होम सुवेदी
स्वर्गीय सौन्दर्य इलाममा पनि छ पोखरामा पनि छ
तीनजुरे सौराहा र बाजुरामा पनि छ
सौन्दर्य खोजीमा भौँतारिएका आँखा देख्ने ए दृष्टिहीनहरु हो
कता मात्रै छैन भन्नु र रारामा पनि छ डलेलधुरामा पनि छ ।।
मर्ने र मार्नेहरुले परस्परमा वाचा खाएपछि
एकले अर्कामाथि हतियार उठाएपछि
हत्या र हिंसाको राज्य ता हुने नै भयो
प्रेम र सद्भावको मार्गमा अवरोध आएपछि ।।
अहिले फेसबुकमा झुन्डिनु नै काम अरे
अल्छीले जे भेट्छ त्यही हाम अरे
परिश्रमको नाममा सिन्को भाँचोस् त मरिजानु
जसको सिङ छैन उसकै तिखे नाम अरे ।।
मायाको खेती नगर्नु नै असल रहेछ
स्वभाव भने अलिक चञ्चल रहेछ
बसउठ केही बढी भएपछि पो थाहा भो
उनको त माया व्यापार गर्ने पसल रहेछ ।।
प्रतीक्षारत मुनालाई मदनले बाहुपाशमा कस्नसम्म पाएन
मायाको बारीमा सद्भावको कुलो पस्नसम्म पाएन
दुवैका मुटुमा गहिरो घाउ लागेकोले
चोटमाथि चोट परेकोले घाउमा खाटो बस्नसम्म पाएन ।।
ठाउँमा शत्रुलाई हान्न नसकेका बमको के काम
ईश्वरनिष्ठ त्यागी सन्तलाई रमको के काम
जे लेखिन्छ कम्प्युटरमै लेखिन्छ
आफूलाई अब कलमको के काम ?


