दाहाल त्रिविक्रम
(बेलका ४, उदयपुर)

हे प्रियसी,
म तिम्रो यादको सँधियार हुँ !
कहिलेकाहीँ तिम्रो यादले सिमाना नाघ्छ,
त्यसैले त म
बेलाबेला तिमीसँग चर्को स्वरमा बात गर्छु,
अनि एकैछिनमा फेरि,
तिमीसँगै गफ गरेर सिमाना जहाँको त्यहीँ पु¥याउँछु ।

तिम्रो याद र मबिचको साँधको आलीमा
तिम्रो हक छ,
तिम्रो हकमा रहेको आलीमा
मेरो यादको पाइला छ,
तिम्रो यादमा हिँड्दा बसेको पाइला,
जसलाई मेट्न तिमीले बेलाबेला
साँधमा आएर आली लगाइदिनुपर्छ,
किसानले रोपाइँका बेला आली लगाएझैँ ।

तिम्रो आँखाबाट आँसु खसेका बेला
साँधको आलीबाट पनि आँसु खस्न देऊ है !
मलाई तिम्रो आँसुले रूझेर निथ्रुक्कै हुन मन छ,
असारका बेला
माथ्लो खेतबाट तल्लो खेतमा पानी खसेर
तल्लो खेत निथ्रुक्कै रूझेझैँ ।

तिमीलाई अनि मलाई जोड्ने
त्यो साँधको आलीमा
विश्वासको फूल लुकाएर राखौँ न है !
रोपाइँपछि किसानले
ढुकुरले भट्मास नभेटोस् भनेर,
आफ्नो आलीमा लुकाएझैँ ।

Facebook Comments Box

Similar Posts