने हुन्छ । उसको समस्या उसले दैनिकीका लागि चाहेको चिज प्राप्त गर्न नसक्दा सुरू हुन्छ ।
अर्को सामाजिक अभियन्ता छ, उसको समस्या समाजमा हुनुपर्ने परिवर्तन वा समाज विकाससित सम्बन्धित छ । त्यो पूरा गर्ने प्रयत्नका बाटामा बाधा उत्पन्न हुँदा समस्या जन्मिन्छ ।
व्यवसायी वा उद्यमीका निमित्त देशको प्रचलित कानुन उद्योगव्यवसाय अनुकूल नहुनु र बजार क्षेत्र व्यापक नहुनु समस्या बनेर आउँछ ।
एउटा सर्जकलाई राम्रो सृजना फलाउने रहर जाग्छ । भने जस्तो सृजना फलाउन विविध बाधा देखा पर्छन् चेतनाका बारीमा, समस्या त्यहाँ उम्रिन्छ । अझ मुल्यवान् वा ओजपूर्ण पुरस्कार पाउन सकुन् आफ्ना कृतिले सर्जक एकोहोरिन्छ, अर्कैले पुरस्कार बाजी मार्छ । राजनेतालाई राजनीतिको शिरमा पुग्ने उद्देश्यले कुतकुत्याउँछ । त्यहाँ पुग्ने बाटाको आधार नपाउँदा समस्या बोध गर्छ ।
प्रतिबन्धित राजनीतिक कर्मीले देशमा राजनीतिक परिवर्तनको बाधक शक्तिका कारण समस्या महसुस गर्छ । यी सबै समस्या मानिसका चाहना, सोच र दृष्टिकोणका आधारमा अभिव्यक्त हुने गर्छन्, हुने गरेका छन् ।
मानिस समस्याबाट भाग्न सक्दैन, भागेर हिँड्दैन । भागेको भए आजको युगको यो स्तरमा मानिसको विकास हुने थिएन । यसो भनौँ यो युग चेतना नै हुने थिएन । प्राणी जगत्मा मानिस मात्र यस्तो एउटा प्राणी छ जसले सबै समस्याको समाधान खोज्छ । परिणामतः आजको मानव समाजको विकास भएको हो । अझै अगाडि जान्छ यो । नत्र ता अन्य प्राणीकै स्तरमा मानिस पनि रहन सक्थ्यो । संसार विवेक र चेतनारहित गहिरो खोचमा डुबुल्की मारिरहेको हुन्थ्यो ।
चेतना र विवेक पनि सापेक्षतामा हेरिने, बुझिने, ठहर गरिने र मुल्याङ्कित हुने गरेको पाइन्छ । संसारमा मानव विकासलाई नै हेर्ने हो भने पनि प्रकृतिमा प्राणीहरुकै लहरबाट एउटा अलि बेग्लै चेतनायुक्त प्राणीका रुपमा मानवको विकास भएको विषयमा दुई मत छैन । यसरी प्रकृतिबाट एउटै सार बोकेर विकास भएको मानव जीवनले एक र अर्काबिच जुन भिन्नता हुनुपर्ने सोच्यो त्यहीबाट समस्या सुरू भयो ।
पहिलो सन्दर्भ, प्रकृतिप्रदत्त स्रोत र साधनमाथिको नियन्त्रण प्रमुख रह्यो । जल, जमिन र जङ्गलमा आधिपत्य जमाउन मानिसबिच विभाजन भयो । कबिलाको रुप धारण गर्यो । लडाइँ भयो । जित्ने मालिक भयो । हार्ने दास भयो । यतिले पुगेन मानिसले आफूलाई थप शक्तिशाली बनाउन विभिन्न साजिस रच्यो । प्रकृतिलगायतको पूजा विधि आरम्भ गर्यो । अरुभन्दा पृथक् र शक्तिशाली बन्ने क्रममा मानिसभन्दा शक्तिशाली देवता र दानवको निर्माण गर्यो । त्यसकै आडमा आफूलाई मानवभन्दा माथिको देवता वा महामानव कहलायो । कतिपय मानिसका विवशताभित्र पसेर उसलाई कमजोर बनाई उठ्नै नसक्ने गरी खाडलमा जाकिदिने पनि मानिस नै हो ।
मानिसभन्दा उपल्लो अस्तित्व भनेको प्रकृति हो । यो विशाल रुपको ब्रह्माण्ड नै प्रकृति हो । यो दृश्य छ । अदृश्य छैन । खोज्दा प्रकृतिका सबै अंश भेटिन्छन् देखिन्छन् । नदेखिने नभेटिने कुनै अस्तित्व ब्रह्माण्डमा छैन भन्ने कुरा विज्ञानले भनिरहेको छ । समाजमा समस्या सृजना गर्ने मानिस नै हो र उसको चेतनाले जुन अलौकिक शक्तिको परिकल्पना ग¥यो, त्यसैले संसारका विविध क्षेत्रमा समस्या सृजना हुन पुगे । अलौकिक शक्तिको सामान्य परिभाषा शक्तिशाली, अदृश्य कहीँकतै पनि हुन सक्ने, रहन सक्ने, आउन सक्ने र आफ्नो आराधना गर्नेलाई फलिफाप गरिदिने, नगर्नेलाई दुःख दिने वा समाप्तै पारिदिने कुनै दैविक शक्तिको प्रचारप्रसार वा प्रस्तावनाले मानिसको मानसिकतालाई कज्यायो । त्यस्तो एउटा कल्पना गरेर जब मानिसले मानिसलाई कमजोर बनाउन सफल भयो । समस्याको जड त्यहीबाट बीजारोपण भयो ।
निरूक्तकार याक्सको भनाइमा ‘देवताओैँ के उत्पति आत्मा से ही मानी गयी है ।’ उनको भनाइले पनि मानिसभन्दा ठुलो शक्ति प्रकृतिबाहेक अरु केही होइन भन्छ । अरु शक्तिका नाममा जति जे छन् ती सबै मानव निर्मित हुन् ।
मानव निर्मित देवता र दानवलाई सङ्घर्ष गराएर देवतालाई विजय गराउनु भनेको एक प्रकारले सामाजिक नैतिकताको विजय गराएर समाजलाई नैतिकवान् बनाउने प्रयत्न गरेको भए पनि त्यस कार्यका निमित्त त्यो मात्र विकल्प भने होइन । यस्ता अदृश्य वा अलौकिक शक्तिको मनोगत निर्माण र वस्तुगत कार्यान्वयनले संसार जुन गतिमा अगाडि जानुपथ्र्यो त्यता नगएर अर्को बाटो हिँड्नु भनेको विकासमा अवरोध गर्नु हो । यही नै मानव जीवनभित्र डरलाग्दो समस्या जन्मिनु हो ।
भनिन्छ, पूर्वीय समाज एक वैज्ञानिक उपज हो । तत् समयमा जुन स्तरको खोज अनुसन्धान भयो वा हुन सक्यो त्यही स्तरको विज्ञानसम्मत परिणाम पनि आएकै हो । कालक्रममा मानिसले उल्टो बाटो हिँड्यो र अलौकिक कल्पना गर्न थाल्यो । यिनै अलौकिक शक्तिको आडमा एउटा कालखण्डमा मानिसको एउटा खास समूह शक्तिशाली बन्न पुग्यो । त्यही शक्ति प्रयोगले वैज्ञानिक खोज अनुसन्धानमा रोकावट आयो र मानिसको चेतनालाई जन्तरमन्तरमा बलपूर्वक रुपान्तरण गरिदियो । परिणामतः अलौकिक आदर्शको जन्म हुन पुग्यो । यस आदर्शले प्रमाणित रुप धारण गरेन अर्थात् वैज्ञानिक परीक्षणमा त्यो खरो उत्रिन सकेन । यसर्थ त्यो भजन गाउने वा मनोशान्तिका निमित्त अलमल गर्ने विषय मात्र बन्यो । यसले आजको भौतिकवादी जीवनमा प्रतिस्पर्धा र योग्यतामार्फत श्रेष्ठता हासिल गरेर अगाडि बढ्ने कुरालाई भगवान् भरोसामा बिसाइदियो । परिणामतः समस्याको गहिरो खाडल खनियो । यही समस्या निवारण खातिर भौतिकवादले जन्म लियो । भौतिक दृष्टिकोण राख्नेहरु आज विश्वमा नेतृत्व तहमा पुगेका छन् । यसरी पछिल्लो समयमा उत्पत्ति वा विकास भएर नेतृत्वमा पुग्नु भनेको भौतिक वस्तुको उपज र उपयोगिता नै हो । मानिसका खाद्य पदार्थ विविधताको खोजसँगै मानिसका चाहना मुताबिक विविध वस्तु उत्पादन र वितरणमा आमूल परिवर्तन गरेर मानिसलाई विगतभन्दा वर्तमान सरल र सहज बनाउन सक्यो । प्रविधिको विकासले अबको मानिस पछाडि फर्कन सक्दैन । अगाडि बढ्न कोरा कल्पनासित होइन वस्तुगत परिणामसित जुधेर अगाडि बढ्नुपर्छ । त्यो वर्तमानमा व्याख्या गरिएको अध्यात्मबाट होइन भौतिकताबाट मात्र सम्भव हुन्छ । अध्यात्मले जति ठुला चटके कुरा गरे पनि सियो समेत चटक गरेर उत्पादन गर्न सकेन । भौतिक उत्पादन भनेको सियोदेखि रकेटसम्म अझ भनौँ विश्व ब्रह्माण्ड पहिचान परीक्षण गर्ने स्तरका अस्त्र निर्माण गर्न सफल भयो । हुन त वेद पूर्वीय उपज हो । पछिल्लो समयमा वेदमा वर्णित खास खास सूत्रको सही पहिचान र प्रयोग हुन नसक्नु वा नगर्नु वा वेदका उल्लेखित आधारभूत विज्ञान सम्मत प्रावधानलाई जन्तरमन्तरमा रुपान्तरण गर्नुले वेदका विज्ञान सम्मत प्रावधान र सूत्रलाई प्रयोग वा उपयोग गर्न नसक्नु पूर्वको दोष ठानिन्छ ।
नवीन सोच र दृष्टिकोणको विकास एवम् यसकै उपयोग वा प्रयोगले आज पश्चिम विश्वको अगुवा हुन सकेको छ । यही नै पूर्वीय वा अध्यात्म दृष्टिकोण हार्नुको कारण हो भनिन्छ ।
समस्या जुनसुकै विषय र क्षेत्रमा पनि हुने गर्छ । चाहे अध्यात्म होस् वा भौतिक । तिनको समाधान गर्नु अग्रगमन हो । समस्यामा अलमलिनु वा अझ समाधानको विपरीत पाइला चाल्नु भनेको विकासका दृष्टिले प्रतिगमन हो । आज हामी पूर्वीय दृष्टिकोण वा भनौँ अध्यात्मका सही मूल्य र मान्यता भाँचभुच पारेर बिरुप बनाएर काँधमा बोकेर हिँड्दा विकासको उल्टो स्थानमा पुग्छौँ भन्ने सोच्न ढिलो भइसकेको तथ्य हाम्रा सामु छ ।
कुरा समस्या पहिचान र समाधानको हो । केही पक्षका समस्या उत्पन्न हुनाका कारण उल्लेख भएपछि अब समाधान के हो भन्ने प्रश्न उठ्छ । मुख्य कुरा समस्या पहिचान वा निदान हुनु हो । कुनै पनि रोगको निदान भएपछि उपचार र ओैषधीका विषय खोज अनुसन्धानभित्र पर्छन् ।
यसरी खोज अनुसन्धान गर्दा खोजिने वा सोधिने विषय भनेको सम्बन्धित विषयको १. उत्पत्ति, २. विकास, ३. देखा परेका समस्या, ४. ती समस्या समाधान गर्न अपनाइएका विविध पक्ष, ५. प्राप्त परिणाम, ६. समाधान हुन नसक्नुका कारणको पहिचान, ७. ती समस्या समाधान गर्न चाल्नुपर्ने थप उपाय, ८. कार्यान्वयन र ९. मूल्याङ्कन ।
यसरी नै हरेक विषयको समस्या पहिचान गरेर समाधान खोज्नुपर्ने हुन्छ ।
आज संसारमा विविध विषयवस्तुलाई हेर्ने पर्गेल्ने र तिनमा उत्पन्न समस्या समाधान गर्ने कार्य परिणामकै कारण संसार उकालो हिँडेको कुरामा विमति हुनुपर्ने ठाउँ छैन । अलौकिक शक्ति र मान्यताभित्र माथि उल्लेखित बुँदागत अवधारणाले स्थान ग्रहण गर्न सक्दैन । यसर्थ त्यहाँ उत्पन्न समस्याको निकास छैन र हुँदैन पनि । जुन चिजको खोज अनुसन्धानबाट निदान निस्किँदैन र समस्या समाधानको विकल्प तयार हुन्न त्यस चिजको मानवजीवनलाई जरूरत हुँदैन । यसर्थ मानिसले आफ्नो चेतना पहुँचले जेजस्तो अवधारणा बनाउँछ त्यो उसको बुझाइ स्तर हो । सबै मानिसको बुझाइ स्तर फरक परेकै कारण समस्या देखिने हुन् । तिनको उपयुक्त ढंगले पहिचान गरेर समाधान खोज्नु समस्या समाधान हो ।


