जेठ २३, काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर राजधानीमा “हरित काव्य गोष्ठी–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। वर्तमान कविता समूह, शब्दाङ्कुर मासिक, रातोघर तथा कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा शनिबार कोटेश्वर–जडीबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको प्रारम्भमा वर्तमान कविता समूहका विश्व सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्दै समूहले विगतदेखि सञ्चालन गर्दै आएका साहित्यिक तथा सिर्जनात्मक गतिविधिबारे प्रकाश पारे। उनले साहित्य समाज रूपान्तरणको सशक्त माध्यम भएको उल्लेख गर्दै वातावरण संरक्षण र प्रकृतिप्रतिको जिम्मेवारीबोध जगाउन साहित्यको महत्वपूर्ण भूमिका रहने बताए।
गोष्ठीमा सहभागी साहित्यकारहरूले वातावरण, प्रकृति संरक्षण, जलवायु परिवर्तन, मानवीय संवेदना तथा समकालीन सामाजिक यथार्थलाई केन्द्रमा राखेर सिर्जना गरिएका कविता वाचन गरेका थिए। कार्यक्रममा साहित्यकार ज्ञानुवाकर पौडेलले “अब यो देशको उपचार हुनुपर्छ”, कृष्ण बाउसेले “लोकतन्त्रको हरियो मुखुण्डो”, अभय श्रेष्ठले “हिमालमा हिउँ छैन”, रामगोपाल आशुतोषले “पृथ्वीको शिरमाथि राखिएको हात”, यशोदा अधिकारीले “हरियो सपनाको डाम”, ठाकुर बेलबासेले “एउटा बस्तीको कथा”, मणि लोहोनीले “मृत्युको पहिरो”, सुधीर ख्वाबीले “पर्यावरण मन” तथा रजनिमिला रजनीले शीर्षकविहीन कविता प्रस्तुत गरेका थिए।
त्यसैगरी हरिप्रसाद सिलवालको “धर्तीको प्रियता”, भोजराज न्यौपानेको “चराहरूको विवेक”, भोजराज रेग्मी ‘मुखाले’को “साटो हराएको सूचना”, एकता के.सी.को “पर्यावरण”, किसन पौडेलको “दोहन”, डी.बी. बर्तौलाको “बुङदल झरना”, सुरेन्द्र सुवेदीको “पर्यावरण”, डा. हिमलाल श्रेष्ठको “वनको सुवासः पृथ्वीको गीत”, अमित घिमिरेको “मान्छे हामी बन्नुपर्छ”, प्रज्वल अधिकारीको “एकदिन”, राजबाबु पहाडीको “अन्तिम मौका”, रमी प्रियाको “भोक”, धीरकुमार श्रेष्ठको “ओ महाशय!”, विश्व सिग्देलको “वृक्षरेखा पूर्णविराम थियो”, चन्द्रबहादुर लामाको “हरियो बिर्सनै सक्दिन”, भवानी खतिवडाको “मान्छे र आशा”, चैतन्य अधिकारीको “छोराको सपना” तथा सन्तोष घर्ती मगरको “शून्य गाउँ र सहर” लगायतका कविताले पर्यावरण सम्बद्ध विविध आयामहरुलाई गम्भीर रुपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणा, प्रमोद स्नेही, शकुन्तला जोशी र दीपक समीरले समेत पर्यावरणीय चेतनाले ओतप्रोत कविता प्रस्तुत गरेका थिए। यसै अवसरमा केशव भट्टराईले सुमधुर गजल प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
शब्दाङ्कुर मासिकका तर्फबाट धीरकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नका साथै उपस्थित सम्पूर्ण साहित्यकार, स्रष्टा तथा सहभागीप्रति आभार व्यक्त गरे।
कार्यक्रमका सह–आयोजक कोटेश्वर बहुमुखी क्याम्पसले कविता वाचन गर्ने सम्पूर्ण साहित्यकारहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेको थियो।
चन्द्रबहादुर लामा र केशव भट्टराईले संयुक्त रूपमा सञ्चालन गरेको उक्त कार्यक्रम साहित्यकार, बुद्धिजीवी, शिक्षाविद्, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो। वातावरणीय चेतना, प्रकृतिप्रतिको उत्तरदायित्व र साहित्यिक सिर्जनशीलताको सुन्दर संगम बनेको “हरित काव्य गोष्ठी–२०८३” ले विश्व वातावरण दिवसलाई सार्थक बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।


