हेमचन्द्र पोखरेल
ए मेरी रानी मायाकी खानी नगर बिलौना
भन्दछु सच्चा जिन्दगी कच्चा माटाको खिलौना
आखिरी बेला रोगको फेला सबैले पर्नु छ
भोगेर कष्ट यो चोला नष्ट भएर मर्नु छ
खाइन्छ आज भरेर पेट भोलि ता उस्तै छ
बाँचौँ न जत्ति हुँदैन तृप्ति संसार यस्तै छ
सुनौला दिन साथमा मेरो सुखले बितायौ
जीवनभरि तिमीले मेरो असलै चितायौ
पाँचोटा पूmल तिम्रो र मेरो जीवन बोटमा
फुलेका राम्रो मोहनी भर्छन् कलिलो ओठमा
वैलेर जाला इनको राम्रो उज्यालो मुहार
फुटेर जाला जीवन ज्योती कुँदेको जुहार
आपत्ति पर्दा मानिस ठूलो डरले तर्सिन्छ
आज र भोलि गरेर तर त्यो दुःख बिर्सन्छ
रोएर के र आँसूको धार त्यो छाती चिर्दैन
जिन्दगीभरि रोएर पनि गएको फिर्दैन
ए मेरी प्यारी ! सुतौली जब कोठामा रातमा
त्यो मेरो आँसू चुहेको तप्तप् सुनौली पातमा
हेरौली जब बसेर तिमी त्यो ठूलो ढुङ्गामा
म हाँसी दिउँला तिमीलाई हेरी पूmलको थुँगामा
रातमा जब परेवा घुर्लान् निदायो भन्नु है
हावाले पात फर्फर गर्दा बिउँझेछ भन्नु है
तिमी खाँदा म पनि झीँगो भएर आउँला
मारेर बात दाल र भात सँगसँगै खाउँला
त्यो तिम्रो पोते इन्द्रेनीलाई म राख्न दिउँला
आउनु माथि भेटेर फेरि लगाइदिउँला
बिहानी पख पूर्वको लाली बटुली राखौंँला
सिउँदोमा सिन्दूर छर्नलाई फेरि तिमीलाई डाकौँला
पोसाक तिम्रो बगैँचाभित्र पूmलले रंगाऊ
झल्किने चुरा बिजुलीसित मागेर लगाऊ
कपाल तिम्रो रातले लग्यो म मागिदिने छू
पाइनँ भने बादलसँगै सापट लिने छू
ए मेरी हीरा ! सिँगारी फेरि धपक्क पारौँला
स्वर्गमा पनि अघिझैँ गरी आनन्द गरौँला
रातमा तारा चम्केको हो, त्यो मै हूँ चम्कने
वर्षाको बादल चढेर हात्ती त्यो मै हूँ लम्कने
बिहानको त्यो सिर्सिरे हावा म सास फेर्ने छु
जुनेली रात कोठामा पसी तिमीलाई हेर्ने छु
तिमीले रानी ! नदेखे पनि म देखिरहूँला
हृदयभित्र अघिको भन्दा नगीचै रहूँला ।
(वर्णविन्यासलाई यथावत् प्रस्तुत गरिएको छ ।)
Facebook Comments Box


