शेखरकुमार श्रेष्ठ
(दक्षिणकाली)
पर्यटन समृद्धि आर्थिक वृद्धि
नारा लागिरहेको थियो
ऊ भने छिनोले ट्वाक्ट्वाक
ढुङ्गामा हिर्काउँदै थियो
‘पर्यटक भित्र्याउन सडक चाहिन्छ
सडकले गाडी माग्छ
टावर चाहिन्छ
भिउ हेर्छन्
मानिस आउँछन्
होटल चल्छ
काम पाइन्छ’
जोरजुलुम भाषण चल्यो
प्याटाटा प्याटाटा ताली बज्यो
उसले भिडतिर हेर्यो
भाषकलाई चिनेन
उसले ढुङ्गामा छिनो लायो
भाषक बोल्दै थियो
‘नगरमा सालिक ठड्याउनुपर्छ’
उसले शिर कुँद्यो
ऊ मुस्कुरायो
भाषकले अझ बोल्यो
‘स्थानीय सिप प्रवर्धन गर्नुपर्छ
जग्गा बाँझो राख्न पाइँदैन
घर बनाउनुपर्छ
पहाड जोड्ने पुल बनाउनुपर्छ’
उसको छिनो फेरि नाच्यो
ऊ खितिति हाँस्यो
भाषक भन्दै थियो
‘अर्थ आर्जनको अभियान
पर्यटन हाम्रो स्वाभिमान’
सबैले फेरि ताली ठटाए
उसले मूर्तिमा आकृति हेर्यो
‘मेरै अनुहारमा बनेछ
श्रम खेर गयो’
उसले मूर्ति माटोभित्र गाड्यो
अरु ताली पिट्दै थिए
ऊ गाडेको मूर्तिमाथि ढल्यो
केही दिन/महिना/वर्षपछि
ऊ मरेकै ठाउँको समाचार बन्यो
समाधिस्थल
पर्यटकीय गन्तव्य बन्यो ।


