धनवन्तरी मिश्र ‘कात्यायन’
(चाबहिल, काठमाडौँ)
हामी यायावरहरु विश्राम खोज्दै छौँ
एक ब्रह्माण्डको खोजीमा छौँ
जहाँ, हामीले हाम्रो भन्न सक्ने छौँ
भूगोलको गोलभित्र
गोलार्धको परिधिभित्र
आत्माको हृदयभित्र
क्षितिजमा धुन बजाउनेसँगै
गह्राहरुमा बाउसेहरुसँगै
खेतालाहरुलाई खाजा बोक्दै
पछ्यौरीले मुन्टो लुकाएकीसँगै
हामी अलि बेर झुम्न चाहन्छौँ
घनघोर वनका बुट्यानहरु
आकाशलाई ललकार्ने शिखरहरु
कोसी–टप्पुका रामसारहरु
राराका रङ्गीबिरङ्गी इन्द्रेणीहरु
हाम्रा स्वप्नहरु हुने छन्
मस्तकका धर्साहरुलाई चुनौती दिँदै
अज्ञात बस्तीहरुमा
नवीन रेखाहरु कोर्न भौँतारिएका हामीहरु
सुन्दरीजल, रूप्सेलगायत
पाखापखेरूका झरनाहरुमा स्नान गर्ने छौँ
ल्होमन्थाङका साङ्ग्रिलाहरुको
दिव्य सुवासयुक्त
हृदय तरङ्गित पार्ने
एकान्तमा सहवासको झङ्कार उत्पन्न गराउने
उन्मुक्तिको भावलहर सृजना गर्ने शृङ्खलाहरु
हाम्रा धड्कनहरु हुने छन्
सौराहाको मध्य झाडीमा
एकसिँगेसँग जिस्केर दगुर्दै
‘पाटे’को राता नयन ज्वालासँगै
प्रेमले
प्रेमिल हुँदै
पन्जा लडाउने छौँ
मान्माको अजङ्ग चट्टानी भिरमा
भिरमौरीको गोलासँगै/महको मधुमास
इलामको हाँसपोखरी सुनगाभाको स्वर्गमा रम्दै
सिँजामा मार्सी उमाल्ने छौँ
मोरङमा आँटा बेल्न
गढीमा सिस्नो उमाल्न
सुदूर पश्चिममा देउडा गाउन
स्व–मृत्तिकामा कुद्न–खेल्न
जाग्न–जगाउन
किरात समुदायसँग ढ्याङ्कु पुर्नेमा
सङ्गिनी नृत्यमा रमाउन
ज्यापुसँग धिमे बजाउन
फागुमा रङ्गीन बन्न …
हामी यायावरहरु
अलौकिक यात्रा गर्दै छौँ
स्वर्गभूमिमा विश्राम लिँदै छौँ


