निशेष आङ्देम्बे
बेसारले घाम तापेछ
बेसारको रङ घाममा पोतियो ।
घाम पहेँलै भयो
घामलाई हेरेर
बाटोलाई हेरेँ
बाटो पहेँलो भयो ।
आमाले बाँध्ने पटुका हेरेँ
शिरमाथि सिउरिने शिरफूल हेरेँ
बाले नुन साट्न ढाकरमा बोकेको सुन्तला सम्झेँ,
फुपूहरुले ओढ्ने बर्काेहरुलाई सम्झेँ,
मधुरो बेसार र माटोको
रङ लागेजस्तै ।
आगो हेरेँ
इन्द्रेणी हेरेँ
ज्वालामुखी हेरेँ
कुवामा आफ्नो अनुहार हेरेँ
ढुङ्गे ओडार झैँ थेप्चो नाकमुनि
पहंँला चेप्टा चेप्टा दाँतहरु देखेँ
बोटसँग छुटिएर
भुइँमा झरेका पातहरु देखेँ
बेसारे रङहरुमा ।
फनक्क फर्किएर
सूर्यतिर
ढकमक्क फुलेको
सूर्यमुखी फूल देखेँ
धुजाधुजा च्यातेर
मालामा उनेको
सयपत्री देखेँ
उही बेसारे रङले
पोतिएका रहेछन् ।
माथि चीनमा
‘ह्वाङ हे/येल्लो रिभर’ नदीलाई हेर्छु
खेतभरि झुलेका धानका बाला हेर्छु
पहेँलै बेसारले रङ्ग्याएको देख्छु ।
घाम कलिलो हुँदा
घाम छिप्पिँदा
घाम अस्ताउने बेला डाँडामाथि पुग्दा
फरक फरक बेसारे रङमा देख्छु ।
भोलिको बिहानीसँगै
यी सबै बेसारे रङ्हरु
एउटै रङमा परिणत भए ?
अहिले म यो बेसारलाई
जमिनमुनि टेकेर उभिएको छु ।
जस्तो कि
एक सैनिक
भयानक विष्फोटक पदार्थ
टेकेर उभिरहेछ ।
(nisheshangdembe@gmail.com)
(याक्थुङ (लिम्बु) भाषाबाट अनुवादित)


