राधिका कल्पित
पृथ्वी भएर जन्मनु
अभिशाप थियो या नियति
म जान्दिनँ
तर अनुगृहीत थिएँ
म, मेरो सृष्टिप्रति ।
म पृथ्वी,
आकाश मेरो शिर
वायु मेरो प्राण
अग्नि मेरो ऊर्जा
जल मेरो अस्तित्व ।
जब सूक्ष्म शक्तिरुपा रविले
चुमेथे मेरो अक्षत गर्भाशय
मैभित्रको पञ्चतङ्खवको समागमपछि
जन्मे यस ग्रहमा हरित जीव ।
जीवात्माहरुको प्रथम स्पर्शले
प्रेमिल काउकुती महसुस गरेँ
उनीहरुको सास फेराइले
मेरो सृष्टि सार्थक बनेको अनुभूत गरेँ
बनकुसुम र लतिकाहरुको शृङ्गारले
आफ्नै रुपमा सम्मोहित हुन थालेँ ।
शनैः शनैः
जलचरहरु जन्मे
म उनीहरुको
जलक्रीडाको आनन्दले घनीभूत भएँ
थलचरहरु जन्मे
म उनीहरुको
गतिशीलतामा अभिभूत भएँ
नभचर जन्मे
म उनीहरुको
उडानको वेगले वशीभूत भएँ
उभयचरहरु जन्मे
म उनीहरुको
चुम्बनको सुखानुभूतिले अनुगृहीत भएँ ।
रूखहरुले मेरा जरा चुस्दा
सुत्केरीले
नवजातलाई स्तनपान गर्दाको सुख मिल्थ्यो मलाई
होमोपिथेकसहरु मेरा लटामा पिङ खेल्दा
माता यशोधराझैँ
थकित थकित हुन्थेँ म ।
मेरो यो चोलामा
कति सन्तानहरु शीतकालका सिकार भए
कति सन्तानहरु
महामारीका आहार भए
कति सन्तानहरु
इकोसिस्टमका धरापमा परे
तर पनि
पञ्चतङ्खवले पञ्चशील पालना गरेझैँ
प्रकृतिको अनुशासनमा बाँधिएर
बचाएँ जीवातको अनुपम उपहारलाई ।
कति प्रलयहरु
आए यस जीवकल्पमा
कहिले कङगारू बनेर पेटभित्र लुकाएँ
कहिले जलासय बनेर
जलको जालीभित्र लुकाएँ
कहिले अकाससँग ओत मागेर
बादलको बर्कोमुनि लुकाएँ
कहिले पातैपातको पाली हालेर
वृक्षालयभित्र लुकाएँ
कहिल्यै थाकिनँ
जीवको अस्तित्व जोगाउन
गाह्रो मानिनँ
मातृकर्तव्य निभाउन ।
बुढेसकालको सहारा
बल, बुद्धि र विवेक भएको जीव जन्माएर
गर्वले पुलकित भइरहेको क्षण
नवजात मानवको जन्मकुण्डली हेर्दै
ज्योतिष समयले भनेको याद छ,
‘सन्तान होइन, सैतान जन्माइस्’
‘मानव होइन दानव जन्माइस्’
‘रक्षक होइन भक्षक जन्माइस् ।’
भविष्यवाणीको भयले
थेब्सका राजा लायसले राजकुमार इडिपसलाई
बध गर्ने आदेश दिएझैँ
कहाँ सक्थी एउटी आमाले
आफ्नै सन्तानमाथि संशय गर्न ?
हजारौँ वर्षपछि देख्दै छु
मेरो स्वप्न सन्तान मानव
कसरी दानवी पात्रमा रुपान्तरण भइरहेछ
आफू जन्मेपछि
आमाको अंश दाबी गर्ने
अर्को नजन्मोस् भनेझैँ गरी
लुछेर फाल्दै छ आमाको गर्भाशय
अंशबन्डा गरेर
मेरो हाड, छाला, रगत र सासको
मृत्युुशैय्यामा सुताएर मलाई
लिलाम गर्दै छ
मेरो अस्तित्व अर्को ग्रहसँग ।
मेरो प्रिय सन्तान
तिम्रो विवेकले अर्को ग्रह बनाउला
तिम्रो चाहले अर्को बस्ती बसाउला
तर तिम्रो इच्छाले मात्रै
अर्की आमा बनाउन पक्कै नसकौला
अर्की आमा बनाउन पक्कै नसकौला ।


