केशव ज्ञवाली ‘आगत’
(रूरूक्षेत्र, गुल्मी हाल: सूर्यविनायक, भक्तपुर)
एकको नोट एकैपल्ट
बजारमा दुई बन्न खोजेपछि
दुईको नोट पाँच बन्न खोज्यो
पाँचको नोट दश बन्न खोज्यो
दशको नोट बिस बन्न खोज्यो ।
थाहा छैन कुन दिन
थाम्न नसकेपछि गह्रुङ्गो रिन
बिसको नोट पनि
पचास बन्ने तनावमा
दशको नोटजस्तै
खल्तीमा आफैभित्र चाउरिन्छ ।
एउटा पच्चिसको नोट थियो
ढोका छँदाछँदै झ्यालको बाटो
छिट्टै ठुलो नोट बन्न खोजेपछि
आफ्नै भाउ च्यात्तिएर
अहिले ऐनामा देखिएको अनुहार
आफ्नै भाउ हो भन्न पनि सक्दैन ।
पचासको नोटले सय र
सयको नोटले पाँच सय बन्छु भनेपछि
पाँच सयको नोटले हजार बन्छु भन्ने होला
हजारको नोटले पनि
बजारमा ठुलो नोट म मात्र हुँ भन्ने होला ।
बजारमा धेरै डबलहरु पनि थिए
नोटहरु च्यात्तिन्छन्
हामी च्यतिँदैनौँ
पानीमा भिज्दैनौँ भन्ने उन्मादमा
कुम ठोक्किएर कुच्चिएपछि
अहिले म्युजियमभित्र कैद छन् ।
समाजमा स्कुल छँदाछँदै
जेल बनाउनु जरूरी थिएन तर
असल बन्न छाडेर नोटहरुले
ठुलो मात्र बन्न खोजेपछि
अदालतले जेल बनायो र भन्यो
ठुला नोटहरुले पनि यत्ति याद राख्नू
विश्वमा धेरैपल्ट
हजारको नोट पनि खारेज गरिएको छ ।


