रामगोपाल आशुतोष
(भक्तपुर)
आठ ठाउँमा उभिन्छ पृथ्वी
र आकाशको उचाइ नाप्छ ।
हिमालहरु
चट्टानको बोझ होइनन्,
साहस र मौनताका
सेता विश्वविद्यालय हुन् ।
जहाँ
आफैलाई जित्ने
धैर्यको परीक्षा दिने मान्छे पुग्छन्
र, सफलताको सेल्फी खिचेर फर्कन्छन् ।
सबैभन्दा होचो उपत्यका घुम्न
आँखा मिच्दै
सखारै आइपुग्छ– घाम
र, उच्च स्थानको ताललाई
ऐना बनाएर
हेर्छ आफ्नै अनुहार– हिमालले ।
सेफोक्सुन्डो, च्छोरोल्पा
आफ्नै जोखिम जोखिमपूर्ण स्वभाव हेर्दै
निलो आँखाको
गहिरा तालझैँ टोलाइरहन्छन् ।
लामा नदीहरु
हजारौँ वर्षको लामो कथा बोकेर
समयसित वेग मागेर दौडिरहन्छन् ।
यहाँका ढुङ्गाले इतिहास सुनाउँछन्
मन्दिर, महल, दरबार र बस्तीहरु
कला देखाउँछन्,
यहीँको हो पहिलो गुञ्जन
नमो तस्स भगवती अरहतो सम्मा सम्बुद्धस्स ।
बुद्धको बोली,
शान्तिको गुञ्जन–नारा होइन,
जीवन पद्धति हो ।
धर्मको यात्रा
अहिंसाको पुकार– विभाजन होइन,
विश्वबान्धव हो ।
यो केवल दृश्य होइन
आनन्दको आभास
प्रेम, शान्ति र अहिंसाको देश हो ।
प्रकृति, संस्कृति, इतिहास र सभ्यताले
संस्कारको न्यानो
सत्कार, सुरक्षा र संरक्षण सुनिश्चित गर्छ ।
जोखिम यात्रा
दृश्यावलोकन
तपस्या गर्ने पर्वत
हिँड्दै पुग्ने हिमाल
प्याराग्लाइडिङ
बन्जी जम्पिङ
आउने अतिथिहरुले
मात्र फोटो खिच्दैनन्,
थोरै प्रेम, थोरै विनम्रता
र, अथाह सम्झना
हृदयको क्यामरामा पोको पारेर फर्किन्छन् ।


