• दीनानाथ पोख्रेल

छन्द: वातोर्मी
गण:  म. भ. त. गु. गु.

मान्नै पर्ने धरती दिव्य ईश ।
त्याग्दा वास्ता बह बढ्छन्, प्रशस्त ।।
आफै जागौँ पथ सत्कर्म बन्छ ।
हामी लागौँ बलियो देश बन्छ ।।०१।।

बन्छन् अग्ला मनका कर्म पाटा ।
लुक्छन् दुर्छे दिलका दुष्ट खाटा ।।
गाऊँ गाना कृतका विश्व भन्छ ।
हामी लागौँ बलियो देश बन्छ ।।०२।।

ऊर्जा आफ्नै दिलका टिप्न जानूँ ।
फल्छन् मोती मनका नित्य ठानूँ ।।
लेखूँ नौलो श्रम यो चेत भन्छ ।
हामी लागौँ बलियो देश बन्छ ।।०३।।

दुर्छे जाली मनको दोष फालूँ ।
मैत्री टिप्दै सुखको दीप बालूँ ।।
मान्छे उठ्दै धनको चाङ गन्छ ।
हामी लागौँ बलियो देश बन्छ ।।०४।।

जुम्से आलस्य उठाएर फालूँ ।
कर्मी बन्ने पथमा पाद चालूँ ।।
आफू लागे मनले मार्ग खन्छ ।
हामी लागौँ बलियो देश बन्छ ।।०५।।

खाना नाना श्रमले नै जुटाऊँ ।
आशा फल्ने दिल अग्लो बनाऊँ ।।
खुल्दा बाटो मन उत्साह लिन्छ ।
हामी लागौँ बलियो देश बन्छ ।।०६।।

हेरुँ अग्ला गिरि छन् माथि डाक्छन् ।
उठ्दै लम्के मनले सौख्य ताक्छन् ।
बाँचून् आशा नरको चेत भन्छ ।
हामी लागौँ बलियो देश बन्छ ।।०७।।

Facebook Comments Box

Similar Posts