डा. श्यामप्रसाद न्यौपाने
खेलेकै छु सिँगौरी म राजश्वमा मजासित
रमाएँ स्वार्थमा आफ्नै सोचिनँ जनको हित
न देशहितमा लागेँ न समाजोत्थान नै गरेँ
लिइनँ प्राज्ञको साथ झोलेकै भरमा परेँ ।।९।।
धुपौरे, चाकडीबाज चाप्लुसीमा रमाउने
जता गयो उतै मेरो झोलाझ्याम्टा समाउने
जे भन्छु त्यसमै हो हो भनेर हौसला दिने
भन्छु आफन्त हुन् मेरा यशस्तम्भ सजाउने ।।१०।।
फुक्लिन्छ दम्भले सिङ स्वार्थको अनुरागले
बुझाऊँ कसरी चित्त सुझाउन्न दिमागले
सिर्जेर भ्रमको जालो म चाणक्य बने पनि
गर्दैनन् जन पत्यार जतिसुकै भने पनि ।।११।।
नव सिर्जनको निम्ति मझैँ को आउने अघि
मैले झैँ गर्न को सक्छ राख्नलाई सफा छवि
भ्रष्टाचार गरेँ किन्तु प्रमाण छैन क्यै पनि
चुसेर देश यो, बस्छु देशभक्तसरी बनी
देखाई सपना नौला दुनिया मक्ख पार्दछु
गरी भाषण चिल्लाले दुनो आफ्नै सपार्दछु ।।१२।।
प्रभा भाष्करको जस्तै छर्दछु म सबैतिर
शशिको चाँदनी पोखी धरा रच्दछु सुन्दर
ल्याएर पुष्पको गन्ध सुषमाले सजाउँछु
भनी समाजमा मिथ्या सिर्जन्छु र रमाउँछु
कमजोर छँदै छैन जाल बुन्न खली छु म
देखिन्छु साधुझैँ किन्तु शकुनिझैँ छली छु म ।।१३।।
हुँ मूढेबलको ठिङ्गो, प्रतिभा कम लाउँछु
जति छ प्रतिभा सारा छलमा नै लगाउँछु
प्राज्ञ सज्जन साधुको अर्तीबुद्धि बिझाउँछ
झोलेकै साथले मात्र हृदय यो रमाउँछ ।।१४।।