विष्णुविभु घिमिरे
मानिस मानिससँग बाँचेर
मानिस हुँदैन
कल्पनाको आकाश छुन
चराहरुसँग बाँच्नुपर्छ
साहस र स्वाभिमानको जीवन बाँच्न
बाघहरुसँग सिक्नुपर्छ ।
…
उन्मुक्त खुसी बाँड्न
मयूरहरुको नाचबाट सिक्नुपर्छ
आफ्नो लक्ष्यलाई निरन्तर गाँस्न
हात्तीजस्तै निरन्तर लम्किरहन सक्नुपर्छ
यसरी एउटा सफल मान्छे हुन
यसरी एउटा सफल मान्छे बाँच्न
निकुञ्जसँग सधैँ सधैँ सिक्नुपर्छ
…
जङ्गललाई त्यसै मङ्गल भनेको होइन
टाढा बस्यौ भने
तिमी सजिलै सास फेर्न सक्दैनौ
विनाश गर्यौ भने
तिमी राम्ररी पानी पिउन पाउँदैनौ ।
…
फूलहरु सुन्दर हुन्छन्
तिमीलाई थाहा छ
ती जङ्गलमै फुल्छन्
ती फूलका
असङ्ख्य रङ र बास्नाहरुबाटै
तिमी आफ्ना मनभरि भरि
सुन्दर भावना जन्माउन सक्छौ
एकपटक पाएको यो अनमोल जुनीलाई
प्रकृतिको सुन्दर उपहार बनाउन सक्छौ ।
…
यी रूखहरु जोगाइराख्यौ भने
तिम्रा आफ्ना सन्तान र दरसन्तान जोगाइराख्ने छौ
तिमी युग युगसम्म
माया लहलह बनाइराख्ने छौ
यसरी तिमी
युग युगसम्म नओइलाई
हरियो हरियो बाँचिरहन सक्छौ ।


