सन्देश सुब्बा
(फिदिम, पाँचथर)
उहिले एउटा घरमा आमा र छोरी मात्र बस्थे । उनीहरुको घर बाटोको छेउमा थियो । आमाछोरीले वनजङ्गलमा पाइने फलफूल र अन्य खानेकुरा खोजेर गुजारा चलाउँथे । यसै क्रममा एक दिन आमाछोरी दुवै जना जङ्गलमा खानेकुरा खोज्न गए । जङ्गल चहार्दै जाँदा उनीहरुले रूखको ठुटामा सेताम्मे पलाएको च्याउ भेटे । आमाछोरीले रमाउँदै च्याउ टिपे । घरमा ल्याए । अनिकालमा छाक टार्नलाई लुकाइराख्न भनेर त्यसलाई घरको आँगनमा बिस्कुन लगाएर सुकाए ।
आमाले छोरीलाई सुकाएको च्याउ रूँग्न लगाएर आफू फेरि खानेकुरा खोज्न जङ्गल जाने विचार गरिन् । र, छोरीलाई सुकाएको च्याउ रूँगिबस्न लगाएर आमा जङ्गलतिर हिँडिन् । छोरीले पनि आमाले भने जसरी नै कहीँ पनि नगई आँगनमा बिस्कुन लगाएर सुकाइराखेको च्याउ दिनभर रूँगेर बसिन् । टन्टलापुर घाम लागेको थियो । घामको तापसँगै अघि धेरै भएको च्याउ सुकेर थोरै मात्र भयो ।
साँझमा आमा जङ्गलबाट घर आइपुगिन् । च्याउ हेर्दा थोरै मात्र देखिन् । आमा रिसले चुर भइन् । उनले राम्ररी च्याउ नरूँगेको भन्दै छोरीलाई गाली गर्दै कुट्न थालिन् । छोरीले आफू कतै नगई दिनभरि च्याउ रूँगेर बसेको कुरा रूँदै–रूँदै सुनाउँदा पनि आमाले पत्याइनन् । र, छोरीलाई कुट्न छाडिनन् । आमाको कुटाइकै कारणले छोरीको मृत्यु हुन पुग्यो ।
केही दिनपछि जङ्गलमा खानेकुरा खोज्ने क्रममा आमाले अस्ति छोरीसँग भेटेको भन्दा धेरै च्याउ भेटिन् । उनी प्रफुल्ल भइन् । सबै च्याउ टिपेर घरमा ल्याइन् । र, पहिलेजस्तै आँगनमा बिस्कुन लगाएर सुकाइन् । यसपल्ट सुकाएको च्याउ रूँग्ने कोही थिएनन् । भएकी एउटी छोरीको आमाकै कुटाइबाट मृत्यु भइसकेको थियो ।
त्यसैले आमा आफैले च्याउ रूँगेर बसिन् । घाम उस्तै चर्को लागेको थियो । अघि धेरै भएको च्याउ घाममा सुक्दा थोरै मात्र बन्न पुग्यो । तब आमाले आफूले ठुलो भुल गरेको बोध गरिन् । छोरीको कुनै दोष नभएको तर वास्तविकता नै नबुझी, क्षणिक रिसको आवेगमा छोरिलाई कुटेर मारेकोमा उनलाई धेरै पश्चताप लाग्यो ।
मरिसकेकी छोरीको माया र सम्झनाले उनी अति नै विह्वल बनिन् । उनी विलाप गर्दै रून थालिन् । उनी यति धेरै रोइन् कि ! रूँदारूँदै उनको पनि मृत्यु भयो । छोरीको मायाले रूँदा–रूँदै मरेकी उनै आमा अर्को जन्ममा सेमेक्वा पु (सुबिऊ चरी) बनेर जन्मिइन् । उनै सेमेक्वा चरीले खोलामा पानी खान जाँदा खोलाको सङ्लो पानीमा आफ्नो छायाँ देखिन् । त्यसलाई उनले आफ्नो छोरीजस्तै देखिन् । उनले आफ्नो छायाँलाई आफ्नै छोरी ठानिन् ।
मरिसकेकी छोरी भेटिएकोमा उनी हर्षले विभोर भइन् । तर, जब बर्खा लाग्यो । पानीझरी पर्न थाल्यो । खोलामा बाढी आयो । तब, सङ्लो पानी धमिलिएर सेमेक्वा चरीले खोलाको पानीमा आफ्नो छाँया देख्न छाडिन् । अचानक छोरी अलप भएकोमा उनी फेरि पीडामा परिन्, र सेमेक् … सेमेक् … सेमेक् … भन्ने कारूणिक आवाज निकालेर रून थालिन् । त्यसैले यो चरीको नाम सेमेक्वा रहन गयो ।
भनिन्छ, सेमेक्वा चरी हिउँदभरि खोलाखोल्सामा डुलिहिँड्छिन् । सङ्लो पानीमा देखिएको आफ्नो छायाँमा छोरीको प्रतिरुप देख्छिन्, र आफ्नै छोरी सम्झेर खुसी हुन्छिन् । जब वर्षायाम लाग्छ पानीझरी पर्न थाल्छ । खोलाको सङ्लो पानी धमिलिन्छ तब उनले पानीमा आफ्नो छायाँ देख्न छाड्छिन् । त्यसै बेला आफ्नी छोरी अलप भएको ठानेर सेमेक् … सेमेक् … सेमेक् … भन्ने आवाज निकालेर रून थाल्छिन् ।
त्यै भएर सेमेक्वा चरी अहिले पनि हिउँदमा नभएर वर्षायाममा मात्र कराउने गर्छिन् ।
कुनै पनि घटनाको वास्तविकता नबुझी आवेशमा आएर काम गर्दा धेरै ठुला गल्तीहरु हुन सक्छन् । त्यो गल्तीका कारण सधैँभरि पछुताइरहनुपर्छ । त्यसैले यथार्थ नबुझी आवेशमा आएर काम गर्नु हुँदैन भन्ने सन्देश सेमेक्वा चरीको कथाले दिन्छ ।