वैशाख ३०, काठमाडौं । अनुवादक डा. बलराम अधिकारीलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रदान गर्ने प्रज्ञा अनुवाद पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ। कमलादीस्थित प्रतिष्ठानको प्रांगणमा आज आयोजित एक विशेष समारोहबीच उनलाई सो पुरस्कार प्रदान गरिएको हो।

साहित्यिक अनुवादको क्षेत्रमा विशेष योगदान पुर्याउने  व्यक्तित्वलाई दिइने यो प्रतिष्ठित पुरस्कार डा. अधिकारीलाई नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन गरेको उल्लेखनीय प्रयासको कदरस्वरूप प्रदान गरिएको जनाइएको छ।

समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूले डा. अधिकारीको साहित्यिक उत्कृष्टता, भाषिक संवेदनशीलता र सांस्कृतिक सेतु निर्माणमा गरेको समर्पणको उच्च प्रशंसा गरे। उनका अनुवादहरू शुद्ध भाषा, काव्यात्मकता र भावनात्मक गहिराइका दृष्टिले विशिष्ट मानिन्छन्।

पुरस्कार ग्रहण गर्दै डा. अधिकारीले संस्थाप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै भने, “अनुवाद केवल शब्दहरूको रुपान्तरण होइन, यो संस्कृतिहरूलाई जोड्ने, विचारको सेतु निर्माण गर्ने र मानव अनुभवलाई साझा बनाउने सशक्त माध्यम हो। व्यक्तिगत रुचिबाट सुरु भएको यात्राले आज संस्थागत स्वरूपमा मान्यता पाउनु गर्वको विषय हो। यो पुरस्कारले यस क्षेत्रमा अझै लगनशील भएर काम गर्न मलाई अझै प्रेरित बनाएको छ।”

समारोहमा ख्यातिप्राप्त लेखक, अनुवादक, साहित्यप्रेमी तथा प्रतिष्ठानका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा वक्ताहरूले सम्मान तथा अनुवादको महत्त्वबारे विचार राख्दै समकालीन नेपाली साहित्यमा यसको बढ्दो भूमिकामाथि चर्चा गरे।

यो सम्मानले डा. अधिकारीको योगदानलाई उजागर गर्नुका साथै भावी अनुवादक र साहित्यिक अनुसन्धानमा रुचि राख्ने युवाहरूलाई थप प्रेरणा दिने विश्वास गरिएको छ।

Facebook Comments Box

Similar Posts