गंगाप्रसाद अधिकारी
(मेचीनगर ३, खम्बुटार, झापा)

एक जना वृद्ध आमालाई एउटी अधबैँसे महिलाले डोर्याउँदै बैङ्कमा लिएर गइन् । बैङ्कको कारोबार माथिल्लो तलामा हुने भएकाले सिँढी चढ्नुपर्ने थियो । आमालाई दम रहेछ । सिँढी चढ्न गाह्रो भयो । महिलाले आमालाई त्यहीँ बस्न भनिन् र आमाको पर्सबाट चेक झिकिन् । माथि उक्लिइन् ।
आमाले वृद्धभत्तालगायत आफ्नो थप रकम पनि बैङ्कमा राख्नुभएको रहेछ । बैङ्कका कर्मचारीले आमाको अशक्त अवस्था बुझेपछि बैङ्कको गार्डलाई साक्षीका रुपमा पठाए । गार्डको साक्षीमा आमाले चेकमा रकम बुझेको सहीछाप गर्नुभयो । त्यसपछि सहीछाप भएको चेक लिएर महिला बैङ्कको कार्यकक्षमा उक्लिइन् ।
चेक निकै रकमको रहेछ । बैङ्क कर्मचारीले महिलालाई ठुला दरका दुई बिटा र ठुलादेखि सानासम्मका नोट भएको एउटा बिटोसहित तीन बिटा नोट र केही रेच्की पैसा पनि दिए । महिलाले ठुला दरको नोटको एउटा बिटो आफ्नो पर्समा राखिन् र बाँकी नगद हातमै लिएर तल ओर्लिन् र आमालाई ‘आमा ! तपाईंको पैसा । रामरी राख्नुहोला है ! हराउला नि !’ भन्दै आमाको पर्समा राखिदिइन् । आमा मक्ख पर्नुभयो र स्वाँस्वाँ गर्दै बाटो लाग्नुभयो ।

Facebook Comments Box

Similar Posts