शोभा राई
प्रत्येक बिहानीको
सुनौलो प्रकाशमा
रातभरीको अनिंदो
अनि त्यसमाथि
असंख्य
साना, मझौला र बडेमानका
सवारीहरूले थिचिएर
लम्पसार परेको सडकहरूमा
गुड्किने म
एउटा यात्री
घर अनि काम
काम अनि घर
यही दैनिकी दोहोरिइरहेछ
बर्षौंदेखि ।
सडक वारिपारि
टाढा टाढासम्म
ढकमक्क फूलहरूले
बसन्त बोलाईहेछ
सुस्तरी कतै
जसरी
उही सडक
उही गन्तव्यमा
जाँदाजाँदै
हामीसँगै फक्रिंदै गरेकी
सानी जुन्किरी
हरपल मनमा बास गर्छे
दिनभरीको काममा
थकित हुँदा
मान्छेहरूको भिडमाझ
उही प्यारी जुन्किरी
सुस्तरी बोलाउँछे –‘आमा’
त्यो मधुर स्वरको जादूसँगै
व्यस्तताभित्र उर्जा थपिन्छ
शायद गन्तव्यरू प्रिय बन्छन्
शायद दैनिकीहरू अभ्यस्त हुँदै जान्छन् ।