अच्युत घिमिरे

श्रीपुरबाट मैले नियालेर हेरेँ
उत्तरतिरका गाउँहरु
देखिए पर परसम्म
मधुवन, कसाह, राजवास र रामपुर गाउँहरु
तिनै गाउँहरु हुँदै एउटा देश पुगिँदो रहेछ
विशाल कोसी नदीभित्रको एउटा टापु
चराहरुको देश ।

आँखामा राखेर अस्ताउँदो घामको मनोरम दृश्य
खुसीले प्रफुल्ल भएका मनहरु
आँखालाई टाढा टाढा पुर्याएर
कोसीका छालसँग जिस्कँदै, रमाउँदै, उताउलिँदै
होस गुमाएर उर्वशीझैँ
लट्ठिएर सङ्गीतको तालमा
स्वर्गभोग गरिरहेका थिए ।

प्रिय पर्यटकहरु !
कोसी टप्पुमा थिए ।

अझै बोलाउनु छ
मुस्कान खोज्नलाई आऊ भन्नु छ
हजारौँ/लाखौँ प्रिय पर्यटकहरुलाई
चिनाउनु छ कोसी टप्पुभित्रको सानो गाउँ
श्रीलङ्का टापु
मन मिलाएर बसेका गाउँलेहरु
माया साटेर बसेका गाउँलेहरु
र गाउँको मायाले रमाउँदै
सौन्दर्य बोकेर बसेका चराहरु ।

त्यो चराको देश हो
जाडो छल्नका लागि आउँछन् साइबेरियाबाट
र गर्मी छल्न फेरि उतै जान्छन्
चराहरुको पनि देश हुन्छ
देश देशावर डुली हिँड्ने
सयौँ प्रजातिका यी चराहरु

पासपोर्ट, भिसा, ग्रिनकार्डको चक्करमा
स्वतन्त्रता नगुमाएका
यी चराहरु उन्मुक्त छन्/खुसी छन् ।

रङ्गीबिरङ्गी
यी घामजस्ता चराहरु
यी जूनजस्ता चराहरु
ओ पर्यटक !
तिमीलाई पासपोर्ट चाहिँदैन
आऊ कोसी टप्पु
र रमाऊ चराहरुको देशमा ।

Facebook Comments Box

Similar Posts