भोलानाथ सुवेदी
महोदय,
हृदयको अन्तर कुनाका
दृष्टिमा पर्दा लागेपछि
म सपना नदेख्ने भएको छु
भएका सपनाहरु पनि
गन्तव्य पहिल्याउन नसक्ने भएका छन्
आरोहणकै शिविरमा थला परेको आरोहीजस्तै
खिया लागेको औजारजस्तो भएर
बसाउन नसक्ने फूल भएर
कति सपनाहरु च्यातिएर सकिए
कति सपनाहरु हिलोमा भासिए
थला परेका सपनाहरु
बिउँताउन पनि सकिएन
न धुन भरेर गाउन सकियो
न फूल जस्तो सजाउन सकियो
अहिले सपनाहरु माथि कर्फ्यु लागेको छ
तामा तुलसी हातमा लिएर
धर्म भकाइएको छ
स्निग्ध निश्छल सपना माथि
हिलो छ्यापेर
बलात्कार गरिएको छ
हत्केलामा मुटु बोकेर
शिखर टेक्न लागेका सपनामाथि
कसले कोरिदियो विनाशको सलाई
सल्काइदियो सपनाको इतिहास
कति सपनाहरु भ्रुणमै निमोठिए
कति स्वप्नदोष भएर बगे
आफू बाँच्नको लागि सपनाहरुले
पटकपटक मसाल बोक्नुपरेको छ
जेलनेल र गिरफ्तारी खप्नुपरेको छ
त्यसैले महोदय
एक मुट्ठी सपना हत्केलामा बोकेर
म सडक किनारमा उभिएको छु
मेरा सपनाहरु बेच्न
जुन कुखुराका चल्लाजस्ता छन्
आँखाले निलुँ जस्ता ।