अनुज श्रेष्ठ ‘पृथक्’
(पेप्सीकोला, काठमाडौँ)
एक प्रकृतिको छेपारो
उस्तै प्रकृतिको छेपारोको
छेपारे प्रवृत्तिप्रति नियमापत्ति जनाउँछ कि –
‘छिन छिनमा रङ बदल्नु भनेको अराजनैतिक अभ्यास हो !’
विश्वासमा पारेर वा परेर
मित्रलाई
शत्रु बनाउँछ,
शत्रुलाई
मित्र जनाउँछ ।
नमिले पनि मिलेजस्तो गरी
मिलेर भोज गर्छन्,
कुरा मिलुन्जेल
मोज गर्छन् ।
जब
एकले अर्कालाई टोक्न र चिथोर्न थाल्छन्
तब
जोरी खोज्छन् ।
नमिले नमिलेजस्तो आभासमा
अरु नै काँध रोज्छन् ।
बौद्धिकजस्ता लाग्ने
केही हुस्सुहरु हौसिँदै
मात्र टर्टराउँछन्
धमिलो कुवाभित्रबाट ।
एकातिर अजङको सरीसृप त
अर्कातिर बिच्छी डङ्क मार्न तम्तयार
र, देख्छु
फिँजाउँदै गरेको
स्वार्थका टेन्टाकलहरु
दूर सुदूरका अक्टोपसहरु ।
सिमसार सुकेकोमा
रोइरहन्छन् बकुल्लाहरु ।
गल्लीका कुरुप कुकुरहरु
बित्थामा भुकेर लखेटिरहन्छन्
निहत्था भँगेरा, गौँथली र ढुकुरहरु ।
कसैको पैतालामुन्तिर निदाएजस्तो गरी
ब्वाँसाहरु क्याँक्क अँठ्याउन पुग्छन्
भर्खरै पाठशाला गइरहेका पाठापाठीहरुको घाँटी ।
कर्मठ र जिम्मेवार ठानिएका बाँदरहरु
भाँच्न थाल्छन्
सम्मानित कुर्सीहरु ।
कस्तूरी बोकेका मृगहरु
भेडाहरुमा रुपान्तरित भई टायर बाल्न थाल्छन् ।
आँखा नभएका बुलेटहरुसामु
आँखा उघार्न नपाउँदै सडकमै ढल्छन्
निरीह हरिणहरु ।
पोल्ट्रीमा पालिएर
छाडा छाडिएका अर्थहीन गिद्धहरुबाटै
सिनोझैँ लुछ्न उक्साउँछन्
निर्बलहरुका मुटु र कलेजोसरि
बचाइराखेका
जिन्दगीभरिका भर अनि अर्थहरु ।
हर मूल्य चुकाएर
अन्जान राहमा राहदानी बोकी
बिचरा बचेराहरु
दूर अकास उड्न लाचार छन्
रूँगाएर वृद्ध वृक्षका कम्पनहरु ।
धर्ती फाटोस्
धरा चोइटिओस्
साँध वा गह्रा नै मिचियोस्
या, खसोस्
घाम बोकिरहने आकाश
यावत् खराब खबरहरुप्रति बेखबर हुन्छन्
तुइनमा झुन्डिन अभिशप्त झुन्डहरु ।
अझै आइरहेछ
कसैको जिउबाट
बारूदको काँचो गन्ध ।
कसैको हातबाट आइरहेछ
रगतको आलो दुर्गन्ध ।
कोही रक्सीको अराजक डकारसँगै
अवैध देहसँग खेल्छन्
अनैतिक सज्जनहरु ।
कोही भने–
कोटको भित्री खल्तीबाट झिकेर
मिया खलिफाहरुको तस्बिर हेर्दै
एकान्तमा स्खलित भइरहेछन्
देशको गलत भविष्यवाणी गर्ने
अश्लील पण्डितहरु ।
सिंहलाई सर्कसमा हुलेर
हुल्लड मच्चाउँदै
छेपारो, स्याल र ब्वाँसाहरु
सु–समय र कु–समयबिच विषालु युद्ध लडाइरहेको
कोही किन पत्याउन चाहँदैनन् ?
के
हामी–
फगत मदारीको सङ्केतमा नाच्ने
अमान्छेभन्दा बढी
तथाकथित प्रगतिशील पशु हौँ ?
अथवा
हामी–
अग्रगामी प्रहसनका
फगत परित्यक्त पात्र हौँ ?
होइन भने–
ऊ
तिमी
र मसँगसँगै
को हौँ त हामी ?
– हामी सभ्य छौँ भन्दैमा
असभ्यहरुबाट
किन पिरोलिन्छौँ ?
– हामी सौम्य छौँ भन्दैमा
किन जथाभावी केरिन्छ
हाम्रो रैथाने परिचयहरु ?
– हामी धीर छौँ भन्दैमा
बिनाकारण
किन व्यर्थै बिथोलिन्छौँ ?
– हामी वीर हौँ भन्दैमा
गल्लावालमार्फत
किन कमसल दाममा बेचिँदै छौँ ?
– हामी कमलो छौँ भन्दैमा
किन निचहरुबाट निचोरिन्छौँ ?
– हामी निश्छल छौँ भन्दैमा
किन छलिन्छौँ
धोकेबाजहरुबाट ?
– माटोलाई रगतको तर्पण दिनेहरुलाई टेकेर
तथाकथित बुद्ध बनेकाहरुबाटै
किन बुद्धु बनाइरहन्छौँ ?
ए, मासु–भातको पल्काइमा
भावी सल्काई बाँचिरहेकाहरु हो !
के
हामी–
फगत किराफट्याङ्ग्रा हौँ ?
बिना कुनै प्रयोजन
अज्ञात स्वार्थमा
किन बाँधिराखेका छौँ
आफ्नै हातगोडाहरु ?
बिना कुनै अर्थ
किन बन्धकी राखेका हौँ
बोल्ने ओठहरु ?
अस्थिरता कोरल्नेहरुबाट
स्वच्छन्द श्वास अपहरण भइरहँदा
यता–
देश भने
अनुहारको घाम हराएर हैरान छ ।
हामी–
हामी हुनलाई
न्यानो मनले बोक्न सक्नुपर्छ
हिउँका निर्मम सिरेटाहरु ।
हामी–
हामी हुनलाई
छातीले पहाडको पहिरो रोक्न सक्नुपर्छ ।
हामी–
हामी हुनलाई
तन्मय हातहरुले
तराईको शीतलहर अँगाल्न सक्नुपर्छ ।
हामी–
हामी हुनलाई
दौडाउन सक्नुपर्छ
रगतका थोपा थोपामा
जाँगरका तमोरहरु ।
हामी–
हामी हुनलाई
दुई–चार क्षितिजपारि देख्न सक्नुपर्छ ।
हामी–
हामी हुनलाई
पुर्न सक्नुपर्छ कचिङ्गलका सारा कसिङ्गरहरु ।
हामी–
हामी हुनलाई
भूलहरुलाई नभुलिकन भुल्न सक्नुपर्छ ।
हामी–
हामी हुनलाई
कोमल स्पर्शहरुले सुमसुम्याउन सक्नुपर्छ
दुखेका हरेक घाउहरु ।
हामी–
हामी हुनलाई
मास्न सक्नुपर्छ
हामीले नै हुर्काएका हिरण्यकशिपुहरु ।
अब त
भन्न पनि ढिला होला भन्ने डर लाग्छ –
कालले अकालमै
असामयिक मृत्युको दस्तखत पर्नुअगावै
आफ्नै मुठीमा
कस्नू
नटुक्रिएको समय,
बेढङ्गी हुनुअघि
खन्नू
आफू हिँड्ने गोरेटो,
बेरङ्गी हुनुअघि
पोत्नू
जूनको शीतल रङ
जिन्दगीका इन्द्रेनीहरुमा ।
र, घोल्नू
जाँगरभरि
कहिल्यै नअस्ताउने घाम ।
हामी–
हामी हुनलाई
पहिले
आफैलाई भेट्दै गर्दा
आफूभित्रको अँध्यारोलाई हराउनुपर्छ
र, हटाउन सक्नुपर्छ
अँध्यारोको निरङ्कुशतामा नाचिरहेको
अघोर अन्धकार ।


