नारायण तिवारी

जहाजबाट हेर्दा देखेँ
कति राम्रा हाम्रा गाउँ
घरहरु/मानिसहरु
पहाड/नदीनाला
रूख/बिरूवाहरु
– सबै मसिना, साना साना,
रमाइला…
कति राम्रो हाम्रो नेपाल !
त्यसलाई अझै नजिकबाट छाम्न,
सुमसुम्याउन र भोग्न आतुर म
हवाईजहाजबाट ओर्लिएँ
र, पुगेँ नजिकै
अनि देखेँ–
फाटेको घरको धुरी
चिथ्रा चिथ्रा पहिरनमा
मरन्च्याँसे मान्छे भन्न नसकिने
शोक र भोकले ग्रस्त
नेपाली मान्छे !
खोइ राम्रो रहेछ र हाम्रो जिन्दगी
खोइ रमाइलो रहेछ र हाम्रो नेपाल
पहाड, नदीनाला, रूखबिरूवाहरु बोल्दैनन्
छाती चिरिएका मानिसका कुरा
न गुराँस, न हिमाल– कसैले खोल्दैनन्
विदेशीले झैँ–
हवाईजहाजमा उडेर तपाईं पनि नेपाल हेर्दै
नरमाउनुहोला
हवाईजहाजबाट ओर्लिएर यी ‘होचा’
मान्छेका नजिक पुग्न
खुट्टा नकमाउनुहोला… !

Facebook Comments Box

Similar Posts