देवी नेपाल
(काठमाडौँ)
आमा नदी हौ म त विन्दु खाली
आमा धरा हौ म त अन्नबाली ।
सङ्गीत भर्छ्यौ जड त्यो शिलामा
कैल्यै कुमाता भइनौ धरामा ||
पग्लेर आफैँ धरणी भिजायौ
फोरेर छाती ममता बगायौ ।
देखिन्छ छायाँ श्रमका कलामा
कैल्यै कुमाता भइनौ धरामा ||
बर्साउँदै शीतल दुग्धधारा
हुर्काउँदै छर्यौ मनका सितारा ।
फेर्दै छ छोरो तर रूप नाना
कैल्यै कुमाता भइनौ धरामा ॥
बोकेर माया तरुझैँ नुहुन्छ्यौ
वैशाखमा शीत बनी चुहुन्छ्यौ ।
आएन पापी रिस खै पलामा
कैल्यै कुमाता भइनौ धरामा ॥
गाएर लोरी ममता सिकायौ
खाएर पानी अमृतै बगायौ ।
डुल्दै छ छोरा किन कन्दरामा
कैल्यै कुमाता भइनौ धरामा ॥
के रक्त जम्दा अब अस्त्र बन्छ :
के मोह भर्दा भव ध्वस्त बन्छ ?
बल्दै छ आगो किन खोकिलामा
कैल्यै कुमाता भइनौ धरामा ॥
प्रकाशित २०६३ चैत्र अंक(शब्दाङ्कुर साहित्यप्रधान मासिक)