- प्रोल्लास सिन्धुलीय
यो नियमित प्रक्रिया हो
जब जब
खुकुरीको लाज छोप्न असक्षम हुन्छन् दापहरु
खड्गबहादुर भुजेलहरु
आफ्नो कपडाको टुक्राले बेर्छन्
र, भान्साघरको पालीमा घुसार्छन् खुकुरी ।
खड्गबहादुर भुजेलहरु फलाम उत्पादन गर्छन्
फलाम फलामलाई खुकुरी खुकुरी बनाउँछन्
जब खुकुरी तयार हुन्छ
खुकुरीसँगै तर्सिएर
हत्तपत्त
खड्गबहादुर भुजेलहरु आत्मसमर्पण गर्छन् ।
खड्गबहादुर भुजेलहरु
आफ्नो हाडलाई रेती बनाउँछन्
र, सोझ्याउन थाल्छन् खुकुरीका धारहरु
जति जति
चम्किँदै जान्छ खुकुरी
उति उति
खिइँदै जान्छन्
खड्गबहादुर भुजेलका हाडहरु
खड्गबहादुर भुजेलका हाडहरुमा
खुकुरीका खियाहरु सर्छन्
अनि, रजाइँ गर्छन् ।
खड्गबहादुर भुजेलहरु अचानो बन्छन्
जब जब
भान्साघरमा मासु भित्रिन्छ,
आफ्ना ढाड प्रयोग गर्न
अनुमति दिन्छन् उनीहरु
मासु काट्ने निहुँमा यदाकदा
खड्गबहादुर भुजेलहरु स्वयम् काटिन्छन् ।
खड्गबहादुर भुजेलहरु आफ्नो जात बिर्सन्छन्
आफ्नो धर्म बिर्सन्छन्
आफ्नो स्वाभिमान बिर्सन्छन्
काम सकिएपछि
अर्को कार्य नहुन्जेलसम्मका लागि
खड्गबहादुर भुजेलहरुलाई
भान्साघरको कुनामा थन्क्याइन्छ
भान्साघरभित्र थन्कँदा
खड्गबहादुर भुजेलहरु
‘मेरो पियारो ओखलढुङ्गा’ समेत बिर्सन्छन् ।
यो नियमित प्रक्रिया हो
खुकुरीसँग आतङ्कित खड्गबहादुर भुजेलहरु
खुकुरी चलाउन
खड्गबहादुर भुजेलहरुकै
हात चाहिने कुरासमेत बिर्सन्छन् ।
(ओखलढुङ्गेली दरबारिया सैनिक खड्गबहादुरले सङ्गीतकार प्रवीण गुरूङको हत्याअभियोग सकारेपछि)


