वीर उदास तामाङ
(लोखिम, सोलुखुम्बु)

१.
नवजीवन उदाउने घाम लिई आउँछु आमा
कल्पनाको सम्मान गर्ने नाम लिई आउँछु आमा
तिमी नबस्नू नि आँसु झारी दुनियाँसामु
तिम्रा आँसु पुछी हर्ष छर्ने याम लिई आउँछु आमा ।

२.
धेरै चिसो बढ्यो हिमाली लेकमा आमा
कसरी बसाइँ सर्ने तराई भेकमा आमा
मुटु छुने चिसो हावा अनि सिरेटो आउँदा,
कसरी कटाउनु एक सारो छेकमा आमा ।

३.
पिएर आँसुका थोपा कहाँ प्यास मेटिन्छ र आमा
हिँड्दा दुनियाँ पाइलामेट्छन कहाँ लक्ष्य भेटिन्छ र आमा
मरिँदै जिउँदै छु निकै आजभोलि तस्बिर सिरानीमा
लुकेका अतीतका ती यादविना मुटु कहाँ रेटिन्छ र आमा ।

४.
अलिकति पिएर आउँछु नि माया
फाटेको मन सिएर आउछु नि माया
दुनियाँले जेसुकै सोचुन् तिमी छौ
मनमा माया लिएर आउँछु नि माया ।

५.
हिँड्दाहिँड्दै जीवनको सुर सबै सकियो
पाल्दापाल्दै रोग लागेर सँुगुर बङ्गुर सबै सकियो
यो मातृभूमिको ऋणले गर्दा जीवन आज
लिलाम भयो पसिना माटो दस्तुर सबै सकियो ।

६.
मेरो लासलाई कात्रोले बेरिएको बेला के गर्छिन् आमा
वरिपरि आफन्तले लास घेरिएको बेला के गर्छिन् आमा
कति भावविह्वल होला हात समातेर रूली,
मेरो मुहारले अर्कै रुप फेरिएको बेला के गर्छिन् आमा ।

Facebook Comments Box

Similar Posts