लक्ष्मणदेव पाण्डे

आजभोलि मुखिया बा अन्टसन्ट बोल्दै छन्
मुखमा जे आयोे, मनपरी बोल्दै छन्
गाउँलेहरु मुखामुख गर्दै छन्
मुखिया बाको चिन्ता गर्दै छन्

मुखिया बा सन्किरहेको देख्दा
जे मन लाग्यो त्यही गरेको देख्दा
अब मुखिया बालाई के गर्ने ?
अस्पताल लैजाने कि यहीँ ठिक पार्ने ?

आजभोलि गाउँलेका बैठकहरु चल्दै छन्
मुखिया बाको हालत देखेर पिर गर्दै छन्
मुखिया बाले मान्छे चिन्न छाडिसके
आफन्तको घेराभन्दा बाहिर हेर्न छाडिसके

पहिले त मुखिया बा सम्हालिन्छन् कि झैँ लाग्थ्यो
गाउँलेको दबाबमा कतै चुक्दैनन् झैँ लाग्थ्यो
आजभोलि गाउँलेका सुझाव पटक्कै सुन्दैनन् बा
असल, खराब छुट्याउन सक्दैनन् बा

अब हामी बालाई सुधार्न अन्तिम कोसिस गर्दै छौँ
सके सुधार्छौं नसके वैद्यकोमा पुर्याउछौं
दम्भ र छुद्रताले बा भित्र भित्र गलिसके
ठिङ्ग उभिएका छन् तर गाउँलेको नजरमा ढलिसके

मुखिया बा तपाईं बिरामी भए ‘नि गाउँ स्वस्थ हुनै पर्छ
परिवर्तनका नायक गाउँले अब एक जुट हुनै पर्छ
जति बिगार्नु, बिगार्यौ बा अब गल्ती गर्नै हुन्न
गणतन्त्र हामीले ल्यायौँ यसमा दाग लाग्नै दिन्नौँ ।

Facebook Comments Box

Similar Posts