प्रकाश सापकोटा
(कोपन्हेगन, डेनमार्क)

खुम्बूको गालाबाट
इम्जाखोला ओर्लिएको
सगरमाथाको आँसु
दुधकोसीमा नमिसिउन्जेल
निरूपाय हेरिरहन्छ– फोर्चे !

पछ्याइरहन आँखाले भ्याउँदैन
उकालो आएको लाहुरेले खबर ल्याउँदैन
कहाँ पुग्यो होला त्यो ?
रोकिन्छ होला कहाँ पुगेर ?

त्यो हरायो – त्यो बिलायो
अस्तित्व सायद गङ्गामा मिलायो
या जमुनालाई दिलायो
आँसुको भेल जसरी
रोकिँदैन रहेछ नदीको गति
सागरमा नमिलेसम्म –
थाह पाएर टल्किए
मधुरो टुकीमा टिलपिल–टिलपिल
अलिनो हृदयका मलिनो आँखा
निर्विकल्प टोहोलायो– फोर्चे !

‘नामास्ठे !’
को रहेछ दुई हात जोडेर
ठिङ्ग उभिएको नौलो मान्छे ?
समुद्रको देशबाट आएको रे –
सगरमाथाको पाउ छुन !
होला पनि … गोरो छ …
समुद्रको पानीले नुहाएरै त होला
जहाँ मिसिएको छ
सगरमाथाको सेतो आँसु
कि कसो – फोर्चे ?

Facebook Comments Box

Similar Posts