श्रवणकुमार ढुङ्गाना
धुवाँहरु त अतृप्त आत्माहरु हुन्
अनन्तमा विलय हुन नसकेका,
सक्षम त छन् ती
रसिक आँखाहरुमा
सहानुभूतिका जल भर्न
मोहको यो संसारमा।
तर धुवाँहरु आफैले बुझेनन्
अतृप्त जलनले जन्माएका आफ्ना अस्तित्व
आफ्ना अधुरापन।
वितरागले सुस्ताएकाहरु
आशक्तिले बहुलाएकाहरु
कुहिरोका कागजस्ता
धुवाँहरु।
होइनन् यी
जीवनका गुरूत्वले बाँधिएर
स्वच्छन्द विचरण गर्ने
प्राण भरिदिने वायुजस्ता,
यी त
उचाइ नाप्न खोज्दाखोज्दै
धुजाधुजा परेर झर्ने
जिजीविषाका छातीमा निश्वास रोक्ने
निमुखाका सपना जस्ता हुन्।
यी धुवाँहरु त
यो धर्ती, जल, अग्नि, वायु र आकाशमा
सङ्घर्षले अन्ततः प्रकाशमा
समाहित हुन खोज्दै गर्दा
आशक्तिद्वारा भ्रमित प्रेममा
वा लोभको अँगालोमा
वा तिरस्कारको अँजुलीमा
वा परित्याजित अनुभूत जिन्दगीमा
निसास्सिलो वायुमा जल्दैगर्दा
असीमित अतृप्तिले घेरिएजस्ता
अनन्तमा विलीन हुन नपाएका
अतृप्त आत्माहरु हुन्।
पराजयको व्यथाले प्रताडित हृदय
एक धुवाँ,
विजयको उन्मादले आल्हादित हृदय
एक धुवाँ,
आशाको धूमिल त्यान्द्रोले पुलकित हृदय
एक धुवाँ !
यो जिन्दगी एक जलन
र अपुर्ण जलनको धुवाँ,
यो जिन्दगी एक पीडा
र असंतृप्त पीडनको धुवाँ,
परित्यक्तको भ्रम पालेका विरक्त
वा महाराजको दम्भ पालेका उन्मादी
धुवाँ !
आँखामा धुवाँ, राग जिन्दगी
फोक्सोमा धुवाँ, निश्वास जिन्दगी
रगतमा धुवाँ, नशा जिन्दगी
जिन्दगी स्वयं एक धुवाँ ।
र परिवेश,
धुवैँधुवाँहरुको बन्दी!
धुवाँको यो घोलमा भेट्नु छ
म चेतनको एक प्रकाश
त्यो दिग्भ्रमित
धुवाँको प्रारब्ध चिनाउने,
म सङ्घर्षको प्रचण्ड राप
त्यो अधमरो धुवाँको
प्राणलाई मुक्ति दिलाउने