राजु प्रधान ‘हिमांशु’
(डाउहिल, खरसाङ, भारत)
जब पनि विचारको आँधी चल्छ
म आन्दोलित हुन्छु भित्रभित्रै ।
मेरो खप्परको छप्परमाथिमाथि
उष्णता पनि बिस्तारै बढ्छ ।
उपलब्धि
सङ्कटहरुलाई पन्साउनै नसक्ने होस् न
पर्वाह छैन
तर विचारको आँधी चलिरहनुपर्छ
विचारको आगो पनि जलिरहनुपर्छ
विचारको फल पनि फलिरहनुपर्छ नत्र त
सपनाहरु जाग्दैनन्
पाकेर बिपना बन्दैनन्
आँखाहरु पनि निदाइबस्ने छन् ।
तर सपना नदेख्ने आँखाहरु मृततुल्य हुन्छन्
जीवनका लक्ष्यहरु सबै तुहाइदिने
र
बचाउनलाई
विचारको आँधी चलिरहनुपर्छ
निरन्तर
निरन्तर
निरन्तर …


