त्रिविक्रम पाण्डे
सानो त्यो गाउँ मेरो, ठुलो हाटबजार थियो,
झुपडी कटेरो घर, हर मान्छे दिलदार थियो ।
जहीँ पनि ढिँडो रोटी साग खान पाइन्थ्यो,
घर–चुल्होमा अर्गानिक भोजन तयार थियो ।
सिस्नु निग्रोको तरकारी स्वादले खाइन्थ्यो,
जसको अगाडि शाही पनिर बेकार थियो ।
बेलाबखतमा मादल खैँजेडी झ्याली बज्थ्यो,
हर्के ठुलै गायक गीतकार सङ्गीतकार थियो ।
खोला कुवा पोखरीमा सिउँडीले नुहाइन्थ्यो,
साबुन स्याम्पु स्विमिङ पुल सबै बेकार थियो ।
डन्डिबियो कपर्दी लुकामारी मजाले खेलिन्थ्यो,
हामीलाई कहाँ क्रिकेटको कुनै दरकार थियो ।
बाआमाले लोककथा–कहानी सुनाउनुहुन्थ्यो,
इन्टरनेट टिभी फेसबुक कहाँ अखबार थियोे ।
एकअर्कालाई देखेर भेटेर सबै खुबै रमाउँथे,
मान्छे मान्छेमा अगाध आस्था श्रद्धा प्यार थियो ।