अमरजीत कौँके

प्रेयसीजस्तै हुन्छे कविता
केही क्षण ध्यान नदिँदा
ऊ ठुस्किन्छे
पछि धेरै बेरसम्म मान्न खोज्दिन ।

केही समय
तिमी उसको फर्काइको आसमा
प्रतीक्षारत रहन्छौ
सोच्छौ
केही दिनपछि
ऊ फर्किआउँछे
आफै ।

तर कविता
प्रेयसीजस्तै हुन्छे
ऊ आउँदिन
छाडिदिन्छे तिमीलाई
तिम्रो आफ्नै हालतमा ।

तिमी केही दिनका निम्ति
अपरिचित घाँटीहरुमा भट्कन्छौ
कविता लेख्नको साटो
कविताका किताबहरुमा
पृष्ठहरु पल्टाउँछौ
केही समय
पराया कविताहरुमा फस्छौ
तर बिस्तारै
तिमीलाई फेरि आफ्नो
कविताहरुको याद आउन थाल्छ
धेरै सताउन थाल्छ ।

तिमी कवितालाई फकाउन खोज्छौ
तर ऊ मान्दिन ।

तिमी फकाउन खोज्छौ
धेरै अनुरोध आग्रहहरु चढाउँछौ
फेरि ऊ अचानक मुस्कुराउँछे
मतवाली चालमा हिँड्छे
अनि मात्रै तिम्रो नजिक आउँछे ।

तिम्रो मन भने फेरि शब्दहरुले
फेरि मायाले महकिन थाल्छ
वियोगको समय सकिन लाग्छ
लाग्छ कि तिमी र ऊ
कहिल्यै बिछोडिएका थिएनौ ।

अनुवाद: बिलोक शर्मा
(डुवर्स, भारत)

(भारतको पन्जाबस्थित पटियाला निवासी डा. अमरजीत कौन्के पन्जाबी साहित्यका प्रसिद्ध कवि हुन् । उनका पज्जाबीमा सातओटा अनि हिन्दीमा चारओटा कवितासङ्ग्रह प्रकाशित छन् । यसबाहेक हिन्दी, पन्जाबी, अङ्ग्रेजीमा ३० ओटाभन्दा अधिक अनुवाद पुस्तकहरु प्रकाशित छन् भने बालसाहित्यका पाँचओटा पुस्तकहरु प्रकाशित छन् । कवि कौँकेले राष्ट्रिय स्तरका धेरै साहित्यिक पुरस्कार प्राप्त गरिसकेका छन्। यसै गरी भारतको डुवर्स निवासी बिलोक शर्मा कवि तथा अनुवादक हुन् । नेपालीमा उनको एउटा कवितासङ्ग्रह प्रकाशित छ अनि बङ्गलामा एउटा अनुवाद पुस्तक हाल प्रेसमा प्रकाशोन्मुख अवस्थामा छ। पेसागत रुपले कृषि अधिकारी शर्मा अहिले पन्जाबस्थित लुधियानामा कार्यरत छन्।)

Facebook Comments Box

Similar Posts