सागर फुयाल
(बर्लिन, जर्मनी)
मेरो आँसुमा रमाउन चाहन्छौ तिमी
किन हाँसेर व्यर्थै रूवाऊँ तिमीलाई ?
म हार्दा आफ्नो जित मान्छौ तिमी
किन जितेर व्यर्थै हराऊँ तिमीलाई ?
मलाई लाग्छ तिमी मेरो पहिचान हौ
तिमी मेरो आरम्भ तिमी नै विराम हौ
यो मनमा आखिर तिमी नै भएपछि
किन सोधेर व्यर्थै सताऊँ तिमीलाई ?
मलाई लाग्छ मैले दुनियाँलाई बुझेँ
तिमीलाई बुझेँ मेरो जीवनलाई बुझेँ
सबै पाहुना बनी बसेको यो जगमा
किन रमेर व्यर्थै दुखाऊँ तिमीलाई ?