• विश्व सिग्देल

कालो छालाको निलाम्मे गहिराइमा
डुबुल्की लगाउँदै
जेठको घाम
के सोध्छ
बुझ्छौ सन्तमान ?

बयरको झ्याङ
पलमै झुल्किने-डुब्ने भविष्य
भुँडीमा त्रासद वर्तमान बोकेर
कसरी चिप्लिन्छन् माछा
वारि तिर र पारि घाट

रेखाविहीन हत्केलामा मुक आवाजहरु
पाषाणलाई बाध्य पार्छन् बिउँझन
अझै सुतेका छौ तिमी
छाम
बहनाको बिँडमा दुरूस्त छन्
एक एक हिसाब–किताब
जसले सारेथे रेखाहरु
प्रत्येक यात्रुका ललाटमा

सन्तमान
डुङ्गा मात्र चिप्लिँदैन बहनाको लेउमा
वर्ण, शब्द र सिङ्गो वाक्य
वाक्यसँगै एक थुन्से सपनाहरु
एक सिसी रक्सी, एउटा रातो भाले
अर्धाङ्गिनीको पछि लाग्दालाग्दै
चिप्लिन सक्छ
होस राख है

पानीमा तिम्रो सपना
पोखिएर के ?
कोही मान्दैनन् तिम्रो नीरले
निलो भयो नदी
विधिले ठड्याएको आकाश
र आकाशको निलो गहिराइ
त्यसैको प्रतिविम्ब मान्छन्
नदी–निलो

तिम्रो कालो नानीभित्रको
निलाम्मे आकाश
र निलो आकाशभित्रको कालोपन
फरक छुट्याउने को ?

सन्तमान
विधिले ठ्डयाएको आकाश नच्यातेसम्म
तिम्रो निधार पानीमा टल्कन्छ भन्ने
अझै शङ्कै छ मलाई त !

Facebook Comments Box

Similar Posts