त्रिविक्रम पाण्डे
(दोलखा, कालिन्चोक ७, सुनखानी, सित्का)
अनेकौँ आँखासँग यहाँ दुईचार हुनुपर्छ
नारीले बाँचुन्जेल कठै अखबार हुनुपर्छ ।
आमा, दिदी, बहिनी, श्रीमती, छोरी सबै नारी
उही मुहार फरक भूमिका कलाकार हुनुपर्छ ।
आराम आनन्द प्राप्तिका लागि कुनै पनि
नारीले ओछ्यानै पर्ने गरी बिमार हुनुपर्छ ।
बाटोमा मिल्किएको ढुङ्गाले झैँ बारम्बार
नारीले ठेस ठक्कर सहन तयार हुनुपर्छ ।
मुख मौन तर आयु उमेर निरन्तर बोल्छ
हर नारीले भन लौ कति जिम्मेवार हुनुपर्छ ?